Monday 14th of January 2019

राष्ट्रिय रेफ्री नबन्दै ‘फिफा रेफ्री’ नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१९ को लागि फिफा रेफ्रीको नियुक्तिमा चरम अनियमितता गरेको छ । योग्य उम्मेदवार हुँदाहुँदै एन्फाले फिफा सहायक रेफ्रीका लागि सशस्त्र प्रहरी बलका सहदेव श्रेष्ठलाई सिफारिस गरेको हो । राष्ट्रिय रेफ्रीको मान्यता नै नपाएका उम्मेदवारलाई फिफा रेफ्रीमा नियुक्त गरेसँगै यसैपनि विवादमा रहेको रेफ्री क्षेत्र अर्को विवादमा तानिएको छ ।

एन्फाले वर्षेनी नेपालबाट पुरुषतर्फ ४ रेफ्री र ६ सहायक रेफ्री तथा महिलातर्फ १ रेफ्री र १ सहायक रेफ्रीको नाम सिफारिस गर्ने गरेको छ । फिफा रेफ्री बनेपछि अन्तर्रा्ष्ट्रिय रूपमा नेपालको तर्फबाट खेलमा सहभागिता जनाउन पनि अवसर पाउने हुन्छ । यसपटक एन्फाले रेफ्री नियुक्तिमा आश्चर्यजनक निर्णय गरेको छ । नाम सिफारिस गर्ने समयसम्म ए डिभिजन लिग नै नखेलाएका एपीएफका श्रेष्ठलाई एन्फाले फिफा रेफ्रीका लागि सिफारिस गर्यो ।

फिफा सहायक रेफ्रीका लागि दक्ष उम्मेदवार हुँदाहुँदै एन्फाले निकै कम अनुभव बोकेका र एक हिसाबले अयोग्य उम्मेदवारलाई फिफा रेफ्रीका लागि सिफारिस गरेको हो । फिफा सहायक रेफ्री प्रकाशनाथ श्रेष्ठले आफ्नो नाम फिर्ता लिन आग्रह गरेपछि फिफा सहायक रेफ्रीको स्थान रिक्त भएको थियो । सोहि स्थानमा पछिल्लो एक दशक देखि रेफ्री गरिरहेका अनुभवी र दक्ष विकल्पलाई बेवास्ता गर्दै एन्फाले एपीएफका श्रेष्ठलाई नियुक्त गरेको हो ।

पछिल्लो समय राजधानीमा सम्पन्न पल्सर सहिद स्मारक ए डिभिजन लिगमा रेफ्रीलाई लिएर थुप्रै विवाद भए । अधिकांश क्लबका प्रशिक्षकले रेफ्रीको स्तर ए डिभिजन लिगको लागि लायक नभएको नै प्रस्ट अभिव्यक्ति दिए । पहिलो खेलमा नै रेफ्री विवादका कारण लिगको सुरुवात खल्लो बन्यो ।

कुनैपनि खेललाई उचित ढंगले संचालन गर्न रेफ्रीको भूमिका महत्त्वपूर्ण हुन्छ । रेफ्रीको निर्णयमै आधार रहेर खेलाडीहरूको प्रदर्शन पनि मैदानमा देखिन्छ । यदि रेफ्रीको निर्णय सहि हुन सकेन भने त्यसले खेलाडीको प्रदर्शनमा पनि प्रत्यक्ष असर पर्छ । रेफ्रीले सहि निर्णय लिन नसक्दा खेलाडीको इच्छाशक्ति त गिर्छ नै, खेलको नतिजा पनि विपरित आउन सक्छ ।

नेपालमा हाल तीन स्तरका रेफ्रीहरूले घरेलु फुटबलमा खेल संचालन गर्ने गरेका छन् । एन्फाले वर्षेनी विभिन्न स्थानमा रेफ्री कोर्स गरेर त्यसमा उत्तीर्ण हुनेलाई ‘एन्फा रेफ्री’ बनाउने गरेको छ । एन्फा रेफ्री मध्यबाट उत्कृष्टलाई छनोट गरेर ‘राष्ट्रिय रेफ्री’ छनोट हुने गरेका छन् । र त्यस सुचिबाट खेलको प्रदर्शन, विगतका अनुभव, फिटनेस टेस्ट र लिखित परिक्षापश्चात् उत्कृष्ट रेफ्री छनोट गर्ने प्रावधान रहेको छ ।

हरेक वर्ष सेप्टेम्बर महिना आस(पासमा फिफाले सदस्य राष्ट्रहरूको लागि आयोजना गर्दै रेफ्री कोर्ष (फिफा एमए रेफ्री कोर्ष) नेपालमा हुने प्रचलन रहेको थियो । नेपालभरबाट उत्कृष्ट ३० रेफ्री सम्मिलित हुने यस कोर्षमा फिफा रेफ्रीसँगै उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय र एन्फा रेफ्री सहभागी गराउने प्रावधान छ ।

तर यस वर्ष भने उक्त कोर्ष समयमा हुन सकेन । एन्फाले सुरुमा तोकेको मिति सारेपछि अर्को उचित मिति तोक्न सम्भव नभएपछि यसपटक उक्त कोर्ष नै संचालन भएन । फिफा रेफ्री नियुक्त भएका श्रेष्ठले पछिल्लो वर्ष उत्कृष्ट ३० को सूचीमा नभएपछि एमए कोर्षमा सहभागिता जनाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्