Sunday 19th of May 2019

लगानी प्रवर्द्धनका लागि कानुनी र व्यवहारिक पक्षको सुधारका लागि सरकार तयार: प्रधानमन्त्री ओली

[mashshare]

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नीनिगत व्यवसायीक सुधारका लागि निजी क्षेत्रसँगै मिलेर अगाडि  बढ्न सरकार तयार रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ६८ औँ वार्षिक साधारणसभा कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यावसायिक वातावरण तयार गरी लगानी प्रवर्द्धनका लागि कानुनी र व्यवहारिक पक्षको सुधारका लागि सरकार तयार रहेको बताए। प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँगको छलफलबाटै कानुन निर्माण तथा संशोधन गर्न सकिने भन्दै त्यसका लागि व्यवसायिक संगठनहरुले पनि पहल गर्नुपर्ने बताए। “तपाईंहरुले जुन विषय उठाउनु भएको छ, त्यसमा रिभिजिट गर्न सकिन्छ,” ओलीले भने।

नेपालको सन्दर्भमा संघीयता नौलो विषय भएकाले यसको कार्यान्वयनको सुरुवाती चरणमा केही जटिलता देखिएको स्वीकार गरेका छन्। “कसको अधिकार कति, कसको स्रोतको स्वामित्व कति भन्ने विषयमा केही कठिनाई देखिएका छन्,” प्रधानमन्त्री ओलीले भने, संघीय संरचना कार्यान्वयनको सुरुवाती समय भएकाले यस्ता जटिलता देखिएका हुन्।”

संसदमा आइतबार आफूले गरेको सम्बोधनका क्रममा प्रस्तुत तथ्यांकबारे प्रश्न उठेपछि त्यसको बचाउ गर्दै ओलीले त्यसमा असहमती जनाउने आधार नै नभएको दावी गरे। “कतैकतै असहमती सुनिएको छ, त्यस्ता असहमती राख्ने कुनै आधार छैन,” उनले भने। अबको तीन वर्षमा नेपाललाई अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नती गर्ने र सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य हासिल गर्ने गरी चौतर्फी विकास नेपाललाई चाहिएको पनि ओलीले उल्लेख गरे।

अर्को प्रसंगमा ओलीले जमिनको स्वामित्व जनतामा भएर मात्रै पनि विकास नहुने दृष्टान्त नेपालमै रहेको पनि उल्लेख गरे। “चीनमा जमिनको स्वामित्व सरकारसँग छ, नेपालमा जनतासँग पनि जमिनको स्वामित्व छ, अमेरिकामा अर्कै व्यवस्था छ,” उनले भने, “जमिन जनताको नाममा भएर पनि हाम्रोमा विकास भएन, चीनमा थामिनसक्नु विकास भएको छ।”

प्रधानमन्त्री ओलीले व्यवसायीलाई स्वस्थरुपमा कर तिर्ने वातावरण सरकारले बनाउने उनले बताए। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सशक्तिकरणबाट मात्रै आर्थिक समृद्धि हासिल हुने भन्दै सरकारले निजी क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्ने उल्लेख गरे। संघीय संरचनामा बहु कर प्रणाली कार्यान्वयन हुँदा त्यसले व्यावसायिक वातावरण कमजोर बनाउने भन्दै उनले त्यस्ता विषयको समाधान हुनुपर्ने उल्लेख गरे।

श्रेष्ठले सरकारले कर संकलन बढाउँदै लगे पनि खर्च गर्न नसक्दा ढुकुटीमा पैसा थुप्रिएको तर बैंक तथा वित्तीय संस्थाहरु भने लगानी गर्ने रकमको अभाव झेलिरहेको उनले बताए। उनले बजार अनुगमन, मदिरा निर्देशिका, बोनस ऐन संशोधनलगायतका विषयले व्यवसायीलाई थप अफ्ठ्यारोमा पार्ने उल्लेख गरे।

मिस नेपाल सम्मानित

चेम्बरले साधारणसभा र चेम्बर डेको अवसरमा मिस नेपाल श्रृङ्खला खतिवडा, फर्स्ट रनरअप मनिता देवकोटा, बडी बिल्डर महेश्वर महर्जन तथा होटल व्यवसायी विप्लव पौडेललाई सम्मान गरेको छ।

यसैगरी एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल, व्यवसायी चिरञ्जीलाल अग्रवाल तथा चेम्बरका पूर्व अध्यक्षद्वय सुरेन्द्रवीर मालाकार र महेशकुमार अग्रवाल पनि सम्मानित भएका छन्।

व्यवसायीदेखि मिस नेपालसम्मलाई सम्मान गर्न भ्याएको चेम्बरलाई प्रधानमन्त्री ओलीले सम्पूर्ण क्षेत्र नै आफ्नो हातमा लिन सक्ने संस्था भन्दै मन्तव्यका क्रममा हँसाए। “बडी बिल्डर, ब्युटी क्विन, सरकार र विजनेस म्यानसम्मलाई हातमा लिन सक्ने तपाईंहरु शक्तिशाली हुनुहुन्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्