Wednesday 26th of February 2020

चार नागरिकता प्रयोग गरी ४० लाख ठगी

काठमाडौं । फरक–फरक नाममा चारवटा नागरिकता बनाएर व्यापारी ठगी गरेको अभियोगमा कैलाली धनगढी–३ का वासुदेव मैनाली पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनले रामचन्द्र शर्मा, शिवराम पौडेल, वासुदेव मैनाली र नाम उल्लेख नभएको अर्को नागरिकता बनाई काठमाडौंका व्यापारी ठग्दै आएका थिए ।त्यसमध्ये शिवराम पौडेलको नाममा बनाएको नागरिकता प्रयोग गरी गरिमा विकास बैंकमा बैंक खातासमेत खोलेका थिए ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार मैनालीले आफ्ना नागरिकता प्रयोग गरी सातजनासँग ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको उजुरी परेको छ ।

प्रहरीका अनुसार वासुदेव मैनाली नामको नागरिकता जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी भएको छ । रामचन्द्र शर्मा पौडेल नामको नागरिकता जिल्ला प्रशासन कार्यालय खोटाङबाट जारी भएको छ । शिवराम पौडेल नामको नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रे र नाम नभएको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्