Saturday 23rd of March 2019

आउँदो वर्ष साक्षर नेपाल वर्ष : सबैलाई साक्षर बनाइने !

काठमाडौं । अर्को वर्षबाट संचालनमा आउने साक्षरता नेपाल अभियानमा भर्ना हुने निरक्षरको उमेर समुह परिवर्तन हुने भएको छ । १५ देखि ६० वर्ष उमेर समुहलाई साक्षरता कक्षा संचालन गर्दै आएको सरकारले आगामी वर्ष १५ वर्ष भन्दा माथी उमेर समुहका सबै नागरिकलाई साक्षर बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आउदो बर्षलाई साक्षर नेपाल वर्ष घोषणा गरेको छ । शिक्षा, मानव श्रोत विकास केन्द्रले १५–६० उमेर समूहका निरक्षरलाई साक्षरता कक्षा संचालन गर्ने अवधारणा तयार पारेको थियो । तर मन्त्रिपरिषद्को बैठकले १५ देखि माथि उमेर समूहका सबैलाई साक्षरता कक्षा संचालन गर्ने अवधारणा स्वीकृत गरेको छ । केन्द्रका निर्देशक गेहनाथ गौतमले अवधारणापत्रमा १५ वर्ष भन्दा माथी सबै निरक्षरलाई साक्षर बनाउने कार्ययोजना रहेको बताए ।

उहाले भन्नुभयो–अवधारणापत्र तयार गर्दा माथिल्लो उमेर ६० वर्ष तोकिएको थियो तर निर्णय हुँदा १५ भन्दा माथी सबै उमेर समूहलाई साक्षरता कक्षामा समावेश गराउने निर्णय गरिएको छ ।

आउदो वर्ष साक्षरता कक्षा संचालन गरेपछि सबै निरक्षर साक्षर हुने गरी कार्यान्वयन गर्ने योजना मन्त्रालयले तयार पारेको छ । अवधारणापत्रमा पुस मसान्तसम्म सबै स्थानीय तहले निरक्षरको तथ्याङ संकलन गरी एकिन गर्ने र भर्ना तथा पूर्व तयारी गर्ने उल्लेख गरिएको छ ।

यस्तै आगामी माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पहाड र तराईका जिल्लामा कक्षा संचालनका लागि सार्वजनिक अपिल गरी कक्षा संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

हिमाली जिल्लामा स्थानीय तहको संयोजनामा फागुनमा कक्षा संचालन गर्ने र आउँदो भदौमा ४० औं शिक्षा तथा साक्षरता दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम रहेको अवधारणापत्रमा उल्लेख गरिएको छ ।

पछिल्लो तथ्याङकअनुसार करिब साढे २ लाख जनसंख्या अझै निरक्षर रहेको दावी गरिएको छ । अब १५ वर्ष माथी उमेर समुहका सबैलाई साक्षर कक्षामा अनिवार्य रुपमा सहभागीगराउने उल्लेख भएपछि यो संख्या बढ्नसक्ने अनुमान केन्द्रले गरेको छ ।

यसअघि सरकारले विसं २०६५ र २०६९ सालमा दुईपटक गरी लगातार ६ वर्षको राष्ट्रिय साक्षरता अभियान संचालन गरेको थियो । विसं २०६७ मा प्रत्येक निरक्षरको स्थलगत घरधुरी सर्वेक्षण गरी नाम सङ्कलन गरेको थियो । विसं २०७५ असार सम्ममा मुलुकका ७७ मध्ये ४७ जिल्ला साक्षर घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्