Friday 6th of December 2019

छाउगोठमा तीनको मृत्यु

बाजुरा । बुढीनन्दा नगरपालिकामा छाउगोठमा आगलागी हँुदा एक महिलासहित उनका दुई छोराको मृत्यु भएको छ । बुढीनन्दा–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा मंगलबार राति आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहोरा र उनका दुई छोरा ९ वर्षका सुरेश तथा ७ वर्षका रमितको मृत्यु भएको हो ।

बोहोरा मंगलबार बेलुका खाना खाएर घरसँगै जोडिएको टिनले छाएको साँघुरो छाउगोठमा सुतेकी थिइन् । उनीसँगै सुत्न दुई छोराहरू पनि गएका थिए । राति न्यानोका लागि छाउगोठमा बालिएको आगोका कारण उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ‘हिमपात भइरहेकाले माटोले पोतिएको साँघुरो छाउगोठमा तातोका लागि आगो बालिएको रहेछ’, स्थानीयले भने, ‘आगोको धुवा बाहिर जान नपाएपछि उनीहरूको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’

घटना राति नै भएको भए पनि बुधबार बिहान मात्रै सबैले थाहा पाएका थिए । अम्बाकी सासुले बिहान बुहारीलाई चियाखान बोलाउन जाँदा घटना थाहा भएको हो । गाउँमा हिउँ परेको र जाडो निकै रहेकाले छाउगोठमा बसेकी अम्बाले आगो बालेकी थिइन् । साँघुरो छाउगोठ त्यसमाथि धुवाँ निस्कने प्वाल नभएकाले उनीहरू निस्सासिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

अम्बाको घरमा उनीसहित दुई छोरा तथा सासु–ससुरा थिए । उनका श्रीमान भने गएको मंसिरमा रोजगारीका लागि भारत गएका थिए । पश्चिमका जिल्लाहरूमा छाउपडी प्रथा अझै हराउन सकेको छैन । वार्षिक रूपमा कयौँ महिलाको ज्यान जाने गरेको सो प्रथाका विरुद्ध राज्यसहित विभिन्न संघसस्थाले अभियान चलाए पनि त्यो निर्मूल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्