Sunday 13th of January 2019

रामबहादुर बम्जनको सिन्धुली आश्रममा छापा, दुईजना प्रहरी नियन्त्रणमा

सिन्धुली । तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलत्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा छानबिन पश्चात प्रहरी टोली यहाँ आइपुगेको हो ।
प्रहरी नायब उपरीक्षक विमल कँडेलको नेतृत्वमा आइपुगेको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीको सहायतामा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको हो।

कमलामाई नगरपालिका–८ को पैरेमा करिब ४२ बिगाहा जमीनमा बम्जनको आश्रम छ। २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको हो। विस्तृत विवरण सोधपुछपछि थाहा हुने उनको भनाइ छ।

बोधीधर्म श्रवण संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार प्रहरीले केही सोधपुछका लागि भनेर लगेको छ। प्रहरीले सिन्धुली आश्रममा छानबिन सुरु गरेसँगै त्यहाँ रहेका आनी तथा मेमेहरुमा (महिलालाई आनी तथा पुरुषहरुलाई मेमे भनिन्छ) कौतुहलता छाएको छ।

बोधीधर्म श्रवण संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङ्गका अनुसार तपस्वी बम्जन सिन्धुली आश्रममा नै रहेको र ठुलो क्षेत्र भएकाले कता बस्छन् भनेर आफूलाई समेत जानकारी नहुने बताए। उनले छानबिनमा आफूहरुले सघाउने समेत बताए। ठुलै शक्ति लागेर गुरुको बद्नाम गर्ने प्रपञ्च रचिएको र सबै कुरा समयले बाहिर ल्याउने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्