Thursday 27th of June 2019

साढे १२ करोड विगोका फरार अभियुक्त र नक्कली डिएसपीसहित लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले साढे १२ करोड विगो र दुई वर्ष कैद फैसला भएका एक अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुर जिल्ला अदालतले २०७४ मंसिर १४ गते गरेको फैसला अनुसार विगत १३ महिनादेखि फरार रहेका भक्तपुर ठिमी नगरपालिका–१७ कौशलटार घर भई हाल काठमाडौं बालुवाटार बस्ने वर्ष ५२ का योगेन्द्रमणी दाहाललाई महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

ललितपुर उपमहानगरपालिका–३ स्थित बिटुमिन तथा व्यारेल उद्योग लिमिटेडका सञ्चालक कुमार श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दाहाल भएको मुद्दामा ललितपुर जिल्ला अदालतले १२ करोड ३५ लाख ९६ हजार पाँच सय चार रुपैयाँ विगो बमोजिम जरिवाना र दुई वर्ष कैद फैसला गरेको थियो । तर, दाहाल सोही बेलादेखि नै बेपत्ता थिए । आज महाशाखाको विशेष टोलीले बालुबाटारबाट पक्राउ गरी जिल्ला अदालत ललितपुरमा पठाउने तयारी गरिरहेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताम सिंहले बताए ।

यसैबीच विगत १४ दिनदेखि कमलादीस्थित तिरुपति होटलको रुम नम्बर २०३ मा आफूलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भनि परिचय पत्र समेत देखाई धाक रबाफ देखाई अपराधिक गतिविधि गर्दै आएका एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमासमेत म डिएसपी हुँ भन्दै धाक धम्की दिदै हिड्ने भक्तपुर बालकोट निवासी वर्ष ३५ को अनिल थापालाई २६ गते राती होटल तिरुपतिबाट पक्राउ गरेको हो । थापामाथि किर्ते मुद्दामा थप अनुसन्धान भईरहेको परिसरले जनाएको छ ।

त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंले ठूलो मात्रामा लागूऔषसध सहित एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बल्खुमा बसी लागूऔषधको कारोबार गर्ने मानिलाई कुरेर बसको अवस्थामा उनलाई पक्राउ गरेको हो । प्रहरीले Diazelab लेखिएको ईन्जेक्सन एम्पुल ८३५ थान, Noophin लेखिएको ईन्जेक्सन ८५४ थान र Phenergan लेखिएको ईन्जेक्सन एम्पुल ८८६ थानसहित जिल्ला बर्दिया साविक महमदपुर ९ घर भएका वर्ष ३२ को लालबहादुर रानालाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक हजार दरको नेपाली नोट थान ३० थान र भिभो लेखिएको मोवाइल १ थान बरामद गरेको छ । रानाले प्रतिबन्धित लागूऔषधहरु काठमाडौं उपत्यका बाहिरबाट खरिद गरेर ल्याइ उपत्यकामा हुने लागूऔषध दुव्र्यसनीहरुलाई विक्री वितरण गर्ने गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।