Thursday 27th of June 2019

पाउरोटीको मूल्य वृद्धिको विरोधमा प्रदर्शन हुँदा २२ जनाको मृत्यु

काठमाडौं । सुडानमा पाउरोटीको मूल्यमा वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ । मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाइएको छ ।

खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै गरिएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् ।

खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरू सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग गरिरहेका छन् । विद्यालयहरू बन्द छन् भने पत्रिकाहरूलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ । केहि घण्टासम्म इन्टरनेट पनि बन्द थियो । प्रदर्शनकारीहरूले सामाजिक संजालका वेबसाइटहरू मार्फत आन्दोलनका सहभागी हुन मानिसहरूलाई आह्वान गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्