Wednesday 19th of February 2020

तिरुपति होटलको कोठा नम्बर २०३ः युवती खेलाउने ‘डीएसपी’ पक्राउ

काठमाडाैं । ‘नेपाल प्रहरीको डीएसपी हूँ’ भन्दै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा शुक्रबार पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडाैं टोलीले ‘बहालवाल डीएसपी हूँ’ भन्दै दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई बिहीबार राति ११ बजे कमलादीमा रहेको तिरुपति होटलको २०३ नम्बरको कोठाबाट पक्राउ गरेको हो । होटलमा उनलाई धेरैजसो युवतीहरुले भेट गर्ने गरेका थिए । उनले कोठामा युवतीहरुको समूह बोलाएर यौनसम्बन्धी गतिविधि पनि गर्दै आएको खुलेको छ ।

बहालवाला डीएसपी हूँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाकोसमेत पैसा नतिर्दै आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी नायव उपरीक्षक बोगटीले उनलाई डिएसपी हूँ भन्दै कीर्ते गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्