Saturday 23rd of March 2019

नेपालद्वारा चीन १० विकेटले पराजित

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० प्रतियोगितमा नेपालले विजयी शुरुवात गरेको छ । शनिबार थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खेल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो । चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

चीनलाई ४८ रनमा समेट्ने क्रममा नेपालकी नेरी थापाले दुई र करुणा भण्डारीले तीन विकेट लिइन् । नेपालका लागि करुणाले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन् । नेरीले चार ओभरमा दुई ओभर मेडन राख्दै छ रन मात्र दिएर दुई विकेट लिइन् ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ । त्यस्तै सोमबार युएइ र बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय टोली शुक्रबार त्यसतर्फ गएको हो ।

प्रतिक्रिया दिनुहोस्