Monday 22nd of April 2019

दीपक मल्होत्रालाई जोगाउन गोपाल खड्काको बली

काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिदमा भएको डेढ अर्ब रुपैयाँ भन्दा बढी अनियमितताको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थन्क्याएको छ । र, जग्गा खरिदमा भएको घोटालामा संलग्न तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकूत सम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निगमले तेल भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्ने क्रममा प्रचलित मूल्यभन्दा १३ गुणासम्म बढीमा जग्गा खरिद गरिएको संसदीय समितिको गरेको छानबिनमा खुलेको थियो । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिदमा १ अर्ब २६ करोड भ्रष्टाचार भएको र त्यसमा संलग्न दोषीमाथि कारबाही गर्न अख्तियारलाई निर्देशन दिएको थियो । तर अख्तियारले जग्गा खरिदमा भएको घोटालाको फाइल थन्क्याएर गोपाल खड्काविरुद्ध अकूत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

आयल निगमले खरिद गरेको चार स्थानकै जग्गाका वास्तविक मालिक दीपक मल्होत्रा हुन् । उनको सरकारदेखि अख्तियारसम्म पहुँच भएकाले उनलाई जोगाउनका लागि गोपाल खड्कालाई अकूत सम्पत्तिमा मुद्दा चलाई जग्गा खरिदको पाटोलाई छाडिएको छ । अकूत सम्पत्तिका प्रायः मुद्दामा अख्तियारले दायर गरेको मुद्दामा अदालतले सफाइ दिंदैआएको छ । खड्कालाई अकूत सम्पत्तिमा मुद्दा दायर गर्दा उनले सफाइ पाउने र निगमको जग्गा खरिद प्रकरण पनि सेलाउने ठहरका साथ उनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

जग्गा खरिदमा मुद्दा दायर गरे मल्होत्रा तानिने र उनी तानिए नेताहरुको समेत पोल खुल्ने भएपछि ३३ किलो सुन प्रकरण जस्तै निगमको जग्गा खरिद प्रकरण पनि रहस्यको गर्भमै रहिरहने भएको छ । मल्होत्रालाई जोगाउन जग्गा खरिद अनियमितता प्रकरणमा गोपाल खड्कालाई बली दिइएको चर्चा निगमभित्र हुने गरेको छ ।

अख्तियारबाट जग्गा खरिदको पाटो नछोई खड्काविरुद्ध अकूतमा मुद्दा चलाउन सफल भएका मल्होत्राले निगममा नयाँ आउने कार्यकारी निर्देशकमा पनि आफंैले प्रोजेक्ट गरिएका सुरेन्द्र पौडेललाई ल्याएका छन् । अर्थमन्त्रालयबाट पर्याप्त बजेट दिलाउनेदेखि नाकाबन्दीताका निगमबाट गोपाल खड्कामार्फत् इन्धन उपलब्ध गराएर सिमेन्ट उत्पादनमा उल्लेखनीय प्रगति गरेको भनी मिडियामा पौडेलको वाहवाही गराउने काम पनि मल्होत्राकै डिजाइनमा भएको थियो । क्रान्तिकारी स्वभावका मन्त्री मातृका यादवलाई पौडेलको पक्षमा सकारात्मक बनाउन पनि मल्होत्राहरुले धेरै नै लगानी गरेको खुल्दै जान थालेको छ ।
-साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्