Friday 22nd of February 2019

द्वन्द्वको बेलामा हत्याहिंसाका कुराहरू लेख्नुपर्दा अत्न्तै दुःख लाग्थ्यो – दामोदर न्यौपाने

शस्त्र द्वन्द्वका बेला मुलुकको कुनाकाप्चा पुगेर सूचना संकलन गरेका पत्रकार हुन् दामोदर न्यौपाने । राज्य र विद्रोही पक्षले दिएको तनाबका बाबजुत कार्यक्षेत्रमा डटेर निरन्तर रिर्पोटिङ गरेका छन् उनले । पछिल्लो समय पत्रकारितासँगै प्रबन्ध लेखनमा परिचित परिचित छन् उनी । सिन्धुपाल्चोक ठोकर्पामा २०३८ वैशाख १३ गते जन्मिएका न्यौपाने डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । न्यौपाने साना र सामान्य ठानिएका विषनयलाई सरल र गहन तरिकाले उठाउछन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका न्यौपाने खासगरी द्वन्द्व, बालबालिका, शिक्षा, साँस्कृतिक र सामाजिक विषयवस्तुमा दख्खल राख्छन् । अन्तर्राष्ट्रि प्रेस इन्स्टिच्युटबाट साहसी संवाददाता सम्मान, पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, सामुदायिक वन राष्ट्रिय मुल समारोह समितिबाट राष्ट्रिय सम्मान, गोल्डेन पिक सम्मान, केएमसी सम्मान लगायत प्रतिष्ठित दर्जनौं पुरस्कार पाएका छन् । उनका ‘एम्बुसमा ६ वर्ष, ‘कर्म ः सिकाइमा गहिरिएको खाडल’, ‘स्वर्णिम समय’ र चित्रकथा ‘ट्यालेन्ट शो’ प्रकाशित भएका छन् । सशस्त्र युद्धकालमा पत्रकारिता गर्दाको अनुभव, किताव लेखन र पत्रकारिताको अवस्थाबारे रमेश दवाडीले तयार पारेको आलेख ः

राजनीति छाडेर पत्रकारिता

पत्रकारिताको औपचारिक अध्ययन गरेको थिइनँ । तालिम लिएको थिइनँ । अनुभव पनि थिएन पत्रकारिताको । तै पनि मुलुकको अग्रणी संस्था कान्तिपुरका लागि छानिएँ । त्यतिबेला बीए तेस्रो वर्षको परीक्षा सकेर बसेको थिएँ । जागिर खोज्ने पिरलो सुरु भइसकेको थियो, भन्नेबित्तिकै जागिर कहाँ पाउनु ? बेरोजगारीले धानेको मुलुकको समस्या यस्तै हो । त्यही बेला सहपाठी किरण पोख्रेलले कान्तिपुरमा संवाददाता मागेको सुनाए । बीए तेस्रो वर्षमा  पत्रकारिता कार्यमूलक पत्रको इन्टर्नलका क्रममा हिमालय टाइम्समा डेढ महिना काम गरेको थिएँ । त्यसले पत्रकारितामा रुचि बढाएको थियो । कान्तिपुर जस्तो ठूलो मिडियामा इन्टर्नका लागि जानसमेत आँट गरिएको थिएन । छनोट त के भइएला ? तैपनि सोचें, निवेदन दिइहेरौं ।

त्यतिबेला नेपाली टाइप आउँदैनथ्यो । निवेदन हातैले लेखें  र दाइलाई टाइप गर्न दिएँ । काम गर्ने तीव्र इच्छा निवेदनमा दर्शाएँ । किरणले पनि निवेदन दिए । व्यहोरा उही थियो । निवेदक मेरो नाम भएको ठाउमा उनले टिपेक्स लगाए । हातैले उनले आफ्नो नाम लेखे । झण्डै ७ दिनमा कान्तिपुरबाट फोन आयो । लिखित परीक्षामा बोलाइयो । किरणचाहीं छनोटमा परेनन् । मैले विज्ञापन समेत हेरेको थिइनँ । उनैले थाहा दिएका थिए । तर म छानिएँ । समय थोरै थियो । तयारी कसरी गर्ने ? नेपालमा पत्रकारिताको विकासक्रम, प्रेस कानून, पत्रकारिता आचारसंहिताबारे केही अध्ययन गरेँ । परीक्षा सुरु भयो । ४-५ वटा प्रश्न थिए । परीक्षा सकिएपछि नतिजा कुरेर बसें । के भइएला भन्ने कौतुहला भयो । मनमा अनेक कुरा खेल्न थाले । पास भएँ लिखितमा ।  मौखिकका लागि बोलाइयो  । मौखिकका लागि डरै लागेन, जति लिखितमा लागेको थियो । अन्तर्वार्ता दिन पालो आयो । एउटा कोठामा ५-६ जना बसेका थिए । कसैलाई चिनेको थिइनँ । प्रश्न सुरु भयो–

‘कुन बिटमा पत्रकारिता गर्न मन छ ?’

‘विद्यार्थी राजनीति गरेकाले राजनीतिमा इन्छा छ । ’

अर्कोले प्रश्न गरिहाले–

‘कस्तो राजनीति ? ’

सोझै उत्तर दिएँ, ‘विद्यार्थी राजनीति । विद्यार्थी संगठनको क्याम्पसमा अध्यक्ष भएँ । केन्द्रीय महाधिवेशन प्रतिनिधि भएँ । महाधिवेशनमा सक्रियतापूर्वक उपस्थिति जनाएँ । २०५६ सालको चुनावमा सक्रिय रूपमा खटेँ । प्रमाणपत्र तहसम्म सक्रिय राजनीति गरेँ । राजनीति छाड्न विस्तारै अभ्यास गर्दैछु । ३ वर्ष भयो कुनै संगठनमा काम गरेको छैन । अब राजनीति गर्न मन छैन । राजनीति छाड्छु । पत्रकारिता गर्न चाहन्छु  । ’

अर्कोले प्रश्न गरे–

‘बारीतिर कसैले तरकारी खेती गरेको समाचार बनाउन सकिन्छ ?’

‘सकिन्छ ।  सफलताका कथा लेख्न सकिन्छ । उसले गरेको कामले अरुलाई पनि त्यस्तै काम गर्ने प्रेरणा मिल्छ । काम गर्ने मान्छेलाई पनि मैले राम्रो काम गरेछु है भनेर हौसला मिल्छ ।’

अर्को प्रश्न आयो–

‘कहाँ बसेर काम गर्ने ?’

‘काठमाडौं बसेर गर्ने । मेरो बसोबास यही भएकाले सजिलो पर्छ । ’

फेरि उनैले भने, ‘तत्काललाई काठमाडौँ बाहिर पठाउन लागिएको हो । बाहिर जानुपर्छ ।’

‘काठमाडौँ नहुने भएपछि जहाँ गए पनि मलाई उस्तै हो । परिवार छाडेनै पर्छ । जहाँ गए पनि कोठा खोज्नैपर्छ । होटलमा खानै पर्छ ।’

अन्तर्वार्ता सकियो । छनोट भइसकेँ जस्तो लाग्यो प्रश्न सोधेको सुन्दै । लिखितमा ३ नम्बरमा नाम निस्केको थियो । मौखिक पनि पास गरेँ । मसहित २१ ज्ना छानियौँ २०५९ भदौ १२ मा । काम गर्ने मौका दिइयो । मौका हो ठूलो । म सफल हुनेछु, मौका सदुपयोग गर्न सके । नसके असफल । यही सोच्दै खटाएको ठाउँमा गरर जिम्मेवारी वहन गर्न आतुर थिएँ ।

लमजुङ बसेर पत्रकारिता

कान्तिपुरले मलाई लमजुङ पठायो । सशस्त्र युद्ध चर्किदै थियो । मलाई डर पनि लाग्यो सुरुमा । विस्तारै डर हट्दै गयो । पत्रकारिता भनेकै जोखिमपूर्ण पेसा हो । म यही ठानेर रिर्पोटिङमा जान्थेँ । पाइला–पाइलामा चुनौती थियो आम नागरिकलाई । हामीलाई नहुने कुरै भएन । फिल्डमा जानुपथ्र्यो । फिल्डमा नगए वास्तविक कुराहरू बाहिर आउँदैन । तर जानै समस्या थियो । हिड्न, बोल्न, बस्न, खान समस्या थियो । द्वन्द्वको बेलामा हत्याहिंसाका कुराहरू लेख्नुपर्दा अत्न्तै दुःख लाग्थ्यो । दुःख मानेर पनि नुहुने रहेछ । आँसु पुछेर रिर्पोटिङ गरेँ । तर पेसाका हिसावले जनतालाई सूचना दिनु आफ्नो काम हो । समाचार लेखिरहेँ । सशस्त्र युद्धका राम्रा नराम्रा प्रभाव छन समाजमा । ती अहिले पनि छन र भोलि पनि रहन्छन् । समाचारमा पीडित वर्गको आवाज नउठाइएको, ओझेल परेको जस्तो फिल मलाई काठमाडौं आएपछि भयो । डेक्समा बस्ता अनेक सोच्थें ।

कसरी जन्मिन्छ द्वन्द्व ?

द्वन्द्वमा पत्रकारिता गर्दा यसका पक्ष र विपक्ष हुन्छन् । द्वन्द्व वर्गीय हुन्छ । समाज वर्गीय छ । वर्गीय समाजमा नै द्वन्द्व हुन्छ । द्वन्द्वबाट समाधान निस्कन्छ । हामी द्वन्द्वदेखि डराउनु हुँदैन । समय र परिस्थिति अुनसार देशले द्वन्द्व खोज्छ । द्वन्द्वले नै युगान्तकारी परिवर्तनहरू ल्याउँछन् । हाम्रो देशामा दश वर्षे द्वन्द्व भयो । द्वन्द्व आवश्यक थियो कि थिएन ? त्यति हिंसात्मक हुनु हुन्थ्यो कि हुन्थ्ेन ? यो बहसको विषय हो । हामीले निकट भविष्यमा पनि हिजो द्वन्द्वका बाछिटाहरू, अवशेषहरू ति चैं उठ्ने सम्भावनाहरू प्रशस्त छन् । द्वन्द्व किन उठ्छ भने हामीले चाहेको जस्तो समाज, राज्य भएन भने द्वन्द्वमा फर्कन्छौं । जतिसुकै शान्तिका कुरा गरे पनि समय र परिस्थतिले हामीलाई द्वन्द्वमा धकेल्न सक्छ । भोलि त्यो दिन नआउला भन्न सकिन्न । एकथरी वर्ग जस्तैः नेत्रविक्रम चन्द विपल्वहरू द्वन्द्वमै गइसकेका छन् । ५२ सालमा सानो चौकी हान्ने, साना किसान आयोजनामा आक्रमण गर्दै गर्दा द्वन्द्व यहाँ पुग्ला भन्ने कसैलाई अन्दाज थिएन । समाजको स्टक्चर, राजनीतिमा अदूरदर्शी सोचका कारणले हिंसा मौलाएको हो । दश वर्षमा एउटा अवतरण पनि भयो । युगान्तकारी परिवर्तन भयो ।

पत्रकारिताले किताब जन्मायो

पेसाले म पत्रकार हुँ । पत्रकार नै भनेर चिनिन चाहन्छु । मैले चारवटा किता लेखिसकें । प्रकाशित हुन अझ बाँकी छन् । कितावका पाठकले लेखक भनेर चिन्छन् । पत्रिकाका पाठकले पत्रकार भनेर चिन्छन् । दोहोरो परिचय भएको छ । पत्रकारितासँगै किताव लेख्ने काम पनि द्रुत गतिमा अघि बढेको छ । मेरो जम्मा दुईवटा काम हो । एउटा, अखबारी लेखन र अर्को पुस्तक लेखन । पत्रकारितामा सक्रिय हुन्जेल म किताव लेख्छु । मसँग भएका सूचना, अनुभव र कामका परिणाम समेट्न पर्छ भनेर मैले किताब निकालेको हो । पत्रकारिता गरेको १० वर्ष पछाडि मैले किताव लेखेँ । द्वन्द्वको डकुमेन्ट थियो । छाप्न गाह्रो भएन । प्रकाशक मलाई खोज्दै आए । मैले किताव छाप्न नपाएर दराजमा थन्क्याउनु परेन । द्वन्द्वको  दस्तावेजको रूपमा एम्बुसमा ६ वर्ष किताब हो ।

द्वन्द्वको विषय मैले मात्रै होइन अरूले पनि उठाउनु पथ्र्यो । तर उठाइएन । यसमा हामी चुकेका हौं । किनकी हाम्रो लेखन संस्कृति छैन । दस्तावेजीकरण गर्ने हाम्रो कल्चर नै छैन । मेरो एम्बुसमा ६ वर्ष एउटा युग हो । यो कालमा लेखिएका कितावहरू अझैं आउलान । आउनै पर्छ । जोसँग अनुभव छ, सूचना छ त्यसलाई लिपिबद्ध गरिएन भने हराउँछ । मेरो सानो अनुभव हो । म त घटनामा परेको पनि होइन् । ठूल्ठूला घटनामा परेकाहरू, रिपोर्टिङ गर्दा बन्दी बनाइएका पत्रकाहरू पनि छन् । उहाँहरूका अनुभूतिहरू, सूचनाहरू, आउनुपथ्र्यो । आएको छैन् ।

एम्बुसमा ६ वर्ष तथ्यहीन छैन

यो किताब सत प्रतिशत तथ्यमा आधारित हो । यसका एकएक च्याप्टरका कुरा गर्न सक्छु । कुनै कुनैमा संख्याको कुरामा मिस्टेक हुनु अर्को कुरा । जस्तैः मन्जिमा ढकालको दुई वहिनी हुनुपर्नैमा तीन बहिनी भएको छ । यो चैं टाइप मिस्टेक हो । अर्को सुमन अधिकारीकी जेठी बहिनी हुनुपर्नेमा कान्छी बहिनी भएको छ । नाम केही तलमाथि भएको छ  । यस्ता मिस्टेकलाई अर्को संस्करणमा सच्याइएको छ । यस्ता आरोप आफू नगर्ने, अरूले गरेको देख्न नसक्ने वर्गबाट आएका छन् । नामै तोकेरभन्दा गोरखाका १-२ जना पत्रकार हुन् । जो चैं द्वन्द्वको बेलामासँगै रिर्पोटिङबाट फर्केर आएपछि मैले लेख्थें, उनीहरू लेख्दैनथे । अनि अरूले सोध्थे–किन नलेखेको भन्दा ‘त्यो हुँदै होइन, हावा हो’ भन्थे । आफू लेख्न नसक्ने अनि आफू बच्न अरूलाई मिथ्या आरोप लगाउने ? यो कुरा किताबमै लेखेको छु । उनीहरू कहाँसम्म गर्थे भने ‘यो तथ्यहीन कुरा हो’ भनेर सुरक्षा निकायलाई उचाल्न जान्थे । यसको पीडा मैले भोगेँ  । साथीहरूले सायक सिडियोेलाई ‘यस्तो लेख्दा पनि तपाईंहरू चुप लागेर बस्ने ? फलानो भए त सिध्याई सक्थे’ भनेर उचाल्न गएका उदाहरणहरू छन् । तीनै साथीहरू हुन्– जसले मेरो कितावलाई तथ्यहीनको आरोप लगाएका । गोरखामा बसेर उहाँहरूले यत्तिको किताव लेख्न सक्नुभएन । म बाहिरबाट गएको मान्छेले त्यत्रो दस्तावेजहरू लेखें । त्यसबेला निरन्तर लेख्ने वर्गहरू पनि थिए । किनकी हरेक कुरा वर्गीय हुन्छ । यसलाई वर्गीय कोणबाट हेर्नुपर्छ । एकथरी वर्गका कुराहरू उठाउँदा अर्का वर्गलाई चित्त नबुझ्न सक्छ । किताव तथ्यहीन छन् भनेर सीमित मान्छेहरूबाट आएका हुन् । तीनिहरूलाई म राम्रोसँग चिन्छु ।  त्यहाँ कतिपय सुरक्षाकर्मीले पालेका ‘टस्टु’ हरू छन् । उनीहरूका दायाँ–बाँया हिड्ने अनि प्रहरीकै भान्छासम्म गएर खाने, प्रहरीलाई युज गर्ने, मिस युज गर्ने, मान्छेहरू छन् । त्यो बेला रियल पत्रकारिता गर्नेहरू थिएनन् । अहिले तिनीहरू रोडा व्यापार गर्छन्, गाडीे  हालेर सडकमा सिण्डिकेट गर्छन् । यी पत्रकारका नाममा कलंकहरू हुन् । यिनीहरूलाई नाङ्गेझार पार्नुपर्छ भनेर मैले चुनौती खेपें । पत्रकारितामा नयाँ पुस्ता आयो, तिनीहरू आफैं सेलाउँदै गए । कितावको कसैले प्रमाण खोज्न आएमा म सँग एक–एकको प्रमाण छन्  । मैले फाइलिङ गरेको छु  ।

किताब निकाल्नुको कारण

पत्रकारितामा टिक्नलाई किताब निकालेको हुँ । पत्रकारितामा चरम फ्रस्टेशन छ । त्यसमा पनि ंव्यवसायिक पत्रकारहरूमा फ्रस्टेशन छ । रिर्पोटिङ गरेर मात्रै सन्तुष्टि छैन । यसका २-३ कारण छन् । एउटा पत्रकारिताले पनि बहस चलाउँछ । किताबले पनि बहस चलाउँछ । पत्रकारिताको बहस क्षणिक हुन्छ । किताबको बहस लामो समय हुन्छ । किताब लेखेपछि आम्दानी पनि हुन्छ । पत्रकारिताबाट पुगेन भने कितावको आम्दानीले फुर्ती आउँछ । पत्रकारले सजिलै गर्न सक्ने साइड विजनेस किताव लेखन हो ।

मेरा किताब यथार्थमा आधारित

विषयवस्तुको गहिराइमा छ कि छैन् भनेर पहिला किताब पढ्नुपर्छ । जतिसुकै छिटो लेखेपनि मुख्य प्रश्न नै विषयको गहिराइमा पुगिन्छ कि पुगिदैन भन्ने हो । विषयको गहिराइमा पुग्न सकिन्छ भने एक–एक महिनामा किताव लेख्दा पनि हुन्छ ।  म प्रस्ट भन्छु– मेरा किताव विषयका गहिराइमा पुगेको छ कि छैन ? त्यो हेर्न आग्रह गर्छु । छिटो–छिटो किताब ल्याए पनि मेरो लामो समयको अनुभव हो । एम्बुसमा ६ वर्ष मेरो १० वर्षपछि लेखें । मेरो गतवर्ष कर्म आयो । कर्मको अनुसन्धान मात्रै दुई वर्षको हो । यसको बुझाइ त लामो छ  । मेरो विषय भनेको आवाज विहिनहरूको आजाव हो ।  कर्ममा बालबालिकाको विषय उठाएको छु । यसमा सामाजिक, राजनीतिक, आर्थिक, विभिन्न कारणले चैं पछि परेकाका छन् । हाम्रा शिक्षामा विभेद छ । खाडल छ ।  ती कुराहरूलाई मैले विश्लेषण गरेको छु ।  अर्को, स्वर्णिम समयमा चर्चित मान्छेका बालापनको सम्झनाहरू लेखेको हुँ । लामो समय अनुसन्धान गरेर लेखेको हुँ ।  अर्को ‘ट्यालेन्ट शो’मा शिक्षकले विद्यार्थीलाई जान्ने र नजान्नेको बिचमा विभेद गर्दाखेरी उसमा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने कुरा विश्लेषण गरिएको छ ।

पत्रकारिताको वर्तमान अवस्था

जुनसुकै पेसा मर्यादित हुनलाई समृद्धि चाहिन्छ । पेसा समृद्ध हुन देश समृद्ध हुनुपर्छ ।  पत्रकारिता र समृद्धि जोडिएको छ । विज्ञापन भयो भने सञ्चार माध्यम बलियो हुने हो । विज्ञापन आउनलाई आर्थिक विकास हुनुपर्छ । अहिले आर्थिक विकास नभएको र सञ्चार माध्यम भने तीव्र रूपमा बढेको अवस्था छ । त्यही भएर कतिपय सञ्चार माध्यमहरू टिक्न धौधौ परेको छ । आफ्ना स्टाफलाई तलब दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा नामको लागि संघर्ष गर्छु, कामको लागि संघर्ष गर्छु, पेसाको लागि संघर्ष गर्छु, भनेर प्रतिबद्ध भएर आउने मान्छेहरूको जमात एकदम कम छ । अनि उनीहरू संघर्ष गर्दैनन् । फिल्डमा हिडेदैनन् । फिल्डमा हिड्न दुःख छ । दुःख गरे वातको खर्च सञ्चार माध्यमहरूले राम्रोसँग दिन सक्छन् कि सक्दैनन् त्यो चुनौती हो । सीमित सञ्चार माध्यममा मात्रै होला कि रिपोर्टरलाई राम्रो तलब दिने । तलब दिन नसक्दा सधैं नामको लागि मात्रै पनि पत्रकारिता गर्ने कुरा हुँदैन् । त्यसपछि पत्रकारहरू दायाँ–बाँया गर्न थालिहाल्छन् । धम्की दिन थाल्ने,े, पैसा लिएर समाचार लेख्ने जस्ता नाजायज फाइदाहरू लिने गरेको देखिन्छ । नयाँ पुस्तामा पनि यो देखिएको छ । यसले पत्रकारितामा चुनौती छ । प्रतिबद्ध मान्छेहरू बजारमा कमी छन् । पत्रकारितालाई मर्यादित पेसा बनाउँछु, दत्तचित्त भएर लेख्छु, पत्रकारिता भनेको सेवा हो म सेवा गर्न तत्पर छु भनेर आउनेहरू कम छन् ।

पत्रकारिता कमाउने पेसा होइन

दशवर्ष पछिको अवस्था अर्कै हुन्छ । त्यतिखेर हामी आर्थिक विकासमा फड्को माछौं । तर अहिलेको अवस्थामा कमाउछु भनेर मिडियामा नलाग्ला हुन्छ । यदि कमाउनलाई व्यापार गर्दा हुन्छ । पत्रकारितामा देशको सेवा गर्छु भनेर आउनुहोस् । आवाज विहीनहरूको आवाज उठाउँछु भनेर, बदमासी गर्नेहरूलाई म न्यायको कठघरामा ल्याउँछु, राम्रो काम गर्नेलाई म पुरस्कार दिन्छु, गलत काम गर्नेलाई म कलमको माध्यमबाट दण्ड दिन्छु भन्ने मान्यता राखेर आउनुहोस् । कमाउछु भनेर पत्रकारितामा छिर्दा पेसाको वदनाम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्