Thursday 12th of December 2019

दुर्लभ मानिएको काली नाग राज म्याग्दीमा भेटियो

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोसेपानीको जङ्गलमा दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग भेटिएको छ ।

विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले माघ १ गते कोसेपानीको जङ्गलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पारेका हुन् ।

किङ्ग कोब्रालाई नेपालीमा काली नाग राज भनेर चिनिन्छ । नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको प्राणी भएको उनले बताए ।

अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको चोखालले बताए । सो सर्पलाई नचलाउने, नजिस्काउने र नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ रहेको छ ।

भेटिएको सो नाग किङ्ग कोब्रा अर्थात् राज नाग नै भएको किङ्ग कोब्राका विशेषज्ञ एवं हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गरेका छन् । उनका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।

विशेषज्ञ थापाका अनुसार यसले आहाराको रुपमा अरु सर्पलाई नै खाने गर्दछ । कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको उनले जानकारी दिए । नेपालको कानूनले संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्