Friday 21st of February 2020

‘भागेर अष्ट्रेलिया पुगेकी’ लक्की शेर्पामाथि आपत आइलाग्यो

काठमाडाैं । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजीनामा दिन दिएको निर्देशन अटेर गर्दै भगौडा शैलीमा अष्ट्रेलिया पुगेकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई त्यहाँको सरकारले पक्राउ गर्न सक्ने खतरा छ ।

राजदूत शेर्पामाथि अष्ट्रेलिया प्रहरीमा उनकै पूर्वचालक वाङछु शेर्पाले दिएको मानव तस्करीको मुद्धा विचाराधीन छ । यस्तो अवस्थामा उनलाई सोही मुद्धामा पक्राउ गरेर कारबाही अगाडि बढाएको खण्डमा मुलुककै अन्तर्राष्ट्रिय छविमा आँच आउन सक्छ । त्यहाँको स्थानीय कानूनले व्यक्तिको स्वतन्त्रता हननलाई गम्भीर अपराधका रुपमा लिन्छ । लक्कीका चालक शेर्पालाई दूतावासका सामान चोरीको अभियोगमा पक्राउ गरिएको थियो । तर, प्रहरी अनुसन्धानले उनी चोरीमा संलग्न नभई बरु पीडित रहेको निस्कर्ष निकालेपछि उल्टै त्यहाँको सरकारले प्रोटेक्सन भिसा दिएर राखेको छ ।

नेपाल प्रहरीले उनको नाम इन्टरपोलमा राखेर डिपोटका लागि पठाउँदासमेत उल्टै उनले अष्ट्रेलिया सरकारको सहयोग र संरक्षण पाइरहेका छन् । यस्तो पृष्ठभूमिमा सरकारले लक्कीलाई पीडकका रुपमा व्यवहार गर्न सक्ने खतरा छ । कुटनीतिक क्षेत्रका जानकारहरुका अनुसार लक्कीमाथि अर्को खतरा हो, गैरकुनीतिक व्यवहार । यदि उनलाई पक्राउ गरिएन भने पनि उनको कुटनीतिक पासपोर्टमा गैरकुटनीतिज्ञको छाप लगाइदिन सक्छ । कुटनीतिक भाषामा त्यसलाई पर्सनानन् ग्राटा अर्थात अयोग्य कूटनीतिज्ञको व्यवहार भनिन्छ ।

तेश्रो खतरा स्वदेश फर्कने क्रममा एयरपोर्टमै लक्कीलाई व्यक्तिगत रुपमा बेइज्जत गर्न सक्ने छ । गत वर्ष अमेरिकाले न्यूयोर्कस्थित भारतीय कूटनीतिज्ञ देवयानी खोप्रगोर्डमाथि सोही व्यवहार गरिएको थियो । देवयानी र लक्कीमाथि लागेको आरोप करिब उस्तै प्रकृतिको छ । देवयानीमाथि पनि घरेलु कामदारमाथि दुव्र्यवहार र यातना दिएको तथा पारिश्रमिक नदिएको आरोप लागेको थियो । सोही आरोपमा उनलाई अमेरिकाले देश निकाला गरेको थियो । भारत फर्कने क्रममा देवयानीलाई विमानस्थलका सुरक्षाकर्मीले सुरक्षा जाँचका क्रममा सर्वाङ्ग नाङ्गो पारेर बेइज्जत गरेका थिए ।

भियना कन्भेन्सन अनुसार कूटनीतिज्ञको आचरण र नैतिकताअनुसारको व्यवहार नगर्नेमाथि त्यस्तै व्यवहार गर्ने गरिन्छ । पक्राउ गर्नु, गैरकूटनीतिज्ञको व्यवहार गर्नु तथा व्यक्तिगत रुपमा बेइज्जत जे गरे पनि मुलुककै प्रतिष्ठामा आँच आउँछ । यसैबीच सरकारले राजीनामा गर्न दिएको निर्देशन पालना नगर्ने लक्कीलाई राजदूतबाट बर्खास्त गर्ने तयारी अघि बढाएको परराष्ट्र उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्