Thursday 12th of December 2019

प्रहरीलाई घुस दिने व्यक्तिलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालयको अभियान

काठमाडौं । प्रहरीलाई घुस दिने व्यक्तिमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पक्राउ गर्ने अभियान अगाडि बढाएको छ । प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिने २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घुस दिनेलाई प्रक्राउ गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कृत समेत गरेको छ । प्रहरीले सवारी चाँजका क्रममा प्रभावमा पार्न दुई सयदेखि दुई हजारसम्म घुस दिने सवारी चालक र सह–चालकलाई नियन्त्रणमा लिएर सामाजिक हित विरुद्धको मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत मंसिरबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर घुस दिन खोज्नेलाई नियन्त्रणमा लिने अभियान सुरु गरेको थियो । प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङगेहात नियन्त्रणमा लिएर कारवाही गरेको महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले वताए । उनले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘प्रहरीलाई घुस दिने व्यक्तिलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरेको छौ, घुस दिने व्यक्ति पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेका छौं ।’

सामाजिक विकृतीको रुपमा रहेको गलत संस्कार हटाउनका लागि अभियान नै सञ्चालन गरेको बताउँदै उहाँले गलत काम गर्ने व्यक्तिहरु पक्राउ पर्ने वताए ।

प्रहरीलाई सार्वजनिक सवारी साधनका चालक, सह–चालक र मोटरसाइकल चालकले घुस दिएको पाइएको छ । प्रहरीले घुस खादैन भन्ने मान्यतालाई स्थापित गर्न यो अभियान सञ्चालन गरेको बताइएको छ ।

प्रहरीले सामाजिक मर्यादाको ख्याल रहोस र गल्तीको महशुस गराउन कम्तिमा तीनदिनसम्म थुनामा राख्ने गरेको छ । पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटीमा छुटने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई घुस दिने व्यक्तिलाई पाँचदेखि दस हजार रुपैयाँसम्म धरौटी माग गर्ने गरेको छ । घुस दिने श्रृंखला बढेको अवस्थामा प्रहरीले घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष बुझाउने तयारी गरेको छ ।

समाजमा देखिएको गलत प्रवृत्तिलाई सुधार गर्न र प्रहरी पेशालाई थप मर्यादित बनाउन घुस दिने व्यक्तिलाई पक्राउ गर्ने अभियान सुरु भएको बताउदै महानगरीय प्रहरी कार्यालयका प्रमुख थापाले भन्नुभयो–‘प्रहरीले घुस खादैन, घुस दिनेलाई पक्राउ गरेर कारवाही गर्छ, गलत कामलाई निरुत्साहित गर्न र राम्रो काम गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन अभियान थालेका हौँ ।’

प्रहरीे ठूला आपराधिक घटनामा सफलतापूर्वक अनुसन्धान गर्ने, विपत्मा समयमा खोज तथा उद्दारमा सहासिक काम गरेर नागरिकहरुको जीवन रक्षा गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ । तर महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भने घुस दिने व्यक्तिलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने सुनिश्चित गरिदिएको छ । पुरस्कृत हुने प्रहरी कर्मचारीको वृत्ति विकाससमा समेत सहयोग पुग्नेछ ।

गत मंसिरबाट सुरु भएको अभियानका क्रममा प्रहरीलाई घुस दिने २६ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । हालसम्म घुस दिने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी कारवाहीका लागि प्रहरी कार्यालयमा बुझाउने सात प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् भने बाँकी पुरस्कृत हुने प्रक्रियामा रहेका छन् ।

पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक विश्वनाथ त्रिपाठी महाानगरीय वृत्त थानकोटबाट पुरस्कृत भएका छन् भने प्रहरी सहायक निरीक्षक हरिबहादुर खड्का महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट पुरस्कृत भएका छन् ।

यसैगरी प्रहरी सहायक निरीक्षक उमेश भट्टराई, प्रहरी सहायक निरीक्षक फाल्गुण श्रेष्ठ, प्रहरी हल्वदार लक्ष्मण यादव, प्रहरी हल्वदार जालन्धर राययादवलाई महानगरीय प्रहरी कार्यालय रानीपाखरीबाट पुरस्कृत भएका छन् । यसैगरी प्रहरी जवानलाल प्रसाद सापकोटा महानगरीय ट्राफिक प्रहरी वृत्त सात दोभाटोबाट पुरस्कृत भएको महानगरीय प्रहरी कार्यालय रानीपाखरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्