Wednesday 22nd of January 2020

काठमाडौं प्रहरीको निशानामा पार्किङ्गका मोटरसाइकल

काठमाडौं । काठमाडौं उपत्यकामा अनधिकृत रूपमा पार्किङ गरिएका करिब पाँच हजार मोटरसाइकल कारबाहीमा परेका छन् ।

६ महिनायता अनधिकृत रूपमा पार्किङ गरिएका चार हजार आठ सय नौ मोटरसाइकल कारबाहीमा परेका हुन् । नगर प्रहरी र ट्राफिक प्रहरीले त्यस्ता मोटरसाइकललाई कार्बाही गरेको हो । पैदलयात्रुलाई हिँड्न गाह्रो हुने गरी र जाम हुने गरी पार्किङ गरिएका मोटरसाइकल बग्गीखाना ल्याइने गरिएको छ ।

‘पार्किङ गर्न नमिल्ने ठाउँमा पार्किङ गरिएका मोटरसाइकललाई कारबाही गर्ने गरेका छौँ,’ नगर प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सिनाले भने, ‘फुटपाथ र सडक नै ढाकेर गरेर पार्किङ गर्नेलाई कार्बाहीको दायरामा ल्याएका हौँ ।’

कार्बाहीमा परेका मोटरसाइकलबाट काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा ४८ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । महानगर प्रहरीको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्म महानगरले ४८ लाख नौ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्बाहीमा परेका मोटरसाइकल एक हजार जरिवाना लिएर फिर्ता गर्ने गरिएको तिमल्सिनाले जानकारी दिए । नगर प्रहरीका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा धेरै पुसमा एक हजार एक सय ४१ मोटरसाइकल कारबाहीमा परेका छन् । यस्तै, साउनमा एक हजार १५, भदौमा नौ सय चार, असोजमा सात सय १९, कात्तिकमा चार सय २३ र मंसिरमा ६ सय सात मोटरसाइकल कार्बाहीमा परेका थिए ।

१८ मोटरसाइकलका धनी सम्पर्कविहीन
६ महिनाको अवधिमा कार्बाहीमा परेका मोटरसाइकलमध्ये १८ मोटरसाइकल बग्गीखानामै थन्किएका छन् । कारबाहीमा परेका मोटरसाइकल धनीले जरिवाना तिरेर मोटरसाइकल फिर्ता लैजाने गरे पनि १८ मोटरसाइकलका धनी भने सम्पर्कमा नआएको नगर प्रहरीले जनाएको छ ।

ब्लुबुक र लाइसेन्स ट्राफिक प्रहरीले चेक गरेपछि जरिवाना रसिद काटिएर मोटरसाइकल छाड्ने गरिएको छ । कानुनी प्रक्रिया पूरा गर्न आवश्यक कागजात नभएका कारण धनी सम्पर्कमा नआएको आशंका नगर प्रहरीको छ । ‘ती मोटरसाइकल चोरीका पनि हुन सक्छन् ।

कर तिर्न बाँकी भएका पनि हुन सक्छन्,’ तिमल्सिनाले भने, ‘प्रक्रिया पूरा गर्न कागजात नहुँदा धनी सम्पर्कमा नआएको हाम्रो अनुमान छ ।’ त्यस्ता मोटरसाइकल तीन महिनासम्म बग्गीखानामै राख्ने गरिएको छ । तीन महिनासम्म पनि धनीले दाबी नगरे मुद्दा शाखाले ट्राफिक प्रहरीसँगको समन्वयमा भन्सार विभागलाई जिम्मा लगाउने गरेको छ ।

चारपांग्रेमा ह्विल लक
ट्राफिक प्रहरी महाशाखाले अनधिकृत रूपमा पार्किङ गरिएका चारपांग्रे सवारीमा ‘ह्विल लक’ गर्ने अभियान सञ्चालन गरेको छ । जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङलाई निरुत्साहित गर्न भन्दै महाशाखाले १८ पुसबाट यो अभियान सुरु गरेको हो ।

महाशाखाका अनुसार हालसम्म यो अभियानबाट चार सय ३८ सवारी कारबाहीमा परेका छन् । महाशाखाले सवारी आवागमनमा बाधा पु(याउने गरी पार्किङ गरिएका साधनलाई एक हजार जरिवाना र ‘नो पार्किङ’ एरियामा पार्किङ गरिएका सवारीलाई पाँच सय रुपैयाँ जरिवाना तिराउने गरेको छ ।

‘सवारी आवागमनमा असर गर्ने गरी सडकमा साधन राख्न पाइँदैन । त्यसैले हामीले ह्विल लक अभियान सञ्चालन गरेका हौँ,’ महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले भने ।

‘ह्विल लक’ गर्दा सम्बन्धित सवारीचालकलाई उक्त कारबाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहितको स्टिकर चालकतर्फको झ्यालमा टाँस्न थालिएको महाशाखाले जनाएको छ । स्टिकरमा सवारीसाधनको नम्बर, ठाउँ, मिति र समयसमेत उल्लेख गरिन्छ ।

जहाँ बढी अनधिकृत पार्किङ गरिन्छ
नगर प्रहरीका अनुसार राजधानीका अधिकांश ठाउँमा अनधिकृत रूपमा पार्किङ गर्ने गरिएको छ । तीमध्ये वीर अस्पतालअगाडिको सडक, पुतलीसडक, बागबजार, अनामनगर, बानेश्वर, कोटेश्वरलगायत ठाउँमा अनधिकृत पार्किङ धेरै हुने गरेको छ ।

पार्किङ एरियालाई बेवास्ता
तोकिएका पार्किङ एरियामा पार्किङ नगर्ने र अन्य ठाउँमा पार्किङ गर्ने समस्या बढेको नगर प्रहरीको भनाइ छ । ‘तोकिएका ठाउँमा पार्किङ नगरी सजिलोका लागि जतासुकै पार्किङ गर्ने बढी कारबाहीमा परेका छन्,’ तिमल्सिनाले भने, ‘कोहीले भने पार्किङ गर्न मिल्दैन भन्ने थाहा नभएका कारण पनि कारबाही भोग्नुपरेको छ ।’ पार्किङ एरिया तोकिए पनि बढ्दो सवारीचापका कारण यस्तो समस्या बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्