Monday 16th of September 2019

एकैपटक ४ जना बच्चालाई जन्म ! आमा भन्छिन् -एउटालाई फकाउन थाल्यो, अर्को रुन्थ्यो

काठमाडौं । यी हुन् प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतीक हर्ष र प्रशंसा । काठमाडौं म्हेपीका यी बालबालिका दाजु–भाइ र बहिनी हुन्। चारैजना अहिले कक्षा ७ मा पढ्छन् । सँगै स्कुल जान्छन्, सँगै फर्कन्छन् । स्कुलमा पनि एउटै सेक्सनमा बस्छन्। आश्चर्य नमाने हुन्छ– हरेक साल जन्मदिनसमेत एकसाथ मनाउँछन् । किनभने यी चम्ल्याहा हुन्।

आमा प्रमिला बज्रचार्यले २०६२ वैशाख २८ मा एकैपटक उनीहरूलाई जन्माएकी हुन् । उनीहरूले एलकेजीसम्म दरबारमार्गको मोर्डन नेवा: स्कुलमा पढे । अहिले राजधानीस्थित रोजबड स्कुलमा पढ्छन्। आमा प्रमिला र बुबाप्रमोद हर्षले बोल्ने मातृभाषा नेवारी बुझ्छन् तर फर्काउन जान्दैनन् । ‘घरमा बाबामामु नेवारीमै कुरा गर्नुहुन्छ । उहाँले बोल्नुभएको हामी बुझ्छौं तर फर्काउन आउँदैन,’ चम्ल्याहामध्येकी कान्छी प्रशंसाले भनिन् ।

उनीहरूबीच आपसमा सामान्य झगडा पनि पर्छ । एक जनाले गल्ती गर्दा चारै जनाले पिटाइसमेत खाएका छन् । चारै जना खेल्दा गमला फुटेपछि सबैले पिटाइ खाएको प्रशंसाले सुनाइन् । आफूहरू चारै जना एकसाथ जन्मिएको भन्ने कुरामा उनीहरू आफैं पनि अचम्म मान्छन् । ‘अरूका आमाबाबुले एउटा सन्तान जन्मिएको दुई तीन वर्षपछि मात्रै अर्को जन्माउँछन् । हामी त एकै पटक जन्मियौं,’ कान्छा प्रतीक भन्छन्, ‘हामी त धेरै भाग्यमानी । बरु आमा–बाबाले चाहिँ हामी चारै जनालाई कसरी हुर्काउनुभयो होला ? कुनै खेलौना ल्याउँदा चारै जनालाई चाहिने भन्दै मागेर हैरान पाथ्र्यौं ।’ एउटालाई केही खानेकुरा दिँदा अरूले पनि मागेर अभिभावकलाई सताएको उनीहरू सम्झन्छन् ।

‘बेफाइदा भनेको जे भए पनि, जे गरे पनि चार भाग लगाउनुपर्ने मात्रै हो,’ प्रणय भन्छन्, ‘अरू त फाइदै फाइदा ।’ पाँच कक्षासम्म हुँदा उनीहरू सबै एउटै खालका कपडा लगाउँथे । अबचाहिँ फरक–फरक साइज र रंगको लगाउन थालेका छन् । उनीहरूलाई बुधबार विद्यालयमा भेट्दा तीनै भाइको ज्याकेट मात्रै उस्तै थियो । चारै जना बाटोमा हिँड्दा अचम्म मानेर हिँड्ने गरेको उनीहरूको अनुभव छ । टयाक्सीमा चढ्दा ड्राइभरले नै अचम्म मानेको घटनासमेत उनीहरूले सुनाए । प्रणय भन्छन्, ‘टयाक्सी चालकले सबै तपाईंका छोराछोरी हो भनेर सोधे । मामुले चम्ल्याहा हो भनेपछि चालक गाडी चलाउनै छाडेर हामीलाई हेरिरहे ।’ विद्यालयमा नयाँ शिक्षक र विद्यार्थीले समेत चासो लिएर सोध्ने गरेको उनीहरूले सुनाए । ‘धेरैजसोले त चम्ल्याहा हुन् भन्ने थाहा पाउनेवित्तिकै हामीसँगै बसेर फोटो खिचाइहाल्छन्,’ प्रशन्न भन्छन् ।

उर्मिला बज्राचार्य (आमा)

मेरो टेस्टयुट बेबी हो । पहिलो स्टेजमै चार जना छन् भन्ने थाहा भयो । महिना पुगेर जन्मिए । सबैभन्दा छोरी एक्टिभ थिइन । दुई जनालाई त दुई महिनासम्म इक्युभेटरमा राख्नुपर्‍यो । डाक्टरले दुई जना लिएर घर जान भन्नुभएको थियो । चारै जना लिएर मात्रै जाने भनेर कुरेर बसेँ । सुत्केरी भएको एक महिनापछि चारै जना लिएर फर्किएँ । हुर्काउन गाह्रो भयो । एक जनालाई केयर गर्दा अर्को रुन्थ्यो । एकैचोटि सम्हाल्न गाह्रो थियो । त्यसैले बच्चा हेर्ने सहयोगी राखेकी थिएँ । एउटालाई फकाउन थाल्यो, अर्को रुन्थ्यो । एउटा बिरामी हँुदा तीनवटा घरमै छाडेर जान्थेँ । एकै पटक दुई/तीन जना बिरामी भइरहन्थे । सुई लगाउन जाँदा चारै जाना लैजानुपथ्र्यो । त्योचाहिँ साह्रै गाह्रो । सुई लगाएको दिन त सुत्नै दिँदैनथे । चारै जना रोएको रोयै गर्थे । चारै जनालाई हेर्न सम्हाल्न सकिँदैनथ्यो । आफूले हेर्न नसक्दा कस्तो कस्तो लाग्थ्यो । कहिले एउटा बिरामी हुँदा अर्कोलाई पनि सथ्र्यो । त्यसैले अहिले छुट्टाछुट्टै बेडको व्यवस्था छ । एउटाको जुठो अर्कोलाई खुवाउँदैनौं ।

बच्चाले दु:ख दिँदा अलिकति पीडा हुन्छ । अरू बेला त खुसी नै हुन्छु । विगतमा चोटपटक लाग्ला कि भन्ने डर थियो । अहिले नराम्रो संगतमा पर्लान् कि भन्ने डर छ । कहिलेकाहीँ उनीहरू सानातिना विषयमा झगडा पनि गर्छन् । कोभन्दा को कम भन्ने घमण्ड जस्तो देखाउँछन् । कहिलेकाहीं त उनीहरू हामीप्रति नै आइलाग्छन् । चारैजना मिलेर कराउँछन् । उनीहरू मिलेर खेलेको र पढेको देख्दा भने औधि खुसी लाग्छ ।