Wednesday 19th of February 2020

एसएसपी बढुवाको कानूनी बाटो खुल्यो, १६ पदका लागि ३३ जना एसपी प्रतिस्पर्धामा

काठमाडाैं । नेपाल प्रहरीकाे वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाको लागि कानूनी बाटो खुलेकाे छ।

सेवा अवधि नपुगेपछि यसअघि लामाे समयदेखि एसएसपी बढुवा रोकिएकोमा प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेर संशोधन राजपत्रमा प्रकाशित भएपछि कानूनी बाटाे खुलेकाे हाे।

नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १५ जना एसएसपी दरबन्दी खाली रहेको थियो। प्रथम श्रेणी तहको बढुवाको लागि चार वर्ष काम गरेको हुनुपर्ने नियम थियो। अब भने तीन वर्षमा नै बढुवा हुन पाउने भएका हुन्।

पुस ३० गतेकाे मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरेपछि प्रहरी निरीक्षकदेखि एसएसपीसम्मको बढुवाको बाटो खुलेको थियाे। राजपत्रांकित श्रेणीमा एउटा दर्जाबाट अर्को दर्जामा बढुवा हुन पछिल्लो दर्जामा कम्तिमा चार वर्ष काम गरेको हुनुपर्ने प्रावधान तीन वर्षको बनाइएको छ।

सरकारले यसअघि डिआईजीसम्म बढुवा गरेको भएपनि प्रहरी निरीक्षकदेखि प्रहरी नायव महानिरीक्षकसम्मको सेवा अवधि नपुगेको भन्दै बढुवा रोकिएको थियो ।

प्रहरीमा अधिकृत स्तरका कर्मचारीको बढुवाकालागि कम्तीमा ४ बर्ष एउटा पदमा बसेर काम गरेको हुनुपर्ने प्रावधान यस अघिको नियमावलीमा ब्यवस्था गरिएको थियो ।

अब एसएसपीको १६ रिक्त पद पुर्तिगर्ने बाटो खुलेपछि ३३ प्रहरी अधिकृतहरु बढुवाको लागि दौडधुप बढेको छ ।

नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन् ।

जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्