Sunday 29th of March 2020

जर्नेलको उजुरीपछि जर्नेलहरुको बढुवा रोकियो

काठमाडौं । नेपाली सेनाले सैनिक नियमावली २०६९ को परिच्छेद– ३ अनुसार सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम उपरथी पदमा बढुवाको लागि २०७५ पुस २३ गते सिफारिस गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो ।

पा“च जना सहायक रथीहरुको बढुवाका लागि नेपाली सेनाले २०७५ पुस २३ गते १५ दिने सूचना प्रकाशित गरेको हो । वरिष्ठ सहायक रथीहरु मध्येबाट बढुवाका लागि सिफारिस भएकाहरुकाविरुद्ध उजुरी, दावी विरोध गर्ने व्यवस्था अनुसार १५ दिने सूचना प्रकाशित गर्ने सैनिक नियम रहेको छ । नेपाली सेनाका वरिष्ठ सहायक रथी मध्ये एक नम्बरमा रहेका शैलेन्द्र थापाले राजीनामा दिए ।

त्यस्तै वरिष्ठ मध्ये तीन नम्बरमा रहेका संजय सिंह भण्डारी १५ दिने सूचनाको बढुवा सिफारिसमा परेनन् । उनी स्नात्तकको शैक्षिक प्रमाणपत्रको विवादमा परेको कारणले गर्दा बढुवा सिफारिसमा पर्न सकेनन् । संजय सिंह भण्डारी बढुवा सिफारिसबाट बाहिरिएपछि जुनियर सहायक रथी ताराध्वज पाण्डेको नाम बढुवाका निम्ति सिफारिस भएको थियो । तर, संजय सिंह भण्डारीले उपरथीमा आफ्नो बढुवा हुनुपर्ने भन्दै दावी गरेर प्रमाण प्रस्तुत गर्दै उजुरी दिएपछि सात दिनभित्र उजुरीकर्ताले जवाफ पाउनुपर्छ । अहिलेसम्म यस सम्बन्धमा कुनै निर्णय हुन सकेको थाहा भएको छैन ।

२०७५ पुस २३ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको २०७५ माघ १३ गते तीन साता बितिसक्दा पनि उपरथी बढुवा सिफारिस रक्षा मन्त्रालयमा नपुग्दा बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसले गर्दा उपरथी भन्दा तलका सैनिक अधिकृतहरुको बढुवा प्रक्रिया समेत अवरुद्ध भएको छ ।

यस सम्बन्धमा बढुवा उजुरी छानविन गर्ने समिति (कोर्ट अफ इन्क्वायरी)ले निर्णय गर्न ढिलाई गर्दा नेपाली सेनाका उच्च अधिकृतहरुमा अन्यौल बढेको छ । सैनिक नियम अनुसार, सैनिक सचिवालय र कोर्ट अफ इन्क्वायरीले उजुरीको टुंगो लगाउनु पर्ने ब्यवस्था रहेको छ ।

उपरथी पदमा बढुवाका लागि सिफारिसमा पर्ने सहायक रथीहरुमा सर्वश्री बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका थिए । अब संजय सिंह भण्डारीको उजुरी र प्रमाण सही ठहर भएमा सहायक रथी ताराध्वज पाण्डेको बढुवा सिफारिस रद्द हुने छ ।

(साँघु साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्