Friday 22nd of February 2019

चिकित्सक संघको आन्दोलनमा वामपन्थी डाक्टरहरु सहभागी नहुने ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध चिकित्सक संगठनहरुले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको एजेण्डा राजनीतिक रहेकाले सहभागी नहुन आह्वान गरेका छन् । तत्कालीन एमालेनिकट राष्ट्रिय चिकित्सक संघ नेपाल र तत्कालीन माओवादीनिकट नेपाल प्रगतिशील चिकित्सक संघले संयुक्त विज्ञप्ति जारी गरी अस्पतालमा आन्दोलन औचित्यहीन रहेको बताएका हुन् ।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा.सन्तोष पौडेल र प्रगतिशीलका अध्यक्ष डा. माधव लम्सालले संयुक्त विज्ञप्ति जारी गरी नेपाल चिकित्सक संघका सीमित व्यक्तिले स्वघोषणा गरेको आन्दोलन कार्यक्रममा समर्थन जनाउन नसकिने प्रष्ट पारेका छन् ।

उनीहरुको विज्ञप्तिमा भनिएको छ– एकजना अभियन्ताको जीवन रक्षार्थ भनेर नेपाल चिकित्सक संघले आह्वान गरेको एजेण्डाविहीन आन्दोलन राजनीतिक उद्देश्यले प्रेरित छ । विरोधका अन्य उपाय रहँदा रहँदै पनि स्वास्थ्य सेवा जस्तो अति संवेनशील क्षेत्रमा हलुका ढंगले बन्द हड्ताल गर्ने अप्रिय निर्णयले आम जनता र चिकित्सकबीच दूरी बढ्ने निश्चित छ ।

वामपन्थी डाक्टरहरुले अस्पतालमा आन्दोलन डा.गोविन्द केसीको भावना र अभियानको मर्मविपरीत रहेको दाबी समेत गरेका छन् । उनीहरुले वार्ता र छलफलबाट समस्याको तत्काल निराकरण गर्न मागसमेत गरेका छन् ।

दुवै संगठनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयकलाई स्वागत गर्दै यसले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गणस्तरीय तथा जनमुखी बनाउन नेपालको इतिहासमा कोशेढुंगा साबित हुने दावी समेत गरेका छन् ।

यसैबीच, चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले अस्पतालमा हड्ताल गर्ने कार्यक्रम समग्र संगठनको नभएर केही राजनीतिक व्यक्तिहरुको निर्णय भएको आरोप लगाएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै कोषाध्यक्ष श्रेष्ठले कार्य समितिमा अस्पतालमा हड्ताल गर्नेबारे निर्णय नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्