Friday 22nd of February 2019

आर्थिक अभावसँग जुध्दाजुध्दै राणाको ७६ वर्षको उमेरमा शुक्रबार निधन

काठमाडौं । बीएस राणाले जति नेपाली फिल्म खेले, अधिकांशमा उनी सम्पन्न परिवारको बुबाको भूमिकामा देखिए । उनको मौलिक अभिनय थियो, त्यसैले यस्तो भूमिकामा राणा निर्विकल्प जस्तै थिए ।

सेतो बाघ, वसन्तीजस्ता चलचित्रमा त उनी राजदरबारसँग नै जोडिएका थिए । उनको पहिरन, बोलीचाली हेर्दा र सुन्दा लाग्दैनथ्यो कि, उनको वास्तविक जीवन यति पीडादायी छ ।

बीएस राणाले अभिनय गरेको पछिल्लो चलचित्र दर्पण छाया २ मा उनी धनाढ्य हजुरबुबाको भूमिकामा देखिएका थिए । करोडपति होस् या नेपालीबाबु, बीएस राणाको भूमिका लोभलाग्दो थियो ।

अन्त्य भने दुखान्त

जीवनको अन्तिम कालखण्डमा उनी आर्थिक अभावसँग जुधिरहेका थिए । आर्थिक अभावसँग जुध्दाजुध्दै राणाको ७६ वर्षको उमेरमा शुक्रबार निधन भयो । आज्माको रोगी राणाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

अस्पतालमा भेटिएका निर्देशक तुलसी घिमिरे स्तब्ध थिए । चलचित्र ‘अन्याय’मा काम गरेपछि राणा र घिमिरे निकट बनेका थिए । त्यसपछि लगातारसँगै काम गरेका घिमिरे सम्झन्छन् ।

उनका अनुसार कलाकार राणा भोलिबारे उति परवाह गर्दैनथे । ‘उनले आफ्नो भित्री दुःख कहिल्यै देखाएनन्’, घिमिरेले भने, ‘सरल र कसैले भनेको कुरा नकाट्ने खालका थिए ।’

निर्देशक घिमिरेका अनुसार पछिल्लो समय राणा आर्थिक समस्यामा थिए । उनले बाँसबारीमा रहेको घर–जग्गा बेचेका थिए । २२ दिनअघिको भेटमा बीएसले नयाँ चलचित्रबारे चासो राखेको घिमिरेले बताए । उनले भने, ‘आजै यस्तो होला भन्ने त सपनामा पनि सोचिएको थिएन ।’

निर्देशक घिमिरेमार्फत बीएस राणालाई चिनेका बिक्रम कार्कीले उनी माघ ५ गते आफ्नो अफिसमा आएको बताए ।

रोगले च्यापेपछि कार्कीले नै ११ गते शुक्रबार अस्पताल पुर्‍याएका थिए । ‘उहाँको योगदानको अभिलेख पनि होस् र आर्थिक सहयोग पनि जुटोस् भने उहाँको जिवनीमा आधारित डकुमेन्ट्री बनाउन लागेको थिएँ । ‘तर अस्पतालमा निको पारेर फर्काउनै सकिएन ।’

निकटवर्तीहरुका अनुसार रोगले च्याप्दै लगेपछि काम पाउन छाडे । घर चलाउन र उपचार खर्च अभाव भएपछि भएको घर बेचे । पछिल्लो समय कोठा भाडा तिर्नसमेत गाह्रो भएको थियो ।

राणा नरहेको खबर सुनेर शिक्षण अस्पताल पुग्नेमा कलाकार संघकी महासचिव सरिता लामिछाने पनि थिइन् । उनले भनिन्, ‘उहाँ मात्र होइन, केही पनि जेष्ठ नागरिकले यो अवस्थामा मृत्यु झेल्न नपरोस् ।’कलाकार बीएस राणाको अन्त्येष्टिको सबै खर्च कलाकार संघले ब्यहोर्ने लामिछानेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्