Monday 27th of January 2020

स्रष्टा बाबा बस्नेतको सेतो फरिया कृति र बदलिंदो समाजिक मूल्य मान्यताहरू”

साहित्यका धेरै विधामा कलम चलाउने राम्रो सर्जकमा दरिएकी बाबा बस्नेत एक अब्बल कार्यक्रम प्रस्तोता पनि हुन्। रेडियो नेपालमा आफ्नो सुरिलो आवाज र शालीन प्रस्तुति दिएर खारिएकी बाबा लोकगायिका बनेर आफ्ना भीर पाखामा रमाएको प्रसस्त देख्न पाईन्छ। सब्दहरूमा कलात्मक सौन्दर्य छरेर रंगमंचमा समेत जमिसकेकी बाबा समाज परिवर्तनका खातिर आफ्ना बुलन्द अभिव्यक्तिहरू मार्फत सुन्दर धुनहरू पस्किन माहिर छन् संघीय गणतान्त्रिक नेपालमा। बाबाको आफ्ना भोगाई संगसंगै समाजका बिभिन्न कालखण्डमा नारी प्रति लादिएका नियम र अगाडि बढ्दा बाटो छेक्ने कुरितीका दाह्रामष्टहरूले उनको कवि मन आहत बनाउंछ, सचेत मनकी बाबा यिनै नागबेली र चक्रव्यूहहरूलाई छिचोल्दै समाजकै उपेक्षित अनुहार र अन्त्यहीन पीडाका आकृतिहरूलाई एकत्रित पारेर समग्र समाज परिवर्तन गर्न उठेकी छन्, बस्ती बस्तीमा दियालो सल्काएकी छिन ।

लेखकीय धर्म निभाउने क्रममा समाजका घटनाक्रमसंग साक्षात्कार भएर बाबाले महिलाले भोग्नु परेका अंध्यारा पाटाहरूलाई बिस्तृत विवरण दिएर उजागर गरेकी छिन्।महिला मुक्तिका खातिर मर्यादा र खोक्रो आडम्बरका नाममा महिलाकै अस्तित्वलाई कैद गरिरहेका जन्जीरहरू चुडाल्दै मुक्त आकाशको खोजीमा निक्लिन्छन बाबा र विचरणको क्रममा उनलाई सुन्दर क्षितिज अनि स्निग्ध आकाशले चिहाईरह्को हुन्छ। निराशाका काला बादलभित्र रूमल्लिईरह्को विधवा मनमा झलमल भएर झुल्केका दिवाकर र लेखकीय सन्तुष्टीले एकैपल्ट आकाश छुंदै गर्दा यो कृति तयार हुन्छ, बाबाले यसको नाम राखिन सेतो फरिया! सदियौं कालदेखि विधवाको पहिरन सेतो फरिया र विधवाको विरही अवस्थाको शोषण गर्न अभ्यस्त कुरितीका जरासन्धहरूलाई चिर्दै एउटी सम्पन्न,मेहनती, ईमान्दार सुखीअनि समृध्द नारीको कल्पनाको खातिर खर्चेका यी काव्यिक हरफहरूले जो कसैको पनि मन छुन्छ।

सती प्रथालाई समूल नष्ट गरेर अघि बढेको नेपाली समाज विधवा आईमाईको पीडा,दुख र अवान्छित मनोदशा र दर्दनाक परिवेशसंग अझै उदार हुन सकेको छैन्। कानुनले सबैलाई सन्तुलित र समान रूपमा हेरेको छ, सबै मानवीय संवेदनाहरूमा संविधान र कानुन उदारनै छन् नयां नेपालमा, तर सामाजका पुराना ढोंग र संस्कारहरूको जब्बर र हेपाहा प्रवृतिका अबशेषहरू अझैपनि करबीरे मसान, रांकेभूत बनेर तर्साईरहन्छन् विधवा महिलाहरूलाई। यस्ता प्रसंगहरूसंग परिचित बाबा जस्ता प्रखर वक्ता,सचेत अनि अग्रगामी चिन्तनका महिलाहरूको हृदय झस्किनु र चेतना प्रदीप्त हुनु स्वभाविक पनि हो।

नेपाली समाज मात्र होईन दक्षिण एशियाली क्षेत्रमै धर्म, संस्कार र परंपराका नाममा नारी पात्रमाथि अनेकौं नियम र परिधिका सीमाहरू कुनै घोषित र कुनै अघोषित रूपमा लादिएकै हुन्, थोपरिएकै हुन्।समय र कालखण्डमा यी अवान्छित नियमहरू भत्किंदै छन् र भत्किने क्रममा छन्। नारीहरूमाथि लादिएका अनावश्यक सामाजिक बन्धनहरू मक्किंदै छन् र चुडिने क्रममा छन्!विधवा महिलाको दारूण, दुखद अवस्थामा दैवको श्राप र खटन भनेर उल्टो उनीहरूको कारूणिक भावनाको खिल्ली उडाउने समाजका जड मानिसकताहरू परिवर्तन भैरहेका छन् तर पूर्ण रूपमा परिवर्तन हुन सकेका छैनन।यस्तै परिवर्तन हुन नसकेका भंगालाहरू माथिको तीव्र प्रहार र महिलाका स्वतन्त्र आवाजहरूको बिशिष्ट शक्तिलाई एकत्रित गर्न लागिपरेकी बाबाले यस सेतो फरिया खण्डकाव्यलाई विधवा महिलाको बिद्रोहको शालीन आवाजको रूपमा प्रस्तुत गरेकी छन्।

यस खण्डकाव्यमा उनले नारीका भोगाई, जिम्मेवारी, छोरा र छोरी बीचको विभेदहरू, छोरीले व्यहोर्नु पर्ने जिम्मेवारीहरू, छोरीको स्वतन्त्र अस्तित्व नहुनुको भावलाई उजागर गरेकी छन्।माईती घरको ईज्जत जोगाउन होस् कि आफ्ना श्रीमान र छोरा, छोरीको स्याहारमा ईमान्दार भएर लाग्ने धरतीझै सहनशील एउटी ग्रामीण परिवेशकी नारीको भोगाईहरूका अनेकौं दृष्य,अदृष्य आवाजहरूको समष्टिगत रूपांकन गाभिएको छ यस खण्डकाव्यमा। अनेकौं बाधा र व्यावधान एवम श्रीमानको गैर्हजिम्म्वारपूर्ण जीवनशैलीलाई पनि संहालेर पारिवारिक दायित्व निर्वाह गर्ने शान्त, निर्भिक र धैर्यवान नारीको चित्रण पढ्न पाईन्छ बाबा बस्नेतको यस काव्यमा। जीवनको अकल्पनीय दुर्घटना अथवा विधवा हुनुको पीडाले आहत एक संघर्षशील नारीको जीवनमा आईपरेको आपद र समाजले थोपरेका बेक्नै नसक्ने अजंगका ढाकर र त्यसले उत्पन्न मनोदशाबाट नि:सृत जीवन र जीवन प्रति जागेका सकरात्मक चिन्तन अनि समाज परिवर्तनमा विधवाले उठाएका बुलन्द आवाजहरूले सेतो फरिया खण्डकाव्यलाई थप शसक्त बनाएको छ। बाबा बस्नेतको भाषा, सरल, सहज र सलल बगेको छ।

उनको काव्यचेतहरूमा ग्रामीण जीवनका लवजहरू लपक्कै टांसिएका छन्।आफ्ना भीर, पाखा, पखेराको संगीतले उरालेर बाबाको करूण भावहरू सुनकोशी बगरमा गीत बनेर गुन्जिरहेका हुन्छन्।नारी पात्रहरूले ईतिहासमा भोगेका ज्यादति, नारी दमनको बिद्रोहमा ईतिहासमा उर्लेका नारी स्वरहरूलाई संष्लेषण गर्दै उनले उत्तरआधुनिक विश्वमा नेपाली नारीको स्थान खोजिरहेकी छन्।बाबा आफ्ना परंपरा, संस्कार रीतिथितिमा परिवर्तन गर्नु पर्छ भनेर कलम चलाउने नारी पात्र हुन्। ईतिहासका अनेकौं घटनाहरूको अध्ययन गरेकी उनले समाजका पण्डितहरूको संकीर्ण सोच र बिचारहरूमाथि तीब्र प्रहार गरेकी छन्। संसारमा नारी, पुरूष जन्मदा स्वतन्त्र र स्व अस्तित्व लिएर जन्मे पनि नारीमाथि थोपरिएको काईते नियमले कसरी फक्रंदै गरेको ईन्द्रकमल मुर्झाउन पुग्छ भनेर आफ्ना भावहरू काव्यमा उतारेकी छन्।यसरी क्रान्ति, चेतना र समाज रूपान्तरणको खातिर बाबाले गरेको सत्प्रयास यस खण्ड काव्यमा यत्र तत्र देख्न पाईन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा विधवा महिलाहरूमाथि बिभेद छैनन् तर समाजको पुरातन बेथितिका धवनिहरूले नियम कानुनलाई धज्जी उडाएको देखिरेका छौं। उत्तर आधुनिक नेपालमा यस्ता हक अधिकार र महिलाहरूको स्वतन्त्र अस्तित्वको रक्षाका खातिर यस्तै चेतना र जागरणले भरिएका पुस्तकहरूको जरूरी छ, बाबाले थोरै मात्रमा भएपनि यो रिक्तता पुरा गर्ने महायज्ञमा प्रज्वलनशील समीधा प्रदान गरेकी छन्। गणतान्त्रिक नेपालका उपलब्धिहरू मार्फत यस्ता पीडित स्वरहरूको अस्तित्वलाई झनै सुरक्षा संरक्षण गर्नु जरूरी छ।बाबा जस्ता सचेत लेखकको कारण समाजमा परिवर्तनका किरणहरू फैलिंदै जाने कुरामा शंका छैन्। विधवा महिलाहरूले उपेक्षित हुन नपरोस् र उनीहरूले समाजमा सम्मानित जीवन बाच्न सकुन। मध्ययुगीन बर्बरताका माखेसांग्लाहरू चुंडिएर जानुपर्छ। विधवा महिलाहरूको जीवन स्वतन्त्र र शालीन र स्तुत्य हुन सकोस्।बस्नेतबाट आउंदा दिनहरूमा अझै राम्रा अनि सामाजिक सचेतना र परिवर्तनको धार बोकेका कृतिको अपेक्षा गर्दै अहिलेलाई यतिनै भनें मैले !

प्रतिक्रिया दिनुहोस्