Saturday 20th of April 2019

भष्मासुर, प्रचण्ड र भेनेजुएला प्रकरण !

विषयवस्तुमा प्रवेश गर्नु अघि एउटा पौराणिक कथाको सन्दर्भ उल्लेख गर्छु ।
एक पटक भष्मासुर दानव महादेवको घोर तपस्या गर्छ । गर्मीमा घाममा र जाडोमा बाहिर ढुंगामा बसेर कठोर तपस्या गर्छ उसले । उसको तपस्या देखेर महादेव आफ्नी अर्धाङ्गिनी पार्वती सहित खुशी हुँदै प्रकट हुन्छन् ।
महादेव भन्छन्–‘भष्मासुर, म तेरो तपस्यादेखि बहुत प्रशन्न भएँ । किन मेरो तपस्या गरिस् ? लौ वर माग । जे मागे पनि तँलाई दिन्छु ।’

भष्मासुरले भन्यो–‘प्रभु, मलाई यस्तो वर दिइबक्स्योस् कि, मेरो दाहिने हातले जसलाई छुन्छ उ तत्काल भष्म भैजाओस् ।’
महादेवले पनि वचन हारिसकेका थिए । जे मागे पनि दिन्छु भन्ने वचनले गर्दा उनले ‘तथास्तु’ भनिदिन्छन् ।
महादेवले तथास्तु त भनिदिए । तर भष्मासुरलाई महादेवबाट सही वर पाएको कुरामा विश्वास भएन । उसले परिक्षण गर्न चाह्यो । तर, वरिपरी कोही देखेन परिक्षण गर्नका लागि ।

मनमनै उसले महादेवमाथिकै शीर छोएर परिक्षण गर्न चाह्यो । उसले महादेव जलिहाले भने त पार्वती पनि हात पार्न सक्ने संभावना देख्यो । उसले महादेवको शीरमा दाहिने हातले छुने प्रयास गर्यो । अब महादेवलाई वित्यास पर्यो । उनी भाग्न थाले ।
भष्मासुरले महादेवलाई लखेटि रहेको भगवान विष्णुले स्वर्गबाटै देखे । उनले भष्मासुरले महादेवबाट पाएको वर र पार्वतीलाई समेत पाउने लालशामा लखेटेको कुरा थाहा पाए ।

विष्णु तत्कालै एक अप्सराको रुप धारण गरेर भष्मासुरले महादेवलाई लखेटिरहेकै बाटोमा खडा भए । भष्मासुर महादेवको पछि पछि दौडिदै थियो । अप्सराले भष्मासुरलाई रोकेर सोधिन्–‘ए, भष्मासुर तिमी किन महादेवलाई लखेट्दै छौ ?’
भष्मासुरले आफुले वर पाएको कुरादेखि लिएर त्यो वर सही हो कि होइन भनेर परिक्षण गर्न खोजेको बतायो ।
अप्सरा भनिन्–‘ह्या भष्मासुर तिमी पनि । तिम्लाई ती महादेवले मुर्ख बनाएछन् । त्यस्ता बाघको छाला ओढ्ने, मसानमा बास बस्ने, भाङ धतुरो सेवन गर्ने बौलाहा जस्ताको पनि विश्वास गर्ने ? तिम्लाई झुठो वर दिएछन् महादेवले । विश्वास लाग्दैन भने आफ्नै टाउकोमा हात राखेर हेर त ।’

अप्सराको कुराले भष्मासुरलाई शंका बढ्यो । उसले मनमनै ‘हो त नि’ भन्दै आफ्नो शीरमा दाहिने हात पुर्यायो । भष्मासुर त्यही जलेर नष्ट भयो ।

यतिखेर त्यही पौराणिक भष्मासुरको पथमा नेकपामा अध्यक्ष प्रचण्ड देखिएका छन् । माओवादीको रौद्र रुपधारी प्रचण्ड फेरिएर पुष्पकमल दाहालमा रुपान्तण भएको डेढ दशक पुग्नै लाग्दा पनि उनमा पटक पटक त्यही भष्मासुर स्वभाव देखिएको छ । जुन स्वभावले पटक पटक उनले जनतारुपी महादेवबाट वर र आशिर्वाद पाएपनि त्यसको सही प्रयोग नगर्दा पटक पटक पछारिएका छन् ।
अहिले असान्दर्भिक, बेप्रसङ्गको, कुनै आइनो न साइनोको भेनेजुयला भन्ने देशसँग प्रचण्ड नराम्रोसँग जाकिएका छन् । जनवरी २५ मा उनले भेनेजुयलाको विषयमा जारी विज्ञप्तीले निम्त्याएको तरंग अझै सेलाएको छैन । प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार विज्ञप्ती जारी गरेर विज्ञप्तीप्रति असहमति दर्शाएको छ ।

प्रचण्डाको विज्ञप्तीले बेलायतपछि बाहिरी विश्वसँग संबन्ध गाँसिएको दोस्रो देश अमेरिका बिच्किएको छ । भेनेजुयलाको आन्तरिक मामिलामा नेपाल अग्रसर भएर रसिया, चीनसँग लाइनमा लाग्दा त्यसले नेपाललाई फाइदा होइन, हानी पुग्ने संभावना बढ्दो छ ।
प्रचण्डले नेकपाको अध्यक्षको हैसियतले भेनेजुयलाको सन्दर्भमा विज्ञप्ती जारी गरेपछि त्यसले नेपालको एउटा सहयोगी, शूभचिन्तक देश अमेरिकालाई शंका गर्ने आधार थपिदिएको छ । विगतको एमाले होस् या पछि एकीकरण भएर बनेको नेकपालाई बाहिरी विश्वले बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्दै चुनाव जितेर आएको भन्ने छाप छ । यस्तो अवस्थामा नेकपा र नेपाल सरकारले अग्रसर भएर नबोल्दा नेकपा र सरकारको बुद्धिमत्तापूर्ण कदम ठहरिन्थ्यो । तर नेकपा अध्यक्ष प्रचण्ड तीन बित्ता उफ्रिएर भेनेजुयला प्रकरणमा अमेरिकी नीतिको विरोध गर्न पुगे । जसका कारण नेकपाको अध्यक्ष पद प्रचण्डका निम्ति भष्मासुरलाई मिलेको वर झैँ हुन पुगेको छ ।

कुटनीतिमा लामो समय लागेकाहरुको अनुभव छ–‘लिखितम्, बकितम्कोमात्र कुटनीतिमा अर्थ हुने होइन, बडी–ल्याङग्वेजले पनि यसमा प्रभाव पारेको हुन्छ ।’ कुन हाउभाउमा बोलेको छ, कसरी प्रस्तुत हुँदै आएको छ भन्ने कुरा कुटनीतिमा त्यत्तिकै महत्वपूर्ण हुन्छ । कुटनीतिमा सबै कुराहरु भूगोलको अक्षांश जसरी समानान्तर हुँदैनन् । तर प्रचण्ड त यसरी प्रस्तुत भइदिए कि मानौँ–आप्mनै सहोदर भाईको सम्पत्ति कसैले हरण गर्दैछ ।

हुनतः राष्ट्रियता भन्ने कुरा ठूलो सानो हुने होइन । तर सात समुद्रपारि रहेको दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका बारेमा बोल्नु अघि, धारणा सार्वजनिक गर्नु अघि एकपटक अमेरिकासँगको संबन्धको बारेमा प्रचण्डले सोच्नैपर्थ्यो। दोस्रो विश्वयुद्धको समाप्ती लगत्तै नेपालले बाहिरी संसारसँग ढोका खोलेको अमेरिकासँगको द्विपक्षीय संबन्ध स्थापनाबाटै थियो । सन् १९४७ अप्रिल २५ मा अमेरिका र नेपालबीच कुटनीतिक संबन्ध स्थापना भएको हो । त्यसपछि सन् १९५८ फेब्रुअरी ३ मा नेपालले वासिङटन डिसीमा दुतावास स्थापना गर्यो । अमेरिकाले त्यसको डेढ वर्षपछि सन् १९५९ अगष्ट ६ मा काठमाडौंमा दुतावास स्थापना गरेको हो ।
जवकी दक्षिण अमेरिकी मुलुक भेनेजुयलासँग सन् १९८७ अप्रिल २८ मा मात्र कुटनीतिक संबन्ध कायम भएको हो । यो संबन्ध कायम भएपनि नत द्विपक्षीय भ्रमण भएका छन्, नत कुनै व्यापारिक संबन्धनै छ यो देशसँग ।

बरु अमेरिकामा हजारौं मात्र होइन झण्डै तीनलाख नेपालीहरु छन् । अमेरिका नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउनेमा पहिलो देश हो । आर्थिक वर्ष २०७४÷७५ मा अमेरिकाबाट एकखर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल गएको छ । यसअघि खाडी मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स नेपाल जान्थ्यो भन्ने भ्रम थियो । अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुग्नु र नेपालीको संख्या बढ्नुले रेमिटेन्सको ठूलो स्रोत मुलुक अमेरिका भएको छ ।

नेपालको रेमिट्यान्सको अन्य स्रोत देशहरुमा अमेरिका पछि साउदी अरब, कतार, मलेसिया, युएई रहेका छन् ।
अमेरिका नेपालको पर्यटक आगमनको पनि ठूलो मुलुक हो । गत वर्षमात्र अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कोअपरेसन अन्तरगत ५० करोड डलर सहयोग गर्ने विषयमा केही महिना अघिमात्र सम्झौता भएको थियो ।

अमेरिका नेपालको सहयोगीमात्र नभएर जनस्तरमा समेत सम्बन्ध भएको मुलुक हो । यस्तो मुलुकले चाल्ने अन्तर्राष्ट्रिय कदमहरुमा नेपालको तर्फबाट सोचेर, विचार गरेर, मुलुकको हित जुन नीतिबाट हुन्छ त्यतातिर कदम चाल्नुनै कुटनीतिक रुपमा सफल ठहर्छ । भेनेजुयलाको सन्दर्भमा प्रचण्डको हतारको विज्ञप्तीले सरकारलाई समेत अप्ठेरोमा पारेको स्पष्टै देखिन्छ ।

प्रधानमन्त्री मुलुक बाहिर भएको समयमा प्रचण्ड बाठो भएर विज्ञप्ती जारी नगरेको भए शायद नेपाल सरकार यो विषयमा मौन नै बस्ने संभावना बढ्ता थियो । तर प्रचण्डको विज्ञप्तीले गर्दा सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न दवाव पर्यो । सरकारले विज्ञप्ती जारी नगर्दा प्रचण्डकै विज्ञप्तीलाई आधिकारिक मानेको ठहरिन्थ्यो । त्यसो हुँदा सन्तुलित बनाउने नाममा सरकारले अर्को विज्ञप्ती जारी त गर्यो, तर त्यसमा पनि प्रचण्डको विज्ञप्तीलाई खण्डन गर्न सक्ने सुविधा सरकारलाई रहेन । किनकी त्यसो गर्दा सत्तारुढ दलको अध्यक्षको साख रहने अवस्था थिएन ।

यो घटनाले आगामी दिनमा मुलुकको हित हुने कुरामा मात्र बाह्य विश्वका गतिविधिमा चासो राख्दा ठीक हुने पाठ नेपाल सरकारले सिक्ने अवसर पाएको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रसँग नेपालले पौठेजोरी खेल्नु पहाडसँग कुहिनाले जोरी खोजेजस्तो मात्र हो । त्यसले हानी हुने भन्दा बाहेक कुनै परिणाम दिँदैन ।

प्रचण्डले निकालेको विज्ञप्ती भष्मासुरले पाएको वरदान जसरी गलत ठाउँमा प्रयोग गर्न खोज्दा हानी पुग्यो ठीक त्यस्तै भएको छ । प्रचण्डले पहिलो संबिधान सभाको चुनावमा पाएको अत्यधिक बहुमतलाई सदुपयोग गर्न सकेनन् । म्याद सकिन लागेको प्रधान सेनापति रुक्माङगद कटवाललाई चलाएर आफैँलाई भष्मासुर सावित गरेका थिए ।

के हो भेनेजुयला प्रकरण ?

भेनेजुयलामा यतिखेर दुइवटा सत्ता चलिरहेका छन् । गत चुनावमा धाँधली भएको भन्दै विपक्षी नेता खुवान गोइदोले आफूलाइ राष्ट्रपति घोषणा गरे । उनी ३५ वर्षकामात्र छन् । जसलाइ अमेरिका लगायतका देशहरूले समर्थन गरेको छ । गोइदोलाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएका छन् ।

वर्तमान राष्ट्रपति निकोलस माधुरोविरुद्ध जनताहरू सडकमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व विपक्षी नेता खुआन गोइदोले गरेका छन् । गोइदो भेनेजुयलाको राष्ट्रियसभा अध्यक्ष हुन् । उनले सरकारविरुद्ध अवज्ञा आन्दोलन सुरु गर्न आह्वान गरेका थिए ।
जनवरी महिनाको शुरुवातमा निकोलस मधुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए । उनीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लाग्दै आएको छ ।

पेट्रोलियममा धनी भएर पनि भेनेजुयला अहिले चरम आर्थिक संकटमा गुज्रिएको छ । चर्को मूल्यवृद्धि तथा खाद्यान्न र औषधि अभावका कारण लाखौं नागरिक पलायन पनि भएका छन् ।
यही सन्दर्भमा प्रचण्डले भेनेजुयलाको वर्तमान सरकारको समर्थनमा विज्ञप्ती जारी गरेका थिए ।
याे लेख हामीले नेपालमदर अनलाइन पत्रिकाबाट साभार गरेका हाैं । लेखक पत्रकार हुन । उनी अहिले अमेरीकामा बसाेवास गर्दछन ।