Sunday 18th of August 2019

म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिन: बसन्त

काठमाडौं । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् ।

बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

यनले अघि भनेका छन, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’

अषट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात…’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाए ।

तर, रविका फ्यानहरुले उनलाई गालीगलौज गरे । रविले भने फेसबुकमा प्रष्टीकरण दिँदै तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको बताएका छन् । रविले बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् ।

बसन्तले भने रविसँग व्यक्तिगत बैमनश्यता नभएको तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुनेमा जोड दिँदै आएका छन् ।

तर, यो प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेकोमा बसन्त असन्तुष्ट छन् । ‘म अहिले एकदमै डिस्टर्व छु । प्रतिष्ठानबाट अलग्गिने मेरो आत्मनिर्णय हो । कसैसँग सल्लाह गरेर निर्णय लिएको होइन । यो विषयमा अहिले थप केही बोल्न चाहन्न ’बसन्तले भने,।


रवि ओडको स्पष्टीकरण : बाध्यताले ‘सालको पात’ गाएको हुँ

लोकदोहोरी प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्माले भने बसन्तले उठाएको विषय जायज भएको बताए । प्रतिष्ठानको फागुन १ गते वैठकमा यसबारे कुराकानी हुन सक्ने भन्दै उनले फेसबुकमा आएको गालीबाट विचलित नहुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्