Saturday 20th of April 2019

वाइडबडी खरिद भ्रष्टाचार छानबिनमा सरकार उदासिन हुर्दैन : बाँस्कोटा

काठमाडौँ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वाइडबडी जहाज खरिदमा भएको अनियमितता छानबिन प्रक्रिया अगाडि बढिरहेको बताएका छन् । काठमाडौंमा बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले वाइडबडी छानबिन जारी रहेको प्रस्ट पारेका हुन् ।

सरकारले नचाहेर वाइडबडी भ्रष्टाचार छानबिन प्रक्रिया सेलाएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा बाँस्कोटाले भने, ‘यसमा छानबिन नहोस् भन्ने सरकारको मनसाय छैन। यो प्रक्रिया अगाडि बढ्छ।’

संसद्‌को सार्वजनिक लेखा समितिको उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेकोमा चित्त नबुझेपछि सरकारले अर्को समिति बनाएको थियो। पुस १९ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्य जाँचबुझ समिति गठन गरेको हो।

संसदीय उपसमितिले कांग्रेसतर्फका तत्कालीन पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही, जीतेन्द्रनारायण देव र बहालवालामन्त्री रविन्द्र अधिकारी, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र सञ्चालक समितिका पदाधिकारी तथा खरिद प्रक्रियामा संलग्न अन्य व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेको थियो।

मन्त्री बाँस्कोटाले सरकार यस विषयबाट पछि नहट्ने भन्दै छानबिन समितिले सत्यतथ्य ल्याउने विश्वास दिलाए। सरकारी छानबिन समितिले काम गरिरहेकोले कुनै सदस्यले नभ्याएको जानकारी पाए समितिलाई पूर्णता दिएर पनि जारी प्रक्रिया नरोक्ने उनको भनाइ थियो।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ समिति बनाएर गल्ती भयो कि भन्ने सरकारलाई नलागेको मन्त्री बाँस्कोटाले बताए। छानबिन समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसको पनि माग रहेको उनले स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्