Sunday 18th of August 2019

‘बी’ डिभिजन लिग शुक्रबारदेखि

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग शुक्रबारबाट सुरु हुँदै छ । रेलिगेसनको प्रावधान हटाएर सुरु हुन लागेको लिगको उद्घाटन खेलमा झम्सीखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगकम नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो चरणमा दुवै समूहमा राउन्ड रोविन लिग हुनेछ । दोस्रो चरणमा समूह ‘ए’ का विजेताले आफ्नै समूहको उपविजेता तथा समूह ‘बी’को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा झम्सीखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्बल छन् । समूह ‘बी’मा टुसाल युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब, बाँसबारी क्लब र श्री भगवती क्लब छन् । फागुन १३ गते हुने पहिलो चरणको अन्तिम खेलमा खुमलटार युवा क्लबले बाँसबारी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सोही दिन अघिल्लो खेलमा सातदोबाटो युथ क्लब र नयाँ बस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका सबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछ । प्रतियोगितामा दोस्रो चरणका खेल फागुन १७ गतेबाट हुरु हुनेछन् । लिगको आधारभूत सिद्धान्त रेलिगेशन र बढुवा हुने प्रावधानलाई हटाएर सञ्चालन हुने लिगको विजेताले ८ लाख पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले पाँच लाख रूपैयाँ पुरस्कार पाउँदा तेस्रो हुने टोलीले ३ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछ ।

लिगमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक क्लबलाई तयारीस्वरूप एन्फाले ७ लाख दिएको छ । ए डिभिजन लिग पनि रेलिगेसन बिना गरेको एन्फाले दुई समूहको पुछारमा रहने टोलीको एक–एक अंक अर्को लिगमा घटाउनेछ । ५० –५० हजार तयारी रकममा काटिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्