Friday 21st of February 2020

काठमाडाैं उपत्यकामा अब चौँबीसै घण्टा सार्वजनिक गाडी !

काठमाडाैं । काठमाडाैं उपत्यकामा अब रातको समयमा पनि सार्वजनिक गाडी चल्ने भएका छन् । यात्रुको सेवा सुविधालाई मध्यनजर गर्दै २४सै घण्टा सार्वजनिक गाडी सञ्चालनमा ल्याउने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडाैं उपत्यकामा रातको समयमा सार्वजनिक गाडी सञ्चालनका लागि यातायात व्यवसायी र काठमाण्डु महानगरपालिकासँग समन्वय हुनेछ ।

रातको समयमा काम विशेषले गन्तव्यमा पुग्नु पर्नेहरुलाई सार्वजनिक गाडी नहुँदा समस्या भएकोले यो कामलाई अघि बढाउन ढिलाई भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनले भने, ‘व्यवसायीहरुले भनेअनुसार वैज्ञानिक भाडादर कायम गरेर भए पनि रातको समयमा सार्वजनिक गाडी सञ्चालन गर्नुपर्छ । यसका लागि सम्बन्धित निकायसँग छलफल भैरहेको छ ।’

राति १० बजेसम्म सार्वजनिक गाडी सञ्चालनमा ल्याउने भन्ने सहमति व्यवसायीहरुसँग भए पनि त्यो पनि कार्यन्वयनमा नआएको र नयाँ ढंगले अघि बढ्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार व्यवसायीहरुले फाइदा मात्रै हेर्ने गरेकोले सार्वजनिक यातायात सहज हुन नसकेकोले अब चौबीसै घण्टा नै सञ्चालन गर्ने गरी तयारी सुरु भएको हो ।

काठमाण्डु महानगरपालिकाले केही वर्षअघि १३ वटा सार्वजनिक बस रातको समयमा सञ्चालनमा ल्याएको थियो । परीक्षणका रुपमा झण्डै ६ महिना सार्वजनिक बस सञ्चालनमा आए पनि सुरक्षाको प्रत्याभूति नभएको भन्दै सेवा बन्द गरिएको थियो ।

काठमाण्डु महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्गीले रातको समयमा गाडी सञ्चालन गर्नुपर्छ भनेर आफूले नै सक्रियता बढाएको बताए । व्यवसायी, यातायात व्यस्था विभागलगायत सम्बन्धित निकायसँग यो विषयमा छलफल भैरहेको भन्दै उनले महानगरपालिकाले यसलाई छिट्टै टुंगोमा पुर्‍याउने र रातको समयमा पनि सार्वजनिक गाडी चढ्ने वातावरण निर्माण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्