Tuesday 17th of September 2019

बस र अटो रिक्सा ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

दाङ । घोराहीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको कटुवाखोलामा ना ६ ख १५३३ नम्बरको बसले रा १ ह २४३३ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा अटोमा सवार घोराही उपमहानगरपालिका १८ गिठेपानीका ५३ वर्षीया मंगली विकको मृत्यु भएको हो ।

बसको ठक्करबाट अटो पल्टिँदा गम्भीर घाइते भएकी बिकको घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका छन् ।

घाइतेहरु घोराही १८ गिठेपानीका ४ वर्षीया अस्मिता विक, ४० वर्षीय बसन्त थापा र प्युठानको स्वर्गद्धारी नगरपालिका कामीचौरका १९ वर्षीय कला विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्