Friday 22nd of February 2019

नेपालको अर्थतन्त्रमा गोर्खा सैनिकहरुको योगदान

– झलक सुवेदी
अहिलेको नेपाल बन्नुभन्दा अगाडि देखि नै यहाँका पहाडे समुदायका मानिसहरू एक अर्का देशमा (बाइसे चौबिसे राज्यका प्रजाहरू) काम गर्न जाने, पञ्जाव लगायतका मुलुकहरूमा सेनाको रूपमा भर्ती भएर काम गर्ने र त्यसको कमाइ लिएर फर्कने गरेको इतिहास रहेको छ । नेपाल एकीकरण पछि र खास गरी नेपाल अंग्रेज युद्ध पछि यो प्रक्रियाले तीव्रता पायो । एकीकरण अभियान र अंग्रेजसँगको युद्ध सम्म नेपालको अर्थतन्त्र नै युद्ध अर्थतन्त्र जस्तो थियो ।

घरलौरी एकजना पुरूष सेनामा जानुपर्ने तथा बाँकी रहेकाहरूले सेनाका अफिसरहरू, राजपरिवार र चौतारिया या निजामती प्रशासनका हाकिमहरूको जमिन कमाउने, ढाक्रेका रूपमा युद्ध सामग्री या सेनाका लागि खरखजाना ओसार्ने काम गर्नुपर्ने भएकोले सबैजसो पुरूषहरू या त सेना थिए या ढाक्रे । यी सैनिकहरू जब सुगौली सन्धि पछिको अवस्थामा लडाइँ बन्द भएकोले कटौतीमा परे र घर फर्के । तिनले बिस्तारै आफ्नो सेवा पञ्जावका राजा रणजीत सिंहको सेनामा बेच्न थाले । लडाइँ सिद्धिएर फुर्सदमा भएका ढाक्रेहरू पनि त्यतिबेलाको पहाडमा भएको खान लाउनको दुःख र साहुहरूको शोषणबाट भाग्दै अंग्रेजको सैनिक सेवामा जान थाले ।

पछि भारतमा अंग्रेज शासन बलियो हुँदै जाँदा उसले रेलवे लाइनको बिस्तार गर्‍यो, कोइला खानीहरू बिस्तार गर्‍ यो । कोलकाता, बैंगलोर, दिल्ली, बम्बइ जस्ता ठाउँमा शहरीकरण पनि तीव्र भयो । यसै क्रममा नेपालीहरू भारतका विभिन्न शहरमा र कोइला खानीमा काम गर्न जाने, आसामतिर खेतीपाती र पशुपालन गर्न जाने क्रम पनि बढ्यो । यो सँगै झन्डै दुई सय वर्ष देखि नेपालको अर्थतन्त्रमा केही न केही रूपमा लाहुरेको कमाइले योगदान गर्न थालेको हो । अहिले यो कमाइ गर्ने ठाउँ फैलिँदै ब्रिटिस सेना, भारतीय सेना, भारतका शहरका गल्ली र कलकारखाना या होटल र वेश्यालय, हंगकंग, सिंगापुर, ब्रुनाइ, मकाउ, अरेबियन मुलुकहरू, इजरायल, मलेसिया, कोरिया, जापान, युरोप र अमेरिका हुँदै विश्वका पचासौँ देशमा फैलिएको छ ।

रणजीत सिंहको पञ्जावी फौज, ब्रिटिस भारतीय सेना र भारतका शहरहरूमा सिभिल नोकरी गरेर कमाइ ल्याउन थालेको झन्डै सय वर्ष पछि पहिलो विश्वयुद्ध पछि नेपालमा अत्यधिक कमाइ भित्रिएको थियो । त्यतिबलाको झन्डै १३ करोड रूपैयाँ एकैपटक नेपाल भित्रिँदा त्यो पैसाले भट्टीपसलको वृद्धि, ज्यालामा बढोत्तरी र नगदको प्रयोग देखि घरजग्गाको कारोबार सम्म निकै बढेको थियो भनि सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यसबखतको नेपाल’मा उल्लेख गरेका छन् । त्यसपछि उस्तै र स्थिर जस्तो रहेको लाहुरे कमाइ सन् १९९० को वरपरबाट खुलेको खाडी राष्ट्रको जागिरले ह्वात्तै बढाइ दिएको हो ।

अहिले नेपालको अर्थतन्त्रमा लाहुरेको कमाइ या प्रचलित भाषाको रेमिट्यान्सको योगदान कुल राष्ट्रिय उत्पादनको झन्डै २३ प्रतिशतको हाराहारी हुन पुगेको छ । अहिले झन्डै २५ लाख नेपालीहरू भारत बाहेकका तेस्रो मुलुकमा काम गर्छन् । विश्व बैंकको एउटा प्रतिवेदन अनुसार नेपालमा भित्रिने रेमिट्यान्सको मात्रा हरेक वर्ष बढ्दै गएको छ । जस अनुसार सन् २००६ देखि २०१० सम्ममा झन्डै साढे दुई गुना बढी यस्तो कमाइ भित्रिएको छ । तल सन् दुई हजार ६ देखि १० सम्मको तथ्याङ्क दिइएको छ । लाख अमेरिकी डलरमा :

सन् २००६ मा १ अर्ब ४५ करोड ३० लाख डलर रहेको रेमिट्यान्स सन् २०१० मा आइपुग्दा ३ अर्ब ५१ करोड ३० लाख डलर पुगेको छ । अमेरिकी डलरको मूल्य प्रति डिलर ८० रूपैयाँ मानेर हिसाब गर्दा सन् २०१० को आम्दानी नेपाली रूपैयाँमा झन्डै २८१ अर्ब हुन आउँछ । यसरी हेर्दा आजको नेपाली अर्थतन्त्र झन्डै यहि रेमिट्यान्सबाट धानिएको भन्न सकिन्छ ।

केटाकेटीको शिक्षाका लागि भएको खर्च, बूढाबूढीको उपचार र पालन पोषणको खर्च, साना शहरी इलाकामा घरघडेरीको कारोबार, मोबाइल, रेडियो, टिभि, लत्ताकपडा, खानेकुराहरूको किनमेलका लागि यो पैसा खर्च हुने गरेको छ । यसले बोर्डिङ स्कुल फैल्याउने देखि सानातिना शहरबजारहरूको विकासमा पनि योगदान दिँदै आएको छ ।

अझ अलि उच्चस्तरको आम्दानी गर्ने बेलायती सेनामा काम गर्नेहरू, ब्रुनाइ, सिंगापुरे लाहुरे, कोरिया या जापानबाट आउनेहरूको कमाइले त ठूला शहरका सुकिला र राम्रा घर, डिपार्टमेन्टल स्टोर्स, सहकारी बैंकहरू, होटल, रेस्टुरेन्ट व्यवसाय समेतलाई उकासेको छ । यसरी लाहुरेको कमाइले केवल उनीहरूको परिवारको लागि मात्र नभएर नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक योगदान गर्दै आएको छ ।

यो कमाइमा गोरखाहरूको योगदानको बारेमा पछिल्लो आँकडा उपलब्ध भएन । तर सन् १९९७/९८ को राष्ट्र बैंकको प्रतिवेदन अनुसार त्यतिबेला जम्मा ६ अर्ब ९८ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । यसमध्ये बेलायती सेनामा कार्यरत सैनिक र पेन्सनरहरूले मात्रै १ अर्ब २८ करोड भित्र्याउँथे । हिमाल पत्रिकाका तत्कालीन सम्पादक राजेन्द्र दाहालले हिमालमा लेखेको लेखकलाई उद्धृत गर्दै उनीहरूले यसमा बु्रनाइ, सिंगापुर र भारतीय सेनामा कार्यरत गोरखाहरूको आम्दानी नजोडिएको बताएका छन् ।
यस अगाडि सन् १९९४ मा लियोनिल काप्लानले गरेको अध्ययनमा १९९४ मा बेलायती सेनामा कार्यरत गोरखाहरू र पेन्सनरहरूले वर्षेनी नेपालमा झन्डै ३ अर्ब नेपाली रूपैयाँ बराबरको बेलायती पाउन्ड ल्याउँथे । सन् १९९९ मा यो रकम झन्डै ३.५ अर्ब बराबर थियो भनी सेडेन र अन्यले लेखेका छन् । त्यसै गरी त्यतिबेला भारतीय सेनामा ४८ हजार गोरखा सैनिकहरू रहेको र उनीहरूले वार्षिक झन्डै ५.८ अर्ब र १,०५,००० पेन्सनरहरूले ४.८ अर्ब रूपैयाँ भित्र्याउने गरेको उनीहरूले लेखेका छन् ।

गोरखाहरूका पक्षमा गेसोले चलाएको आन्दोलनका कारण पछिल्लो समयमा ब्रिटिस गोरखामा कार्यरत गोरखाहरूको तलब र पेन्सनमा धेरै गुणा वृद्धि भएको छ । सन् १९९९ ताका जम्मा ७ सय जति पेन्सन पाउने सिपाहीको अहिले २७ हजार रूपैयाँ पेन्सन पुगेको छ भने त्यतिबेला ४ हजार भन्दा कम पेन्सन पाउने गोरखा मेजरको अहिले ७५ हजार ७९० रूपैयाँ पुगेको छ । गेसो महासचिव महेन्द्रलाल राईका अनुसार अहिले झन्डै २५ हजार गोेरखाहरू पेन्सनमा छन् । उनीहरूले झन्डै ७५ करोड रूपैयाँ मासिक पेन्सन नेपाल ल्याउँछन् ।

यसरी नै वेलफेयर पेन्सनका रूपमा पनि मासिक ७ करोड रूपैयाँ जति नेपाल आउँछ । गेसो आन्दोलनका कारण बेलायत सरकारले ४ वर्ष बेलायती सेनामा सेवा गरिसकेका लाहुरेहरूलाई बेलायतमा बसोबासको सुबिधा दियो । यस्तै सन् १९९७ पछि पेन्सनमा बसेका गोरखाहरूले पनि परिवार सहित बेलायतमा बसोबास गर्न पाउने गरेका थिए । यी सब कारणले अहिले बेलायती सेनामा काम गरेवापत पाउने पेन्सन र तलबको ठूलो हिस्सा बेलायतमा नै बस्ने गरेको छ । त्यसैले यतिबेला यति नै रकम नेपाल भित्रिन्छ भन्ने तथ्याङ्क निकाल्न पनि गाह्रो भएको छ ।

जे होस् गोरखा सैनिकहरू उनीहरूका परिवार र नेपाली अर्थतन्त्रमा राम्रो योगदान पु र्‍ याउँछन् । तर, यस आलेखको मुख्य चासो भने अलि फरक छ ।
अहिलेको नेपाली राजनीतिक बहसमा रेमिट्यान्सले यो गर्‍यो, त्यो गर्‍यो, भनेर खुबै चर्चा हुने गरे पनि त्यसका नकारात्मक प्रभावहरूका बारेमा भने खासै चर्चा हुने गरेको पाइन्न । नेपालमा लाहुरे प्रथा या गोरखा भर्ती परम्परा नभएको भए अहिलेको भन्दा नेपालको अनुहार अर्कै रहने थियो भन्ने बारे पनि कमै बहस भएका छन् । यो लेख तयार पार्ने क्रममा मैले मेरा मित्र सिकलिसका पूर्व गाविस अध्यक्ष मनबहादुर गुरूङलाई सम्पर्क गरेको थिएँ ।

सिकलिस कास्की जिल्लाको उत्तरपूर्वी भेगमा अन्नपूर्ण हिमालको फेदको गाउँ हो । गुरूङहरूको आदिथलो मानिने क्होला सोँथर भन्दा एकदिनको बाटो दक्षिण पश्चिममा लगभग दुई हजार मिटरमाथि अवस्थित यो गाउँ गुरूङहरूको भाषा, संस्कृति र परम्परागत अर्थतन्त्रको नमुना गाउँ हो । कुनै समयको आत्मनिर्भर अर्थतन्त्र रहेको सिकलिसमा हाते तान लगाएर अल्लो र उनीका कपडाहरू (काम्लो, भाङ्ग्रा, थैला, बख्खु) बुन्ने, चोयाका डोका, डाला, नाङ्ला, चाल्ना, छत्री, नाम्ला, थुन्से, मान्द्रा भकारी, स्याखु, चित्रा बनाउने काम हुन्थ्यो । हरेक गाउँका लेकतिर स्लेट ढुंगा बनाउने खानीहरू थिए ।

लेकमा फापर, आलु, जाैं, गहुँ, बेसीमा धान, मकै, कोदोको खेती हुन्थ्यो । हरेक घरको आँगनमा ९/१० खाल भएका मकैका शुली हुन्थे । पहिले स्व. डा. चन्द्रबहादुरको आँगनमा सबैभन्दा ठूलो २८ खाल भएको शुली हुन्थ्यो । मकै चारबाली लगाइन्थ्यो । अर्थात् फागुन चैत्र, बैशाख र जेठमा रोप्ने अनि असार, साउन, भदौ र असोजमा थन्क्याउने । अब अहिले त्यो २५ प्रतिशत जति मात्र बाँकी होला । हरेक खेतबारीबाट दुई बाली अन्न भित्रिन्थ्यो ।

मनबहादुर गुरूङका अनुसार सिकलिसमा मात्रै पहिले प्रत्येक घरमा गाई, भैसी या भेडी गोठ हुन्थे । धनीहरूका त तीनै खालका गोठ हुन्थे । उनीहरूकहाँ चार चुल्हे भन्ने गरिन्थ्यो धनीलाई । अर्थात् एउटा छोरो भेडी गोठमा, एउटा गाई गोठमा र अर्को भैँसी गोठमा भयो भने मात्रै त्यो धनी मानिन्थ्यो सिकलेसीहरूका मात्रै २० वटा र पार्चेलीहरूका ५ वटा भेडी गोठ थिए । अहिले सिकलिसमा जम्मा २ वटा र अर्मलावालासँग मिसाएर थप एउटा गोठ छ भेडीको । यस्तै पहिले ७०/८० वटा गाई भएका २५ वटा गाई गोठ र त्यति नै संख्याका भैँसी गोठ थिए । अहिले ४/५ वटा भैँसी गोठ र ३ वटा मात्र गाई गोठ छन् ।

पहिले कम्बल र बख्खु घरघरमा बुनिन्थे । महिलाहरूमा तानमा कम्बल, बख्खु या भाङ्ग्रा बुन्न जान्ने सीप अनिवार्य जस्तै थियो । तर, अहिले त मेहनत अनुसारको पैसा पनि नहुने भएकाले बुन्न छाडे । मनबहादुरको घरमा नै आफ्ना भेडाको २ क्वीन्टल ऊन त्यसै मिल्केको छ । कतिले त ऊन नै जंगलमा फाल्ने गरेका छन् ।

गुरूङ भन्छन्, ‘लाहुरेले ल्याएको पैसाले फाइदा त गरेको छ र आधुनिकतातिर लम्केको पनि छ । तर, हामी गुरूङहरूको परम्परागत अर्थतन्त्र, भाषा संस्कृति र पहिचान भने समाप्त भएको छ । गोरखादेखि पर्वतसम्मका हिमाली काखमा रहेका गुरूङ बस्तीको कथा यहि हो । जो भर्ती भयो र गयो ऊ यसै लाहुरे भयो जो गएन या जान सकेन या पाएन ऊ पनि गाममा परम्परागत कृषिमा अडिन सकेन । यसले धरै कुरा सखाप पार्दै छ ।’

यसरी सिकलिसको बारेमा अध्ययन गरिसके पछि मलाई सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यसबखतको नेपाल’को सन्दर्भ फेरि याद आयो । उनले पहिलो विश्वयुद्ध पछि आएको रेमिट्यान्सले कसरी नेपाली पहाड र लेकाली बस्तीका घरेलु उद्योग सखाप भए र त्यतिबेलाको सस्तो जापानी मालले नेपाल खायो भन्ने उल्लेख गरेका छन् ।

अहिले पनि त्यहि छ नेपालको हालत । पैसा र कमाइ पनि विदेशी मालताल र उपभोग्य वस्तु पनि विदेशी । विदेशमा पसिना बगाउने, विदेशी सामान उपभोग गर्ने र आफू रित्तै रहने । बाजेका पालामा र नातीका पालामा उस्तै हालत । यसरी त लाहुरे पैसाले देशको पनि र परिवारको पनि कायापलट गर्दैन रहेछ बरू त्यसका लागि त स्वतन्त्र स्वदेशी अर्थतन्त्रको विकास र आफ्नै देशमा रोजगारीको सिर्जना हुनुपर्दो रहेछ भन्ने निष्कर्ष पो निस्कदो रहेछ ।

(गोरखा सैनिक आवाज मासिकबाट)

प्रतिक्रिया दिनुहोस्