Sunday 29th of March 2020

भेनेजुएला प्रकरण : बालुवाटारको एक भेटले मिलायो अध्यक्षद्धयलाई

काठमाडौं । भेनेजुएला प्रकरणबाट टाढिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा भेनेजुएलासम्बन्धी विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरणसम्बन्धी विषयमा कुराकानी भएको छ ।

सार्वजनिक कार्यक्रमहरुमा समेत आ–आफ्नो तरिकाले व्याख्या गर्न थालेका अध्यक्षद्धय ओली र दाहालबीच अब त्यस विषयमा कहीं कतैबाट अर्को अभिव्यक्ति सार्वजनिक नगर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रिया तत्काल टुंग्याउने विषयमा सहमति भएको छ।

प्रधानमन्त्री ओली स्वीटजरल्याण्ड भएका बेला भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीभित्र मतभेद उत्पन्न भएको थियो। सो विज्ञप्ति प्रकरणमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरुले बेग्लाबेग्लै धारणा सार्वजनिक गरेपछि विवादले झन उग्र रुप लिएको थियो ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार जनतासँग प्रधानमन्त्री नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ भएको बताएका थिए । त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्