Friday 22nd of February 2019

मूल्यसूची नराख्ने व्यवसायीलार्ई जरिवाना

बाँके । पसलमा मूल्यसुची नराखेर उपभोक्ता ठगी गर्र्ने, मापदण्ड विपरीतका खाद्यान्न बस्तु बिक्री वितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने व्यवसायी कारबाहीमा पर्ने भएका छन् ।

उपभोक्ता हितमा बेवास्ता गर्ने व्यवसायीलाई चेतावनी दिने र सुधारका लागि समय दिने गरेको संयुक्त बजार अनुगमन समितिले नेपालगञ्जमा मंगलवारदेखि कारबाही सुरु गरेको छ । लगातार पटकपटक मापदण्ड पूरा गर्नका लागि समय दिने गरेको समितिले सुधार नगरी पुनः लापरवाही गरेको पाएपछि कारबाही गर्न सुरु गरेको हो ।

यसअघि मापदण्ड विपरीत सञ्चालित पानी उद्योगमा ताला लगाएको समितिले मंगलबार एउटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानाको पत्र काटेको छ । ‘मापदण्ड पूरा नगर्नेलाई अब कानुनी कारवाही सुरु गरेका हौँ’, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भने । मूल्यसूची नै नराख्ने र लेखेको मूल्यसूचीसमेत अस्पष्ट हुने गरेको गुनासोमा अनुगमन गर्दा नेपालगञ्ज–१ धम्बोझीको गर्ग एग्रिफुड प्रोडक्टमा त्रुटि भेटेपछि संयुक्त बजार अनुगमन समितिले कारबाही गरेको वाणिज्यका प्रमुख पौडेलले जानकारी दिए । उनले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ५० हजार जरिवाना गरिएको जानकारी दिए ।

अब कानुन विपरीत गर्ने जोकोहीलाई पनि कारवाहीको दायरा ल्याउने वाणिज्य कार्यालयका प्रमुख पौडेलले बताएका छन् । ‘बजार अनुगमनलाई तीव्रता दिएका छौँ’, प्रमुख पौडेलले भने, ‘दोषी कारवाहीको दायरामा आउनेछन् ।’ बाँकेमा सञ्चालित पानी उद्योगले लापरवाही गरेको गुनासो आएपछि समितिले तीन वटा उद्योगलाई यसअघि नै सिल गरेको थियो ।

वाणिज्य कार्यालयका प्रमुख पौडेलले मंगलबार पानी उद्योग अनुगमनका लागि छुट्टै टोली खटिएको जानकारीसमेत दिएका छन् । संयुक्त बजार अनुगमन समितिमा जिल्ला प्रशासनबाट सहायक सुरेश सुनार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योत्सोना श्रेष्ठ, विनोदकुमार श्रीवास्तव, खाद्यका नेत्र बोगटी, जिल्ला प्रशासनका नासु महेश्वर पौडेल, प्रहरी हवल्दार दीर्घराल बस्नेत खटिएका थिए । मंगलबार कार्यालय समय सकिएपछि खटिएको टोलीले गर्गमा कारवाही गरेको हो ।

उपभोक्ता हित संरक्षणका लागि अनुगमनको औपचारिक मात्रै पूरा गरेर नहुने बताउँँदै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले भने, ‘उपभोक्ताको हितमा समिति गम्भीर भएर अनुगमनमा लाग्नुपर्छ ।’ उनले उपभोक्ता हित संरक्षण सम्बन्धी ऐनले मूल्य सूचि अनिवार्य गरेकाले लापरवाही गर्नेलाई कानूनी दायरमा ल्याउनुपर्ने धारणा राखे ।

यसैबीच नेपालगञज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले खाद्य स्वच्छतामा प्रत्येक उपभोक्ता सचेत हुनु पर्नेमा जोड दिएकी छन् । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आमउपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी जनचेता जगाउने उद्देश्यले धम्बोजी माविमा आयोजना गरेको उपभोक्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले नगरपालिकाले पनि खाद्य स्वच्छता कायम राख्न बजार अनुगमनको कार्यलाई निरन्तरता दिने बताइन् ।

नगरपालिकाले विभिन्न विषयगत कार्यालयसँग समन्वय गरेर बजार अनुगमनको कार्ययोजना बनाएको उल्लेख गर्दै उपप्रमुख थापा मगरले खाद्य स्वच्छता कायम राख्नका लागि आपैmँबाट सुरुआत गर्नुपर्नेमा जोड दिइन् ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले उपभोक्ता अधिकार र उपभोगको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै मौलिक हकको रूपमा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार भए पनि उपभोगमा समस्या रहेको बताए ।

उपभोक्ताका सुरक्षाको, सूचित हुने, छनोटको, सुनुवाइको, उपभोक्ता शिक्षाको, क्षतिपूर्तिको, आधारभूत आवश्यकतामा पहुँचको, स्वच्छ तथा स्वस्थ वातावरणको र आफ्नो हकअधिकारसँग सम्बन्धित विषयको कानुन र नीति निमार्णमा प्रतिनिधित्वको अधिकार रहे पनि यी अधिकारको आमउपभोक्ताले उपभोग गर्न नपाएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्