Sunday 18th of August 2019

कुकुर आतंकले स्थानीय त्रसित

खाँदबारी । खाँदबारी बजारमा भुस्याहा कुकुरहरूको आतंक बढेको छ । खाँदबारीमा बढ्दो संख्यामा रहेको भुस्याहा कुकुरहरूको कारण बेलुकाको समयमा स्थानीयले जोखिम बेहोर्नुपरेको छ ।

साँझ पर्दै गएसँगै सडक र बजारमा मानिसको चहलपहल घट्दै गएपछि भुस्याहा कुकुरहरू निस्केर एक्लै हिँड्ने बटुवाहरुलाई कुकुरहरूले सामूहिक आक्रमण गर्ने गरेका छन् । साँझदेखि सडकमा निस्किएको कुकुर बिहान अबेरसम्म सडकमै हुने हुँदा मर्निङ वाकमा निस्किएका तथा ट्युसन पढ्न जाने विद्यार्थीहरू आतंकित बनेका छन् ।

खाँदबारीको मुटु मानिने पोखरी बजारदेखि प्रहरी गेटसम्म भुस्याहा कुकुरहरूले कब्जा जमाएझैँ गरेर बसेका हुन्छन् । त्यस्तै मोटरसाइकलमा सवार यात्रुहरुलाई पनि कुकुरले आक्रमण गरेपछि दुर्घटनामा पर्ने गरेका छन् । बेलुकाको समयमा एक्लै हिँड्दा कुकुरले लखेट्ने गरेको जिल्लास्थित गुराँस एफएमका प्राविधिक दीपक निरौलाले बताए । उनले भने, ‘राति १० बजे रेडियो बन्द गरेर घर जानुपर्छ, कुकुरले दिनदिनै लखेट्छ, भागेर कति दिन बच्ने ?’

यसरी भुस्याहा कुकुरको संख्या बढ्दै गए पनि सम्बन्धित निकाय भने मौन छन् । बाटो हिँड्नेहरू पटकपटक कुकुरको आक्रमणमा परे पनि कसैले नसुनेझै गरेर बसेको स्थानीयले आरोप लगाउँदै आएका छन् । बजार क्षेत्रमा रहेको भुस्याहा कुकुरहरूलाई उचित व्यवस्थापन गर्नुपर्ने धेरैपटक कुकुरको आक्रमणमा परिसकेका पत्रकार गंगा विष्टले बताए ।

भुस्याहा कुकुरहरूलाई वेलैमा व्यवस्थापन नगरे भुस्याहा कुकुर समस्याले विकराल रूप लिनसक्ने समेत स्थानीय पत्रकार विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्