Sunday 19th of May 2019

ताल र शैली एउटै स्वर पात्र फरक: जनताको जलविद्युत आयोजना कार्यक्रम

[mashshare]

काठमाडौं । सरकार गठन भएको वर्ष दिन पुगेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रम घोषणा गरे । ‘नेपालको पानी जनताको लगानी, हरेक नागरिक विद्युत्को शेयरधनी’ भन्ने नारा दिइएको कार्यक्रमले सबै नेपालीलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने उर्जामन्त्री वर्षमान पुनको दावी गरेका छन ।

प्रधानमन्त्रीले त उद्घाटनको क्रममा पहिलो शेयर आफैं किन्ने बताएका थिए । यसले यो योजनाप्रति सरकार कति उत्साहित छ भन्ने देखाउँछ । प्रधानमन्त्रीले ‘पहिलो सेयर म किन्छु, दोस्रो कसले किन्छ भन्दै उत्साह देखाए ।

तर, यो योजना नयाँ भने होइन । यही मन्त्रालयले करिब तीन वर्ष अघि यस्तै योजना ल्याएको थियो । बिहीबार ठुलो तामझामका साथ उद्घाटन गर्दा प्रधानमन्त्रीले यसलाई नितान्त नयाँ र ठूलो योजनाको रुपमा प्रस्तुत गरे ।

२०७३ साल भदौमा उर्जा मन्त्रालयले सार्वजनिक गर्दा यो योजनाको नाम ‘नेपालको पानी, जनताको लगानी’ थियो । उद्देश्य पनि सबै नेपालीलाई जल विद्युत् आयोजनाको शेयर दिने भन्ने थियो । यस पटक नाममा ‘हरेक नागरिक विद्युत्को शेयरधनी’ भन्ने शब्दावली जोडिएको छ र त्यस्ता आयोजनाहरु किटान गरिएको छ । ‘फरक त्यती हो’, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका उपाध्यक्ष कुमार पाण्डे भन्छन्, ‘अरु सबै नयाँ बोतलमा पुरानो रक्सी भने जस्तै हो ।’

त्यसो त, पात्रमा पनि फरक देखिएको छ । ‘नेपालको पानी, जनताको लगानी’ योजना घोषणा गर्दा तत्कालन उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत्को शेयर किन्न आह्वान गरेका थिए भने यसपटक वर्षमान पुनले ल्याएको योजनाको घोषणा प्रधानमन्त्रीबाटै भयो । समारोह पनि पहिले भन्दा भव्य भयो ।

शर्माको पालामा करिब १४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता पनि आएको थियो । यसपटक वर्षमान पुनले ल्याएको योजनामा लगानी प्रतिवद्वता आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्