Friday 6th of December 2019

पोखरा महानगरले कर्मचारी र विचौलियाका कारण नउठेको भाडा उठाउन आइतबारबाट एक्सन कारबाही थाल्ने

कास्की । पोखरा महानगरपालिकाले बिभिन्न स्थानका सटर र व्यापारिक भवनबाट दुई करोड ४७ लाख रुपैयाँ भाडा अझै उठाउन सकेको छैन । भाडा तिर्न आनाकानी गर्नेहरुलाई आइतबारबाट कारबाही सुरु गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

महेन्द्रपुल, लेखनाथ, राष्ट्र बैंक चोक, मालपोत कार्यालय गरेर महानगरको एक सयभन्दा बढी सटर र सिर्जना चोकमा ३ तले व्यापारिक भवन पोखरा महानगरपालिकाले भाडामा लगाएको छ । ती सटरबाट मासिक निश्चित भाडा पाउने गरी सम्झौता पनि भएका छन् । तर विचौलियाको चलखेल र कर्मचारीको मिलेमतो हुँदा महानगरले वार्षिक करोडौं आम्दानी गुमाएको छ ।

४० वर्षअघि बनेका ती सटरहरु मर्मत भएका छैनन्, न त त्यसबाट उठेको आम्दानीको कुनै तथ्यांक नै छ । ती सटर तथा भवन ६० भन्दा बढी व्यक्ति तथा संस्थाले भाडामा प्रयोग गरिरहेका छन् ।

महानगरको सबै सटर प्रयोगकर्तालाई एक हप्ताभित्र भाडा तिरिसक्न महानगरले गत शुक्रबार एक हप्ताको समय दिएको थियो । तर महानगरले दिएको समयावधिमा कतिपय व्यक्ति तथा संस्था भाडा तिर्न आएका छैनन् । महानगरले तोकेको समयावधिका भाडा नतिर्ने कतिपय सम्पर्कमा आएर पनि तिरेका छैनन् त कतिपय सम्पर्कविहीन रहेको महानगर राजश्व शाखाले जनाएको छ ।

‘कुनैले आधा तिरेर बाँकी केही दिनमै तिर्ने गरी बक्यौता राख्नुभएको छ । उहाँहरुलाई हामीले छुट दिएका छौं,’ आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायले भने, ‘कत्तिपनि नतिर्नुभन्दा उहाँहरुलाई बिस्तारै नियमको दायरामा ल्याउन कोशिस गरिरहेका छौं ।’

जस्ट इन टाइम कन्स्ट्रक्सन प्रालिले सबैभन्दा बढी १ करोड १ लाख ३३ हजार रुपैयाँ भाडा तिर्न बाँकी छ । आलटाल गरेपछि उक्त प्रालिको बैंक खाता रोक्का गरिएको छ
महानगरले दिएको समयावधिमा भाडा तिर्न नआउनेमा जस्ट इन कन्स्ट्रक्सन प्रालि, गमालदीन मिया, विन्दु अधिकारी, प्रकाश पौडेल, संगिता साई, प्रकाश पहारी, सन्दीपकुमार अग्रहरी, सुमन गुरुङ, सुजन नेपाली, कसमस कम्प्युटर छन् । उनीहरुबाट महानगरले डेढ करोडभन्दा बढी उठाउन बाँकी रहेको जनाएको छ ।

कसले कति तिर्न बाँकी ?

महानगरपालिकाबाट सटर भाडामा लिएका अधिकांशले आफैंले प्रयोग गरेका छैनन् । उनीहरुले महानगरपालिकालाई आफूले तिर्ने भाडा सम्झौताभन्दा महंगो भाडामा अर्कैलाई प्रयोग गर्न दिएर नाफा खाइरहेका छन् ।

पोखरा महानगरपालिकालाई जस्ट इन टाइम कन्स्ट्रक्सन प्रालिले सबैभन्दा बढी भाडा तिर्न बाँकी छ । उसले १ करोड १ लाख ३३ हजार रुपैयाँ भाडा बुझाउन बाँकी रहेको महानगरपालिकाले जनाएको छ । भाडा तिर्न आलटाल गरेपछि उक्त प्रालिको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता र महानगर लेखा शाखाबाट सम्पूर्ण भुक्तानी रोक्का गरिएको छ ।

महानगरको सटर प्रयोग गरेवापत व्यक्तिगत रुपमा सबैभन्दा बढी भाडा नतिर्ने पोखरा महेन्द्रपुलस्थित महानगरको ‘क’ ब्लकको १ नम्बर सटर प्रयोगकर्ता गमालदीन मिया छन् । उनले माघ महिनासम्मको सटर भाडा १५ लाख रुपैयाँ तिर्न बाँकी छ तर उनी सम्पर्कमा छैनन् ।

मियाले भाडामा लिएको सटर अहिले रामचन्द्र पाण्डेले प्रयोग गरिरहेका छन् । ‘मिया सम्पर्कमै छैनन् । उनी सम्पर्कमा नभएपछि सटर प्रयोग गर्ने पाण्डेलाई नै हामी सोधपुछ गर्छौं,’ महानगर राजस्व शाखाका आन्तरिक लेखा परीक्षक अधिकृत रोमनाथ उपाध्यायले भने ।

महानगरको सटर प्रयोग गर्ने सन्दीप कुमार अग्रहरीले महानगरलाई भाडाबापत १२ लाख रुपैयाँ तिर्न बाँकी छ । महेन्द्रपुल ‘ग’ ब्लकको सटर नम्बर २ र ३ उनको नाममा रहेपनि हाल विजय गुप्ताले प्रयोग गरिरहेका छन् । भाडा बुझाउन पत्राचार गर्दासमेत उनी सम्पर्कमा नआएको महानगरले जनाएको छ । उपाध्यायले भने, ‘कतिपटक ताकेता गरिसक्यौं तर उहाँ सम्पर्कमै हुनुहुन्न ।’

महानगरको तथ्यांक अनुसार लेखनाथ अर्घांैचोकमा रहेको महानगरको भवन प्रयोग गर्ने कसमस कम्प्युटरले माघसम्म ४ लाख ४२ हजार रुपैयाँ तिर्न बाँकी छ । महानगरका अनुसार साविक लेखनाथ नगरपालिकामा बनेको ५ कोठे भवन कसमस कम्प्युटरले २०७१ सालदेखि २०७५ मंसिरसम्म भाडा सम्झौता गरेको थियो । सम्झौता सकेर पनि महानगरको भवन प्रयोग गरिरहेको र पूरा भाडा पनि नतिरेको हुनाले कसमस पनि कारबाहीको दायरामा परेको छ ।

महेन्द्रपुल ‘क’ ब्लक ४ नम्बर सटर प्रयोग गर्ने विन्दु अधिकारीले ९ लाख रुपैयाँ भाडा बुझाउन बाँकी छ । उनको उक्त सटर अहिले केकबहादुर परियारले चलाइरहेका छन् ।

पोखरा महानगरले भाडामा दिन बनाएको सटर प्रयोग गरेर भाडा नतिर्ने व्यापारीलाई आइतबारबाट कारबाही सुरु गरिने जनाएको छ
विश्वराज गिरीको नाममा रहेको तर दीपेन्द्र आचार्यले प्रयोग गरिरहेको राष्ट्र बैंक भवन सटरबाट ७ लाख ८० हजार रुपैयाँ, विमराज आचार्यको नाममा रहेको तर माधव मिश्रले प्रयोग गरिरहेको राष्ट्र बैंक चोकको सटरबाट ५ लाख रुपैयाँ र महेन्द्रपुलमै काजिबाबु चिलवालको नाममा रहेको तर हिरालाल सुनारले प्रयोग गरिरहेको सटरबाट ३ लाख ७७ हजार रुपैयाँ, प्रकाश पौडेलको नाममा रहेको तर मनोज लामा र इन्द्र सुनारले प्रयोग गरिरहेको महेन्द्रपुल ‘ख’ ब्लकको सटरबाट १ लाख ३२ हजार रुपैयाँ उठाउन बाँकी छ ।

मिलन नेपालीले प्रयोग गरिरहेको तर प्रकाश पहारीको नाममा रहेको महेन्द्रपुलकै सटरबाट २ लाख रुपैयाँ, संगिता साईको नाममा रहेको तर कल्याण श्रेष्ठले प्रयोग गरिरहेको सटरबाट २ लाख ५५ हजार रुपैयाँ, राजिन ढकालको नाममा रहेको महेन्द्रपुलको ‘ख’ ब्लकको सटरबाट ३ लाख ८३ हजार रुपैयाँ, महेन्द्रपुलकै सटरबाट प्रयोगकर्ता सुमन गुरुङबाट ५ लाख ६० हजार रुपैयाँ भाडा पनि महानगरपालिकाले उठाउन सकेको छैन ।

राष्ट्रबैंक चोकको व्यवसायिक भवन प्रयोगको सम्झौता गरेका तोरण मल्ल ठकुरीले ६ लाख ३५ हजार, रीता श्रेष्ठले २ लाख, पवनराज बसौलाले १ लाख ३९ हजार र दिलप्रसाद पोख्रेलले १ लाख २७ हजार रुपैयाँ महानगरपालिकालाई बुझाएका छैनन् ।

यसैगरी करापुकोट मल्टी सर्भिसले महानगरलाई सटर भाडाबापत ९ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । सर्भिसको नाममा रहेका ती सटर विभिन्न अन्य व्यक्तिले चलाइरहेका छन् । उनीहरुले आफूले करापुकोटसँग सटर ३० हजार रुपैयाँका दरले भाडामा लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्