Tuesday 26th of March 2019

सरोज-आश्मा: ‘गर्लफ्रेन्ड-ब्वाइफ्रेन्डभन्दा पनि रिस उठ्दैन’

काठमाडौं । नेपालमा लोकप्रिय डान्स ग्रुप कार्टुन्ज क्रुका जोडी हुन्, सरोज अधिकारी र आश्मा विश्वकर्मा । धेरैजसो हिट गीतमा नाचिसकेको यो जोडीलाई दर्शकले म्युजिक भिडियोमा खुब रुचाएका छन् ।

उनीहरु जोडी बनेर नाचेको जुनसुकै सामग्रीले पनि सोसल मिडियामा भव्य भ्यूज पाइरहेको हुन्छ । सोमबार दिउँसो यो जोडीसँग भ्यालेन्टाइन्स विशेष गफ गर्न काठमाडौं, कपुरधारास्थित उनीहरुकै स्टुडियो पुग्दा दुवै खुलेर प्रस्तुत भए । फोटोसुटका क्रममा आश्मा सरोजको खुब ख्याल गर्थिन् । कहिले आफ्नो हातले सरोजको आँखा मिलाइदिन्थिन्, कहिले उनको शरीरमा हिँडिरहेको कीरा पन्छाइदिन्थिन् । दृष्य देख्दा लाग्थ्यो– प्रेम होस् त यस्तो, केयरिङ होस् त यस्तो ! बजारमा सरोज र आश्माको प्रेम सम्बन्धबारे ठूलो चर्चा छ तर दुवैले यसलाई खुलेर स्विकारिसकेका छैनन् । दुवैलाई सँगै राखेर उनीहरुको सम्बन्ध र संघर्षबारे अन्तरंग कुराकानी :-

सन्चै हुनुहुन्छ ?
सरोज–आश्मा– अँ, हामी त सन्चै छौँ (एकै स्वरमा) ।

आश्माजी आज थोरै लजाइरहेको जस्तो लाग्यो !
सरोज– उनको फिजिकल एक्सरसाइज धेरै भयो क्या हिजो (हाँस्दै) । सिक्स एप्स निकाल्ने भनेर पूरा फिजिकल गरेको गरैकै छिन् उनले ।
आश्मा–(मुस्कुराउँदै) मलाई त हाँस्दा पनि पेट दुखिरा’छ । एकदमै गाह्रो हुने रैछ ।

यत्रो केटाहरुको हुलमा तपाईं एक्ली केटी कसरी जोडिनुभयो ?
आश्मा– धेरै लामो कहानी छ । छोटकरीमा भन्दा म ठमेलको नेपाल हिपहप फाउन्डेसन (एनएचएफ) को हलमा एक्लै नै डान्स प्राक्टिस गर्न जान्थेँ । त्यहाँ कार्टुन्ज क्रु पनि आउनुहुन्थ्यो । हाम्रो सिक्ने समय एउटै हुन्थ्यो । त्यसैले चिनजान भयो । घुलमिल हुँदै गइयो । त्यसपछि क्रुबाट ‘आऊ हाम्रो टिममा, मिलेर काम गर्नुपर्छ’ भन्ने प्रस्ताव आयो । अनि म जोडिएँ ।
सुरुमा त तपाईंहरुको समूहमा केटाहरु मात्रै थिए । पछि एउटा केटी मिसाउनुपर्छ भन्ने किन लाग्यो ?
सरोज– बाटोमा नाच्दानाच्दै हामी ठमेलको स्टुडियोसम्म पुगेका थियौँ । त्यहाँ आश्माको पनि आफ्नै केटीहरुको ग्रुप थियो । बिस्तारै हाम्रो क्रु मेम्बर पनि छुटिँदै गए । घरपरिवार धान्न गाह्रो भएपछि कोही विदेश गए, कोही कता । उता आश्माको ग्रुप पनि त्यसरी नै छुट्यो । तर आश्माले भने जति गाह्रो भए पनि छाडेकी थिइनन् । दुवैतिर गाह्रो भइरहेका बेला हामीले आश्मालाई ‘सँगै मिलेर काम किन नगर्ने’ भनेर अप्रोच गरेका थियौँ । आखिर ग्रुपमा एउटा केटी हुँदा छुट्टै चार्म पनि हुने, राम्रो पनि । उनले पनि ‘ओके’ गरिन् । एक हिसाबले भन्नुपर्दा उनी आएपछि ग्रुपमा ‘गुडलक’ पनि भित्रियो । संघर्ष त पहिल्यैदेखि गरिरहेका थियौँ तर नोटिस्ड हुन सकिरहेका थिएनौँ । उनी आएपछि संसारभर नोटिस्ड भयौँ ।
आश्मा–म त खुसी भएकी थिएँ उहाँहरुको ग्रुपमा जान पाउँदा । किनभने मलाई कार्टुन्ज क्रु एकदमै मनपथ्र्यो ।

आश्मासँगको पहिलो भेट याद छ ?
सरोज–किन नहुनु ? हामी त छक्क परेका थियौँ उनको डान्स हेरेर । हाम्रो भन्दा पनि दामी डान्स । स्टुडियोमा सिक्न जाँदा मिक्की दाइले भन्नुभएको थियो, ‘एउटा केटी छ, तिमीहरुभन्दा बबाल नाच्छिन्, बबाल मिहिनेती छिन् ।’ पछि एउटा सोमा नाचेको देखेपछि विश्वास लाग्यो, ‘हो रैछ ।’
आश्मा– कुन सोमा फेरि (हाँस्दै) ?

सरोज– त्यही दरबारमार्गमा भएको थियो नि ! बबाल नाचेकी थिइन् ।

आश्मा– फ्रयांक्ली भन्दा कार्टुन्ज क्रुका सबैजना एकदम राम्रो, ह्यान्डसम ह्यान्डसम । हामी केटीहरुलाई खुब राम्रो लाग्ने । राम्रोसँग बोल्ने पनि, जिस्किने पनि । (हाँस्दै)

तर पहिलोपल्ट देख्दा सबैभन्दा बढी नोटिस्ड त सरोजजी नै हुनुभयो होला !
आश्मा– अँ, सुरुमा त उहाँलाई नै भयो । त्यतिबेला ब्याटल अफ नेपाल प्रतियोगिता भएको थियो । त्यसको एमजे (माइकल ज्याक्सन) भने कार्टुन्ज क्रुबाट उहाँले गर्नुभएको थियो । एकदमै राम्रो लागेको थियो । (सरोजतिर हेर्दै) त्यसपछि त मैले तपाईंलाई एमजे भनेरै बोलाउँथे है ?

सरोज– अँ, हो नि (हाँस्दै) ।

तपाइहरुबीच सहकार्य भएको कति वर्ष पुग्यो ?
सरोज– ग्रुप बनेको १० वर्ष भयो । उनीसँग चिनजान भएको, सँगै प्राक्टिस गरेको ९ वर्ष भयो । क्रुमा जोइन भएर काम गर्न थालेको चाहिँ ७ वर्ष ।

केटीहरुको ग्याङ चलाएर नाचिरहेका बेला केटाहरुको ग्याङमा एक्लै भित्रिँदा अप्ठेरो महसुस भएन ?
आश्मा– त्यस्तो खासै त लागेन किनभने बिगर्ल गर्दा नै कोही थिएन प्राक्टिस गर्ने केटीहरु । केटैकेटासँग सिक्ने बानी भइसकेको थियो । पछि आका हुन् केटीहरु । पछि पो मिक्की दाइ (टिचर) ले केटीकेटीको ग्रुप बनाऊ न भनेपछि सुरुमा त म एक्लै भए पनि नाचिरहेकी हुन्थेँ ।
तर ९ वर्ष अगाडिको समाज त अहिलेजस्तो ओपन भइसकेको थिएन नि ?
सरोज–ः तर, उनी हामीलाई केटीभन्दा पनि केटैजस्तो लाग्थ्यो । (आश्मा जोडले हाँसिन्) डान्स पनि केटैको जस्तो बबाल । व्यवहार त्यस्तै । ड्रेस त्यस्तै हुन्थ्यो । सबैले ‘ए भाइ’ भनेर जिस्काउँथे पनि ।
आश्मा– आश्मालाई वाश्मा बनाएर वाश्मा भाइ भन्थे (हाँस्दै) ।
केटाहरुको हुलमा एक्लै केटी नाच्दा परिवारबाट त गाह्रो भयो होला नि !
आश्मा– अँ, फेमिली, सोसाइटी सबैले अर्कै नजरले हेर्थे । केटाकेटाको बीचमा एक्लै नाच्छे भन्दै ममीलाई कुरा लाउनेहरु पनि हुन्थे ।

सरोज– एकपल्ट त उनलाई ममीले स्टुडियोमा नाचिरहेकै बेला आएर पिटेको पनि हो नि !

आश्मा–हो, त्यतिबेला लठ्ठी भाच्नेगरी पिटेर लैजानुभएको थियो । एकहप्ता जति थुनेरै राख्नुभयो । आखिर ममी नै त हो । मन पग्लिहाल्छ नि । माया लागिहाल्छ नि । यसलाई मनैदेखि नाच्न मन लागेको रै’छ भनेर बुझ्नुभयो । ड्याडीले पनि सम्झाउनुभयो । त्यसपछि नाच्न जान दिनुभयो ।

अहिले त छोरी हिट भएको देखेर बुबाआमा दंग हुनुहोला ?
आश्मा– अहिले एकदमै खुसी हुनुहुन्छ ।
सरोज– त्यतिबेला केटाहरुलाई नै नाच्दा औंला उठाउँथे, झन् केटीहरुलाई कस्तो गाह्रो हुन्थ्यो होला । बरु पैसा कमाउन विदेश जा, यहाँ नाचेर के पाउँछस् भनेर गाली गर्थे । नाच्नु भनेको त प्रोफेसन नै सोच्दैनथे । बरु अहिले डान्समा स्कोप छ ।
आश्मा– हो नि, अहिले त नाच्नेहरुले विश्व खाइसके (हाँस्दै) ।

अब थोरै व्यक्तिगत कुरा गरौँ है । खासमा तपाइहरु दुईजनाको सम्बन्ध कस्तो हो ?
सरोज– कस्तो खालको सम्बन्ध भन्नु (हाँस्दै) ! साथी पनि हुन् । डान्स पार्टनर पनि हुन् । एकअर्कालाई हेल्प गरिराछौँ, लाइफमा अघि बढ्नलाई । हामीहरु सँगै हुँदा एकदमै खुसी हुन्छौँ । सबैजना सँगै बस्दा परिवारजस्तो लाग्छ ।
आश्मा– हो, हामी एकदमै मिल्ने साथी हौँ । मेरो जे पनि समस्या बुझ्नुहुन्छ उहाँले । मैले मेरो हरेक कुरा सेयर गर्ने नै उहाँसँग हो ।

सधैँ उहाँ नै भन्नुहुन्छ कि अहिले इन्टरभ्यूमा मात्रै भनेको हो ? (हाँस्दै)
आश्मा– म पहिलेदेखि तपाइ नै भन्छु उहाँलाई ।
सरोज– अहिलेसम्म तँ र तिमी भनेको त सुनेको छैन (हाँस्दै) । मलाई मात्रै हैन सबैलाई उनले रेस्पेक्ट गरेर नै बोल्छिन् ।
आश्मा– फेरि उहाँ टिमको लिडर पनि त हो । मेरो नजरमा त उहाँ वल्र्डकै बेस्ट लिडर हो । उहाँ जत्तिको लिडर त नेपालमा पनि छैन ।

कारण ?
आश्मा– किनकी आफ्नो टिम मेम्बरको भावनालाई एकदमै राम्रोसँग बुझ्नुहुन्छ । कोही त कोही बोस बन्न खोज्छन् नि । तर उहाँ त्यस्तो हुनुहुन्न । त्यही भएर त कार्टुन्ज क्रु आज यहाँसम्म आइपुगेको छ ।

सरोज– हाम्रो सपना थियो, कुनै दिन आफ्नै स्टुडियो खोल्ने । आफ्नै स्टुडियो, आफ्नै अफिस होला अनि त्यही अफिसमा आएर तपाईंहरुजस्तो पत्रकारले कुनै दिन यसरी इन्टरभ्यू लिनुहुन्छ होला भन्ने त कल्पनासम्म गरिएको थिएन । बाटोमा नाच्दै हिँड्दा देखेको त्यो सपना आज पूरा हुँदै जाँदा कम खुसी लाग्दैन ।

पर्दामा एकदमै हिट छ सरोज र आश्माको जोडी । म्युजिक भिडियोमा नाच्दा होस् या म्युजिकल्ली बनाउँदा जताततै तपाईंको जोडीको चर्चा सुनिन्छ । दर्शकहरुको कमेन्ट्स पनि जोडीको तारिफैतारिफले भरिएको हुन्छ । कस्तो लाग्छ यो सब देख्दा ?
सरोज– एकदमै खुसी लाग्छ नि ।

सरोज–आश्माको जोडी सधैँ सँगै भएको देख्न पाइयोस् भनेर कमेन्ट गर्नेहरुको लर्को छ । यसको सम्भावना कत्ति छ ?
सरोज– कोशिस त हामी गरिरहेकै छौँ । पछिसम्मै सँगै काम गरौँ भन्ने सोच छ । हेरुम, अब के हुन्छ !

मैले त लाइफ पार्टनर नै होऊन् भन्ने शुभेच्छाको कुरा गरेको क्या !
सरोज–अहिलेसम्म प्लान त गरेको छैन । हेरुम के हुन्छ (हाँस्दै)
आश्मा– दर्शकहरुले हाम्रो जोडी मनपराउँदा खुसी लाग्छ । नेपालमा पनि यस्तो जोडी होस्, जो सधैँ सँगै होस् । त्यो उदाहरण हामी हुन चाहन्छाँै ।
सरोज– यस्तो जोडी त वल्र्डमै पनि कम छ नि त । यत्रो लामो समय भयो अहिलेसम्म हामीले छुटेर एउटा पनि काम गरेका छैनौं । नेपालमा पनि कति जोडीहरु छन् तर छुटेर पनि खेलिरहेका हुन्छन् । तर हाम्रो त सोच नै सकेसम्म कहिल्यै छुटेर नखेलौँ भन्ने हो ।

बीचमा एकपल्ट तपाइहरुबीच लफडा पनि परेको हल्ला थियो नि, यथार्थ के हो ?
सरोज ः हो र ! हाम्रो त अहिलेसम्म झगडा भएको हामीलाई नै थाहा छैन ।
आश्मा– झगडा ! (आश्चर्य प्रकट गर्दै) । एकपल्ट ‘यू एन्ड आई’ सिरिजमा म सरोजजीसँग छुट्टिएर सन्नीजीसँग बिहे गर्दाको सिन थियो । त्यही सिनपछि कतिपय न्यूजहरुमा त्यस्तै खालको हेडलाइन्स आएको थियो । सायद त्यही हल्लाको कुरा गर्नुभएको होला । तर, हामीबीच अहिलेसम्म झगडा भएकै छैन । नहोस् पनि ।

सिधैँ सोधे ल– तपाईंहरु प्रेमी–प्रेमिका हो ?
सरोज– खोइ, त्यो त हामीलाई नै थाहा छैन (हाँस्दै) । हाम्रो त दिनै यसरी कट्छ । आउँछौँ, प्राक्टिस गर्छौँ । अहिले हामी दुवै काममा फोकस्ड छौँ ।

प्रेम त काम गर्दागर्दै पनि भइहाल्छ नि !
सरोज– प्रेम त सबैसँग छ । ग्रुपसँग पनि छ ।

आश्माजी पनि कुरा सुनौँ न । सरोजजीले मात्रै बोल्दा कुरा खुलेर नआएको हो कि ?
आश्मा– होइन, हामीसँगैको एउटै बोली हो (हाँस्दै) ।
सरोज– जे होस्, हामी सँगै हुँदा एकदमै खुसी हुन्छौँ ।
आश्मा– जिग्री हो उहाँ मेरो (हाँस्दै) ।
सरोज–मान्छेहरुले जसरी सोच्दा पनि खुसी लाग्छ ।

भनेपछि गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड भन्दा पनि रिस उठ्दैन ?
सरोज– किन रिसाउनु ? अब उहाँहरुले हामीलाई गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड देख्न चाहनुहुन्छ नै । हामीले होइन पनि भनेका छैनौँ, हो पनि भनेका छैनौँ । हामीलाई पनि खुसी नै लाग्छ । हाम्रो पनि बेस्ट जोडी भएर चिनिने इच्छा छ । हाम्रो जोडीलाई देखेर अरूले पनि केही सिकून् भन्ने लाग्छ ।

आश्माजीलाई सोधाँै । सरोजलाई अघि ‘वल्र्डकै बेस्ट लिडर’ भनेर तारिफ गर्नुभयो । ‘वल्र्डकै बेस्ट हस्बेन्ड’ बनाउने चाहना भने छ कि छैन ?
आश्मा– त्यो त थाहा छैन । समयले बताउला । तर चाहना त मेरो मात्रै हो र, सबै केटीको छ नि ।
सरोज– (हल्का लजाउँदै) त्यस्तो त होइन हौँ !
आश्मा–हो नि, धेरै केटी तपाईंको फ्यान छ । जे हो, जो उहाँको वाइफ हुन्छ त्यो एकदमै लक्की हुन्छ ।

आश्मा पनि त्यस्तै हो तपाईंका लागि ?
सरोज– आश्मा त मेरा लागि धेरै ठूलो हो । म त सधैँ भन्ने गर्छु, तिमी त लक्की चार्म हौ । ग्रुप माथि पुग्नमा उनको ठूलो हात छ ।

भनेपछि आश्मालाई श्रीमती बनाउँदा त घरको पनि चार्म बढ्नेरैछ ! (हाँस्दै)
सरोज– लाइफ हो, केही कुरा भन्न सकिन्न । कतिखेर के हुन्छ, कसलाई थाहा ? मेरो सपना भनेको सुरुमा मेरा अरु साथीहरु सबै लाइफ बनोस् भन्ने छ । अहिले यस्तो गर्ने भनौँला, पछि भएन भने के गर्ने ? फेरि मलाई प्रेमी–प्रेमिका भनेर अघि बढ्नुभन्दा एउटा राम्रो साथी भनेर अघि बढ्दा राम्रो हुन्छ भन्ने लाग्छ । बरु पछि जे हुन्छ, हुन्छ ।

आखिर नाम जे दिए पनि सम्बन्ध त त्यही हो, हैन र ?
सरोज–आश्मा– (मुन्टो हल्लाउँदै दुवै मुस्कुराए मात्र)

सरोजको सबैभन्दा बढी के मनपर्छ आश्मालाई ?
सरोज– के मनपर्छ तिम्लाई (हाँस्दै) ?
आश्मा– (मुस्कुराउँदै) एकदमै मोटिभेसनल हुनुहुन्छ । मोटिभेट गरिरहनुहुन्छ । आफ्नो करिअरप्रति एकदमै फोकस्ड हुनुहुन्छ । मिहिनेत गर्नुहुन्छ । केटीहरुलाई रेस्पेक्ट गर्नुपर्छ । धेरै छ राम्रो बानी त जुन मलाई मनपर्छ ।

अनि, सरोजलाई आश्माको नि ?
सरोज– उनी एकदम सोझो र मिहिनेती छन् । जे होस्, कहिल्यै पनि नाई भन्दिनन् । यति हिट भइसकेको छ, तैपनि कहिल्यै भाउ खोज्दिनन् । उनले हाम्रो ग्रुपका लागि धेरै प्रोजेक्टहरु छाडेकी छिन्, धेरै फिल्महरु छाडेकी छिन् । जुन पछि एकदमै हिट पनि भएका छन् ।
आश्मा– त्यो त तपाईंले पनि छोड्नभाको छ नि !
सरोज– उनलाई सोलो अफर एकदमै धेरै आउँछ । बाहिरतिरको प्रोग्राममा पनि एकदमै धेरै बोलाउँछन् । तर, उनले ग्रुपका लागि कम्प्रोमाइज्ड गरेरै कहीँकतै जाँदिनन् । यति त कोही पनि मान्छेले कसैका लागि गर्न सक्छ भन्ने नै लाग्दैन । अलिकति फाइदा पायो भने ग्रुप छोडेर गइदिनेहरु पनि धेरै देखेको छु मैले । तर, उनी ठूल्ठूलो अफर ग्रुपकै कारण गर्दिनन् । म त फिल्म खेल भनिरहेको हुन्छु । मलाई पनि मन छ, उनलाई हिरोइन भएको हेर्ने । तर मान्दै मान्दिनन् ।

किन नमान्नुभएको नि ?
आश्मा–ग्रुपसँग छुट्टिएर काम गर्नै मन लाग्दैन ।

सरोजसँग जोडी बाँध्न पाउनुभयो भने खेल्नुहुन्छ ?
आश्मा स् अँ, खेल्छु । हाम्लाई आको पनि हो तर स्क्रिप्ट चित्त नबुझेर खेलेनौँ ।
सरोज– त्यो पनि हो । फेरि फिल्ममा टाइम दिँदा ग्रुप टुक्रिएला भन्ने डर लाग्छ । त्यसैले ग्रुपलाई नै अगाडि बढाउनेतिर लागेका छौँ । आज हामी दुईजना जुन स्थानमा छौँ, त्यो त टिमले गरेर हो । त्यसैले त्यो टिमलाई आज बिर्सनु त भएन नि । त्यसैले हामी जुन कुराले टिमलाई फाइदा पुग्छ, त्यो मात्रै गर्छाँै ।

भ्यालेन्टाइन्स डे कसरी मनाउँदै हुनुहुन्छ नि ?
सरोज– खोइ मुभी हेर्न जान्छौँ होला कि !
आश्मा –हामी त जे मनाउँदा पनि ग्रुपमै हो । भ्यालेन्टाइन्स पनि, क्रिसमस पनि, सबै ।
सरोज– उनी त घुम्न जाउँ भनिरहन्छिन् तर भ्याइँदैभ्याइँदैन ।

तपाईंहरुको अनुभवमा सम्बन्धलाई बलियो बनाउन सबैभन्दा महत्वपूर्ण के हुने रहेछ ?
सरोज– मुख्य त एकअर्कालाई बुझ्नुपर्‍यो । कसरी खुसी हुन्छ, थाहा हुनुपर्यो ।
आश्मा– लभ त भइहाल्छ । सँगसँगै विश्वास र समझदारी पनि हुनुपर्छ ।

तपाईंहरु एकअर्कालाई कत्तिको प्रेम गर्नुहुन्छ ?
सरोज– प्रेम भएरै त अहिलेसम्म सँगै छौँ । हाम्रो त सपना भनेकै विश्वकै बेस्ट कपल बन्ने हो । ड्याडीममीहरुले पनि हामीलाई संसारकै सबैभन्दा राम्रो जोडी भन्नुहुन्छ ।
आश्मा– अँ, काम पनि सधैँ सँगै गर, छुट्टिएर नगर भन्नुहुन्छ ।

भनेपछि घरमा पनि ज्वाइँ र बुहारी बनाउने हतारो छ ?
सरोज– बिहेको त कुरा कहिल्यै निस्किँदैन । पहिला लाइफ बनाउने कुरा नै आउँछ ।
आश्मा– ज्वाइँ बनाउने कुरा त हुँदैन तर तिमीहरुको जोडी खुब मनपर्छ भनेर भन्ने भने गर्नुहुन्छ । हाम्रो जोडीलाई लिएर आएका कमेन्ट पढ्नुहुन्छ । मलाई पनि हाम्रो कपल वल्र्डकै बेस्ट कपल होस् भन्ने लाग्छ ।

तपाईंहरुको नजरमा प्रेम के हो ?
आश्मा– प्रेम भनेको एकअर्कालाई बुझ्नु हो, उसको चाहनालाई बुझ्नु हो, एकअर्कालाई सम्मान गर्नु हो, विश्वास गर्नु हो ।
सरोज– प्रेममा एकअर्कालाई खुसी राख्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । कहिल्यै एकअर्कालाई सँगै हुँदा बोर हुनुभएन ।

अहिले एकदमै व्यस्त भइरहेका बेला ती संघर्षका दिनलाई कसरी सम्झिनुहुन्छ ?
सरोज– खुसी लाग्छ । त्यति बेला दुःख गरियो र त, आज यहाँसम्म आइपुगियो । मसँगै दुःख गरेका सबै साथीहरु छुट्टिएर जाँदा पनि मैले हरेस खाइनँ । अरु ग्रुपका साथीहरु मिलाएर भए पनि कार्टुन्ज क्रु लाई जोगाएँ । पहिले छोडेका साथीहरु अहिले विदेशबाट फर्केर आएको बेला ‘तैंले चाँही गरेर देखाइस्’ भन्दाजस्तो खुसी त कहिल्यै लाग्दैन । नेपालमै बसेर पनि परिवार पाल्न सकिरहेको छु, यो भन्दा ठूलो कुरा के हुन सक्छ र !

आश्मा– धेरै खुसी लाग्छ । धेरै नराम्रा दिनहरु पनि थिए । ती भोगाइहरुबाट धेरै सिकियो पनि । जे होस्, परिस्थितिलाई सामना गर्दा जे पनि सम्भव रहेछ भन्ने लाग्छ ।

सरोज– फिल्मजस्तै हुँदोरहेछ क्या लाइफ । एकचोटी सम्झियो भने त्यस्तै लाग्दोरहेछ । सँगै बसेर पनि हामी रोएका छौँ । दुःखको समय थियो । ग्रुपबाट एकजना साथीले छोड्दा पनि आँखाबाट तपक्क आँसु आउँथ्यो । त्यतिबेला सोच्दाखेरी, फिल्ममा पनि यस्तै हुन्थ्यो है भन्ने लाग्थ्यो ।

तपाईं दुईजना त दुःख पनि सँगै, सुःखमा पनि सँगै है ?
सरोज– हो, हामी धेरै दुःखको टाइममा पनि सँगै थियो, अहिले अलिअलि सुःख मिल्दा पनि सँगै छौँ । पछि पनि सँगै होस्, त्यही चाहन्छौं हामी ।

बिहे कहिले गर्ने योजना छ त ?
सरोज– पहिला मेरा साथीहरु सबैको लाइफ सेटल गराउने, अनि मात्रै हामी गर्ने हो । किनभने मैले मेरा साथीहरु सबै अभिभावकलाई प्रमिस गरेको छु, नाचेरै भविष्य बन्छ भनेर । त्यसैले पहिला अरुको लाइफ बनाएर मात्र हामी हाम्रो लाइफबारे सोच्छौँ ।

आश्मा–हो (मुन्टो हल्लाउँदै) ।
शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्