Tuesday 10th of December 2019

एकीकृत नमुना बस्तीको काम धमाधम

खोटाङ । जिल्लाको विजयखर्कमा निर्माणाधीन एकीकृत नमुना बस्तीको निर्माण कार्य दु्रत गतिमा अगाडि बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कमा निर्माण भइरहेको रामनाथ एकीकृत नमुना बस्तीको कामले गति लिइरहेको हो । एक घर एक उत्पादनको लक्षका साथ निर्माण सुरु गरिएको एकीकृत बस्तीमा भूकम्पपीडितका २० र अन्य चार भूकम्प प्रतिरोधी घर बन्ने जनाइएको छ ।

बस्तीका लागि स्थानीय शारदाप्रसाद ढकालले निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए । बस्तीका लागि जग्गा प्राप्त भएपश्चात् नगरपालिकाले पुनर्निर्माण प्राधिकरण र उपभोक्ता समितिसँग सम्झौता गरेपछि बस्तीको निर्माण कार्य अगाडि बढेको हो । नेपाल सरकारको अवधारणाअनुरुप नगरपालिकाको पहलमा निर्माण कार्य थालिएको उक्त एकीकृत बस्तीलाई देशकै नमुना बस्ती बनाइने नगरप्रमुख दिपनारायण रिजालले बताएका छन् ।

भूकम्पपीडितलाई पुनर्निर्माण प्राधिकरणले आवास निर्माणका लागि उपलब्ध गराउने तीन लाख र प्राधिकरण तथा नगरपालिकाले बाँकी रकम लगानी गर्नेगरी निर्माण थालिएको बस्तीको लागि घडेरी खार्ने, नक्सा बनाउने, नक्सा पास गर्ने र आवश्यक प्राविधिक सहयोग प्रदान गर्नेलगायतका काम नगरपालिकाले गरेको छ । होमस्टेको अवधारणाअनुसार निर्माण भइरहेको बस्तीका १२ घरहरुको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगिसकेको र बाँकी घरहरुको कामले पनि गति लिइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माणाधीन बस्तीमा सामुदायिक भवनका साथै बालबालिकाकामैत्री पार्क निर्माण गरिने समितिको भनाइ छ ।

विजय खर्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै त्यहाँको पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको तयारी रहेको नगरप्रमुख रिजालले बताएका छन् । नगर प्रमुखले भने, ‘नगरपालिकाभित्रका प्रत्येक वडामा एक–एक वटा नमुना कार्यक्रम गर्ने नगरको योजना अनुसार विजयखर्कमा निर्माणाधीन एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धनको योजनामा नगरपालिका लागेको छ ।’ सडक सञ्जालको राम्रो पहुँच भएको विजयखर्कबाट हिम शृङ्खला तथा तराईका भू–भागहरुको समेत दृश्यावलोकन गर्न सकिने भएकोले यहाँ पर्यटनको प्रबल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्