Sunday 22nd of September 2019

भारत–पाकिस्तान विभाजनपछि भएका महत्वपूर्ण घटना

नयाँदिल्ली । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने ।

स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन । सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

हाल भारत र पाकिस्तानमाझ पुनः चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्वपूर्ण घटनाको सक्षिप्त विवरण––अक्टोबर १९४७ः भारत र पाकिस्तानबीच पहिलो युद्ध । स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए ।

–अगस्ट १९६५ः कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध ।
–डिसेम्बर १९७१ः भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बंग्लादेश) मा अतिक्रमण । इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन । भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण । बंग्लादेशको स्थापनासँगै युद्धको अन्त्य ।
– सन् १९८९ः कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी ।
–फेब्रुअरी १९९९ः भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान ।
–मे १९९९ः पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा । सीमित द्वन्द्व सुरु । भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता ।
– मे २००१ः भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन ।

– अक्टोबर २००१ः श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण । ३८ जनाको मृत्यु ।
–१३ डिसेम्बर २००१ः दिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु ।
–फेब्रुअरी २००७ः भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट । ६८ जनाको मृत्यु ।
–२६ नोभेम्बर २००८ः विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण । ६० घण्टे घटनामा १६६ जनाको मृत्यु । भारतद्वारा पाकिस्तानमा रहेको लश्कर–ए–तइबा समूहमाथि दोष ।
–जनअरी २०१६ः पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु ।

–१८ सेप्टेम्बर २०१६ः भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला । १९ सैनिकको मृत्यु ।
–३० सेप्टेम्बर २०१६ः भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक’ गरेको भनाइ । पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार ।

–१४ फेब्रुअरी २०१९ः कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट । अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु । पाकिस्तानमा रहेको जैश–ए–मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार ।

–२६ फेब्रुअरी २०१९ः भारत–पाकिस्तान सीमा उल्लंघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण । लडाकु समूह जैश–ए–मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ ।

प्रतिक्रिया दिनुहोस्