Tuesday 31st of March 2020

भवन अभावमा तीन ठाउँबाट चल्छ वन मन्त्रालय

काठमाडौं । भवन अभावमा वन तथा वातावरण मन्त्रालय सिंहदरबारभित्रै तीन ठाउँबाट सञ्चालन भइरहेको छ । दुई महाशाखासहित १० शाखा कानुन र पर्यटन मन्त्रालयको भवनमा राखिएका छन् ।

संघमा २२ मन्त्रालय मात्रै राख्ने सरकारको निर्णयपछि तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालय खारेज गरी वातावरणलाई वन मन्त्रालयमा गाभिएको थियो । त्यसपछि मन्त्रालयमा ठाउँको अभाव भएको हो ।

एउटै मन्त्रालय तीन ठाउँबाट सञ्चालन हुँदा काममा ढिलाइ हुनुका साथै पानी पर्दा महत्वपूर्ण कागजपत्र पनि भिज्ने गरेको मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले बताए ।

कानुन मन्त्रालय रहेको भवनमा सबैभन्दा माथिल्लो तलामा जलवायु परिवर्तन व्यवस्थापन महाशाखा र त्यसअन्तर्गतका पाँच शाखाहरू राखिएका छन् । महाशाखाअन्तर्गत जलवायु परिवर्तन शाखा, अनुकूलन शाखा, जलवायु प्राविधिक विकास शाखा, उत्सर्जन मापन शाखा र स्वच्छ संयन्त्र शाखा रहेका छन् ।

त्यस्तै, पर्यटन मन्त्रालयको भुइँतला र पहिलो तलामा वातावरण तथा जैविक विविधता महाशाखासहित पाँच शाखा राखिएका छन् ।

जहाँ १९ कर्मचारी कार्यरत छन् । महाशाखाअन्तर्गत वातावरण मापदण्ड तथा अनुगमन शाखा, वातावरणीय प्रभाव अध्ययन शाखा, आयोजना सहजीकरण शाखा, जैविक विविधता शाखा र वन जैविक प्रविधि शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्