Thursday 27th of February 2020

पाठक घूस प्रकरणमा एसएसपी धीरजप्रताप सिंहको भूमिकाको पर्दाफास

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घूस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घूस लिएको स्विकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ ।

‘भिडियो प्रकरणमा प्रत्यक्ष जोडिएका केही व्यक्तिसँग बयान सुरु भइसकेको छ, उनीहरूले प्रमाण नष्ट गर्न पाठकले एसएसपी सिंहलाई परिचालन गरेको बयान दिएका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउनेदेखि सादा कागजमा बयान गराएकोसम्म खुलेको छ ।’

अख्तियार स्रोतका अनुसार महाशाखा प्रमुख सिंहसहित साइबर अपराधसमेत हेर्ने महाशाखाको पिलर ४ का डीएसपीलगायतको टोलीले पटक–पटक धरपकडदेखि दुर्व्यवहार गरेको बताएका छन् ।

लोकमानकै लय
रकम बुझाउने ज्ञानेन्द्र झाका अनुसार अख्तियार आयुक्त पाठकले दुईपटकमा ४० र ३८ लाख गरी कुल ७८ लाख रुपैयाँ घूस बुझेका थिए भने पाठककै निर्देशनमा १५ लाख रुपैयाँ उनका भाइ शुभनारायणलाई बुझाइएको थियो । घूस बुझाएर पनि काम नभएपछि झाले राजनारायण र शुभनारायणसँग रकम फिर्ता माग्न थाले । रकम फिर्ता माग्दै शुभनारायणलाई सन्देशहरू पठाउन थाले । त्यसपछि राजनारायणले एसएसपी सिंहलाई प्रयोग गरेर धरपकड गर्ने रणनीति बनाए ।

‘भिडियो खिचेको पत्ता पाउनासाथ पाठकले प्रहरीमार्फत हामी दुवै जनाको फोन निगरानीमा राखेर जासुसी गरिसकेका रहेछन्,’ झाले भने, ‘केही दिनमै एसएसपी सिंहको टोलीले हामीलाई पक्राउ गरेर लग्यो ।’ प्रहरीले सुरुमा शुभनारायणलाई किन धम्क्याएको भनेर केरकार गरेको थियो । ज्ञानेन्द्र र ध्वजमानले उजुरी देखाउन चुनौती दिएपछि सिंहले आफैं धम्क्याउन थाले । भिडियो खिच्ने ध्वजमानले सिंहको भनाइ उद्धृत गर्दै भने, ‘सानो भएर ठूलो मान्छेसँग जुध्ने ? के सोच्नुभएको छ ? सिरियस केस हो । इन्काउन्टर पनि हुन सक्छ ।’

आफूहरूमाथि धरपकड गरे ठीक नहुने भनी मोक्तानले सोझै पाठकलाई फोन गरेर चेतावनी दिए । त्यसपछि केही दिन शान्त भएका पाठकले ‘आफू कामको सिलसिलामा थाइल्यान्ड जाने’ बताए । सोही दिन फेरि दुवै जनालाई अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गर्‍यो र दुवैको पृष्ठभूमि बुझ्नेदेखि अन्य व्यक्तिगत विवरणबारे जानकारी माग्यो । प्रहरीले लिखित बयानसमेत लियो । ‘किन शुभनारायणलाई धम्क्याएको ?’ भन्ने सवाल गरेपछि झाले ‘शुभनारायणले आफ्नो दाइ (राजनारायण) को दम्भमा १५ लाख रुपैयाँ मागेर लगेको तर फिर्ता नगरेको’ लिखित जवाफ दिए ।

‘बयान क्रममा कागजमा खाली ठाउँ राखिएको देखेपछि किन त्यसो गरेको भनेर मैले निहुँ खोजेको थिएँ,’ मोक्तानले भने, ‘हाम्राविरुद्ध झूटो प्रमाण थपेमा ठीक हुँदैन भनेर हिँडेको थिएँ ।’ झाका अनुसार आफूहरूविरुद्धको उजुरी देखाउनुस् भन्दा प्रहरीले सुन्दैनथ्यो । केवल बोलाएर खाली नेपाली कागजमा बयान गराउने, छाड्ने र फेरि बोलाउने गरिरहेको थियो । बीचमा एसएसपी सिंहले बोलाउने, महाशाखामै राख्ने र बयान नलिई फर्काउने गर्न थालेको मोक्तानको भनाइ छ ।

प्रहरीले सुरुमा झामाथि केन्द्रित रहेर धरपकड गरेको र पछि भिडियो खिच्ने मोक्तानलाई पनि बयानमा बोलाउन थालेको उनीहरूको भनाइ छ । मोक्तानलाई पटक–पटक प्रहरीले तारिखमा बोलायो । पछि महाशाखाबाट उनीहरूको बयानको फाइल नै गायब पारिएको स्रोतले बतायो । ‘लोकमानकै शैलीमा फेरि पनि प्रहरी प्रशासनको दुरुपयोग गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘उनीहरू पक्राउ परेको, बयान लिएको लगायत कुनै पनि प्रमाण यहाँ भेटिँदैन ।’

दुवैले सल्लाह गरेर प्रहरीलाई दिएको बयानमा ‘आयुक्त पाठकले आफूहरूसँग घूस लिएको र त्यसकै बदलास्वरूप दुःख दिएको’ भनी सहीछाप गरेका थिए । एक दिन सडकमा हिँडिरहेका बेला एउटा भ्यानमा आएका १२ जनाजतिको समूहले झालाई कब्जामा लियो र झालाई सोझै प्रहरीको अपराध अनुसन्धान महाशाखा पुर्‍यायो । उनले निकै अनुरोध गरेपछि आधा घण्टामा प्रहरीले फोन गर्न अनुमति दियो । अनि साथी मोक्तानलाई घटनाबारे जानकारी गराए । ‘सबै कुरा थाहा पाएपछि मैले सोझै पाठकलाई फोन गरेर झालाई नछाडे तत्काल भिडियो सार्वजनिक गरिदिने धम्की दिएँ,’ मोक्तानले कान्तिपुरसँग भने, ‘त्यसको केहीबेरमा उहाँलाई छाडियो ।’

प्रहरीले केही दिनपछि मोक्तानलाई समेत बोलाएर यातना दिन थाल्यो । बारम्बार महाशाखाका प्रहरीले यातना दिन थालेपछि झा र मोक्तानसहित अन्य केही सहयोगीसहित प्रहरी कार्यालय पुगे । उनीहरूले आफूमाथिको उजुरी र त्यसको प्रमाण माग्दै बिनाआधार यातना दिए पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजनिक गरिदिने चेतावनी दिए । त्यसपछि उनीहरूले एक नेताको सहयोगमा भिडियोबारे जानकारी गराए ।

गृह मन्त्रालयमा आफूहरूमाथि धरपकड भएको उजुरी दिएपछि अपराध अनुसन्धान महाशाखाले सक्रियता देखाउन छाड्यो । अपराध अनुसन्धान महाशाखाका एसएसपी सिंह र उनको चार नम्बर पिलरको टिम केही पछि हटेको उनीहरू बताउँछन् ।

सबैतिरबाट ट्र्याप
महानगरीय प्रहरीको अपराध अनुसन्धान महाशाखाले शुभनारायण पाठकको उजुरी र त्यसक्रममा भएको धरपकडको सबै कागजात गायब बनाए पनि विभिन्न स्रोतबाट त्यससम्बन्धी प्रमाण सुरक्षित रहेको भेटिएको छ । एकबाहेक विभिन्न स्रोतबाट समेत प्रमाण संकलन भइरहेको अख्तियार स्रोतले बतायो ।

अडियो कुराकानीको एक भागमा तत्कालीन आयुक्त पाठकले ज्ञानेन्द्र झालाई आफूहरूबीचको कुराकानी बाहिर लिक भएको भन्दै केरकार गर्न खोजेका छन् । झाले समेत त्यसो भएको भन्दै जवाफमा भनेका छन्, ‘मलाई पनि यो ठीक लागेन । कसले यो गरिरहेछ ?’ जवाफमा पाठकले प्रमाण नष्ट गर्ने उपाय सुझाएका छन् । भन्छन्,‘अडियो रेकर्ड गर्ने व्यक्ति पत्ता लागेमा प्रहरीलाई भनेर ५ मिनेटभित्र छापा मार्न र सबै भिडियो सिज गर्न सकिन्छ । त्यो कुनै गाह्रो काम होइन ।’

भिडियो खिच्ने ध्वजमान मोक्तानले कान्तिपुरलाई उपलब्ध गराएको भिडियो फुटेजमा समेत महाशाखा प्रमुख सिंहको संलग्नता देखिन्छ । आयुक्त पाठकको कार्यकक्षमै गएर भिडियो खिचेका मोक्तानसँग सवालजवाफमा पाठकले सिंहको संलग्नता स्विकारेका छन् ।

‘हुँदाहुँदा तपाईं महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुखलाई नै प्रयोग गरेर ज्ञानेन्द्र झाजीलाई पक्राउ गर्नुभएछ हैन, यो ठीक भएन,’ मोक्तानले भनेका छन् । उनी सादा कागजमा किन बयान गराएको र बीचमा खाली ठाउँ राखेर षड्यन्त्रपूर्ण व्यवहार गरेको भन्दै झोक्किएपछि पाठकले आफ्ना भाइ शुभनारायणले मौखिक उजुरी दिएकाले प्रहरीले सम्झाउनुपरेको जवाफ दिएका छन् । उनले भनेका छन्, ‘ज्ञानेन्द्रले मेरो भाइलाई धम्क्याएछ, भाइले उजुरी दिएकाले यसो सोधपुछ गरेको होला, म अहिले नै रोकिदिन्छु ।’@ kantipur

प्रतिक्रिया दिनुहोस्