Sunday 29th of March 2020

भारतमा प्रतिबन्ध लागेपछि नेपालमा प्याराग्लाइडिङमा प्रतिबन्ध

पोखरा । पर्यटकीय नगरी पोखराको प्रमुख गन्तव्य स्थान हो, सराङकोट । त्यसमा पनि चर्चित हो, प्याराग्लाइडिङ । तर, पछिल्लो समय दैनिक रूपमा यो दुर्घटनाको सिकार बन्न थालेको छ । त्यसमा पनि चिन्ताको विषय बनेको छ मानवीय क्षति ।

पछिल्लो तीन दिनभित्र चारवटा प्याराग्लाइडिङ दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भए । ‘२०१९ हिमालयन कप’ दिएर आयोजना भइरहेको प्रतियोगितामा दिनदिनै यसरी मृत्यु हुन थालेपछि यसबारे नयाँ खुलासा भएको छ । भारतमा रोक लगाएपछि यो प्रतियोगिता नेपालमा ल्याएर गरिएको खुलेको हो ।

मंगलबार सराङकोटबाट सोलो उडान भर्ने क्रममा रसियाली प्याराग्लाइडर बिएमआई डेभिलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार सराङकोटबाट बिहान ११ बजेर ३५ मिनेटमा प्याराग्लाइडिङ दुर्घटना भएको हो । ‘उडान भर्नेबित्तिकै प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । गम्भीर घाइते रसियाली नागरिकलाई उद्दार गरी पोखराको मेट्रो सिटी अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममै निधन भएको हो’, उनले भने ।

यसअघि, गत आइतबार अवतरणका क्रममा प्याराग्लाइडिङ फेवा तालमा खस्दा रोमानियाका प्याराग्लाइडर इडिइ सिस्जरको मृत्यु भएको थियो । प्रहरीका अनुसार अवतरणका क्रममा हावाको चापको सन्तुलन नमिल्दा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

रुसको एयर स्पोर्टस क्लबको नाममा भारतको हिमाञ्चल प्रदेशमा पर्ने वीर बिलिङमा प्रतियोगिताको क्रममा दिनदिनै पाइलटहरूको मृत्यु भएपछि त्यहाँको सरकारले नै यो प्रतियोगिता आयोजनामा रोक लगाएको थियो । ‘भारतमा रसियनहरूलाई प्रतियोगिता गर्न रोकेपछि उनीहरू नेपाल आएका हुन्’, पोखराका एक पाइलटले नाम नबताउने सर्तमा भने, ‘यहाँको हवाई खेलकुद संस्था (ना) का केही मान्छेलाई प्रभावमा पारेर उनीहरूले यहाँ प्रतियोगिता गरेका हुन् ।

रुसको हवाई खेल महासंघको नाममा यतिबेला पोखरामा ‘२०१९ हिमालयन कप’ भन्ने प्याराग्लाइडिङको प्रतियोगिता भइरहेको छ । सो प्रतियोगिताका बारेमा नेपालका कुनै पनि सरकारी निकायलाई आधिकारिक रूपमा जानकारी नगराइएको स्रोतले बताइएको छ । सो प्रतियोगितामा भाग लिन रुसलगायत देशका करिब ३ सय पाइलट पोखरामा छन् ।

प्याराग्लाइडिङको लागि रुसका पाइलटहरू भरपर्दा मानिन्छन् । तर, सिकारुहरूलाई जम्मा पारेर प्रतियोगिता गरिएकोले दिनहुँ दुर्घटना बढेको हो । पोखराका स्थानीय व्यापारीले पनि यसरी सिकारु पाइलट ल्याएर प्रतियोगिता गर्दा दिनहुँ हुने दुर्घटनाका कारण विश्वमा पोखराको छवि नै नकरात्मक पर्ने भन्दै दुखेसो पोखेका छन् । उनीहरूले यस्ता विषयमा सम्बन्धित निकायले नियमन गर्नुपर्ने मागसमेत गरेका छन् ।

दिनदिनै हुने दुर्घटनाका कारण ‘पर्यटन उद्योग’मा नै नकारात्मक असर परेपछि हिमाञ्चल सरकारले प्रतियोगिता बन्द गरिदिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए । यस्तै, नकारात्मक असर पुनः नेपालको पर्यटन उद्योगमा पर्ने देखेर व्यवसायी चिन्तित छन् ।

प्याराग्लाइडिङ उडान बन्द

तीन दिनयता पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ । विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ ।

प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो १० दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताए । विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्