Thursday 27th of February 2020

समाज सेवा गर्न नेपाल फर्केका ब्रिटिस–लाहुरे जुवा तासको लतले बने कङ्गाल

काठमाडौं । पुर्ख्याैली घर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकास प्राप्त ब्रिटिस–लाहुरे (ब्रिटिस गोर्खा सैनिक) हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् ।

साथी सङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन् । केही दिनअघि गोंगबुस्थित जुवाखालबाट समातिएका मगर त्यसअघि पनि तीन पटक पक्राउ परिसकेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मगरसहित पक्राउ परेका नौ जनालाई जुवा खेलेको आरोपमा पक्रिएको छ । जुवाडेको साथबाट नगद नभई किलो भन्दा बढी मकैको गेडा र सिमीको दाना बरामद गरिएको छ । परिसर प्रमुख बसन्तकुमार लामाका अनुसार प्रहरीको आँखा छल्न र जुवा खेललाई सहज बनाउन नगदको सट्टा मकै र सिमी प्रयोग गर्छन् ।

काठमाडौँ उपत्यकामा सञ्चालित अबैध जुवाअखडाहरूमा नगदको सट्टा यस्तै गेडागुडी प्रयोग गरी जुवातास खेल्दाखेल्दै कतियय पूर्व ब्रिटिस लाहुरे मगर जस्तै सङ्कटमा परेका छन् । गोकर्णेश्वर जोरपाटीबाट पक्राउ परेका वाङ्गेल लामा भन्छन्, ‘जुवाखालमा हार्दा सिमीको दाना हारेको जस्तै हुन्छ तर, त्यसलाई पछि नगदमा रुपान्तरण गर्दा घरजग्गा नै गइसकेको हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्