Monday 20th of May 2019

हिट बन्दै ‘लुका छुप्पी’

[mashshare]

मुम्बई । बलिउड चलचित्र ‘लुका छुप्पी’ ले ५ दिनमा ५५ करोड भारु कमाएको छ । यो चलचित्रले विश्वव्यापी रूपमा यो रकम कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको यस चलचित्रले ‘लिव इन’ मा बसेर विवाह गर्ने निर्णय गरेपछिको घटनालाई प्रस्तुत गरेको छ । हास्यप्रधान यस चलचित्रमा कार्तिक र कृतिका बीच घट्ने विविध घटनाक्रमको सेरोफेरोलाई कलात्मक रुपमा उठान गरेको छ । लक्ष्मण उतेकरले निर्देशन गरेको यस चलचित्रले राम्रो सुरूवाती व्यापारसमेत गरेको छ ।

यसले चलचित्र रिलिजको पहिलो दिनमै ८.०१ करोड भारू कमाएको थियो । शनिबार १०.०८ करोड, आइतबार बिदाको दिन १४.०४, चौथो दिन ७.९० करोड, मंगलबार ५.०४ करोड कमाइ गरेको छ । यसरी भारतबाट कुल ४५.०७ करोड भारू कमाएको सिनेमाले बाँकी कमाइ भारतबाहिर गरेको हो ।

शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृतिले सफलताका लागि धन्यवाद दिँदै प्रसाद समेत बाँडेकी थिइन् । मुम्बईस्थित एक शिव मन्दिर पुगेर उनले मन्दिर परिसरमा रहेका मानिसलाई प्रसाद बाँडेकी हुन् । अभिनेता कार्तिकसँग कृतिले जोडी बाँधेको यो चलचित्रले उनलाई सफलता दिलाएको भन्दै त्यसको खुसीयालीमा उनी मन्दिर पुगेको जनाइएको छ । कमाइसँगै उनले यस चलचित्रबाट आफ्नो कामको लागि निकै तारिफ पाएकी छन् । त्यस्तै, उनले यसअघि सिनेमाघरहरूमा पुगेर प्रशंसकलाई आश्चर्यमा पार्दै ‘लुका छुप्पी’ को टिकटसमेत बेच्न भ्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्