Wednesday 22nd of January 2020

एयरबसको इन्जिन मर्मत ठेक्का रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरित हुने निष्कर्ष निकाल्दै निगमलाई पूरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। मूल्यका हिसावले समेत पूरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले सोही अनुसारको निर्देशन निगमलाई दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए।

समितिको यस अघि बसेको बैठकले सो टेन्डर प्रक्रियामा घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान मर्मत तथा इन्जिन भाँडामा लिने सम्बन्धि ठेक्का प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो। सस्तोमा टेण्डर गरेको लुप्थान्सालाई समेत सो ठेक्का प्रक्रियामा सहभागी गराउन पनि निगमलाई समितिले निर्देश गरेको छ। निगमले प्रभावग्राही नभएको भन्दै सो ठेक्का प्रक्रियाबाटै लुप्थान्सालाई हटाएको थियो। तर समितिले छानवीनको क्रममा सो कम्पनीको इन्जिन मर्मतको ठेक्का सार्वजनिक खरिद ऐन र निगमको आर्थिक विनियमावली अनुसारनै रहेको ठहर गरी सो ठेक्का प्रक्रिया नहटाउन निगमलाई सचेत गराएको हो। बैठकमा समितिका सदस्यहरुले निगमले अरबौंको घाटा मुलुकलाई हुने गरी सो विमानको इन्जिन ममर्तसम्बन्धि ठेक्का प्रक्रिया रद्द गरेको भन्दै आपत्ति जनाएका थिए।

समितिका सदस्य डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई डुबाएको र इन्जिन मर्मत सम्बन्धि सो टेन्डर प्रक्रिया पनि रद्द गराउने काम उनकै निर्देशनमा भएको भन्दै आक्रोश व्यक्त गरे। समितिका अर्का सदस्य प्रेम आलेले निगमले अरबौं घोटाला हुने गरी इन्जिन मर्मतका लागि नयाँ टेण्डर प्रक्रिया सुरु गर्न लागेको भन्दै आपत्ति जनाए। उनले नेपाल वायु सेवा निगमका कामकार्वाही राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गर्दैै त्यसमाथि समितिले कडा निगरानी राख्ने चेतावनी पनि दिए। समितिका सदस्य आलेले नेपाल वायु सेवा निगमले किन सस्तोमा काम गर्ने कम्पनीलाई टेन्डर प्रक्रियाबाट हटाएको भनि आक्रोश पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्