Wednesday 26th of February 2020

मेलम्चीको बाँकी काम सम्पन्न गर्न तीन अर्ब लाग्ने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न तीन अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास आयोजनाले तयार गरेको नयाँ विस्तृत लागत अनुमान अनुसार रू. तीन अर्ब लागत लाग्ने देखिएको हो । समितिले बाँकी कामका लागि लाग्ने विस्तृत लागत अनुमान तयार गरेको छ ।

ठेक्का सम्झौताका लागि कागजात तयार भई अनुमतिका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने जनाएको छ । तयार भएको लागत सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको समितिका सूचना अधिकारी राजेन्द्रराज पन्तले जानकारी दिनुभयो । यसै साता समितिमा निर्णयका लागि प्रस्तुत गरिने भएको छ ।

आयोजनाका अनुसार सुरुङको भुर्इं ढलान ४१० मिटर र रकसर्पोट ९५९ मिटर बाँकी छ । भेन्टिलेसनको काम भारतीय कम्पनीले गर्दै आएको छ । चारवटा गेट जडान भइसकेका छन् भने थप पाँच वटा गेट जडान गर्न बाँकी छ । हेडवक्सको काम बाँकी छ । केही पाइप जडानको काम पनि बाँकी रहेको पन्तले जानकारी दिनुभयो । आयोजनाले सुरुङ निर्माणका लागि हालसम्म २६ अर्ब ५४ करोड रुपियाँ खर्च गरिसकेको छ ।

आयोजना रोकिएको साढे दुई महिना पुग्दा पनि काम सुरु हुन सकेको छैन । गत पुस १ गते इटालियन निर्माण कम्पनी सीएमसीले काम छाडेर गएपछि आयोजना कसरी सम्पन्न गर्ने भन्ने अन्योल कायम छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा अहिलेसम्म निश्कर्षमा पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्