Tuesday 21st of January 2020

बुटवलको श्रम कार्यालयमा मन्त्रीको छड्के !

बुटवल । स्थापना भएको तीन महिना नपुग्दै बुटवलकोे श्रम तथा रोजगार कार्यालय स्थानान्तरण हुने भएको छ । श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्ट फाुगन २७ गते सोमबार श्रम कार्यालयको छड्के निरीक्षण गरेका थिए ।

निरीक्षणपछि उनले कार्यालय ५ दिनभित्र उचित ठाउँमा सार्न निर्देशन दिएका हुन् । कार्यालय साँघुरो भएकोले सेवाग्राहीका लागि असुविधान हुने भन्दै मन्त्री विष्टले कार्यालयका निमित्त प्रमुख बालकृष्ण थापालाई निर्देशन दिएका हुन् ।

कार्यालय साँघुरो ठाउँमा भएकोले लाइन लाग्नसमेत नमिल्ने भन्दै सेवाग्राहीहरुले पटकपटक सेवा लिन अफ्ठ्यारो भएको गुनासो आएका थिए । सेवाग्राहीले कार्यालय उचित ठाउँमा राख्न मन्त्रालयमा समेत आग्रह गरेको मन्त्री विष्टका स्वकीय सचिव मदन खनालले बताए ।

कार्यालयका निमित्त कार्यालय प्रमुख बालकृष्ण थापाका अनुसार मन्त्रीको निर्देशन अनुसार ५ दिनभित्र कार्यालय सार्न सम्भव नभएपनि कार्यालय भने सर्ने निश्चित भएको बताए । निजी घर भन्दा पनि सरकारी कार्यालय पाएमा कार्यालय सार्न सहज हुने उनको भनाइ छ ।

कार्यालयमा १४ जनाको दरबन्दी स्वीकृत छ । जसमा २ जना शाखा अधिकृतको दरबन्दी भएकोमा अहिले १ जना मात्रै शाखा अधिकृतबाट कार्य सम्पादन गर्नुपरेको उनले बताए ।

गत पुस १५ गतेदेखि बुटवलको चाँदबारीमा कार्यालय संचालनमा आएको थियो ।

श्रम कार्यालय बुटवलको कार्यक्षेत्र तत्कालीन लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र नवलपरासी रहेका छन भने राप्ती अञ्चलका ५ वटा जिल्ला रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठान गरी ११ वटा जिल्ला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्