Monday 20th of May 2019

२०१९ मा विश्वका यी ४३ देशमा हुँदैछ आम निर्वाचन

[mashshare]

काठमाडाैं । यो वर्ष भारतसहित विश्वका ४३ देशमा आम निर्वाचन हुँदैछ । यसमा सबैभन्दा धेरै मतदाताको संख्या बढी भएको देश भारत हो । यहाँ ९० करोड मतदाता छन् । इन्डानेशियामा यो वर्ष अप्रिलमा चुनाव हुँदैछ । यहाँ मतदाताको संख्या १९ करोड छ ।

अफ्रिकी देश नाइजेरियामा भने यो वर्ष ८.४ करोड मतदाता आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।

इटली नजिक रहेको सान मारिनोमा प्रत्येक छ महिनामा चुनाव हुने गर्छ । यहाँ वर्षमा दुई राष्ट्राध्याक्ष चुनिन्छ । सान मारियोमा यो व्यवस्था ७७६ वर्षदेखि चलिआएको हो ।

चुनावमा नेता चुन्ने सबै देशका आआफ्ना तरिका छन्, जसमा पहिला राष्ट्रपतिको चुनावमा मतदाता प्रत्यक्ष राष्ट्राध्याक्ष वा राष्ट्रपति छान्छन् । अर्को संसदीय प्रणाली, जसमा जनताद्धारा निर्वाचित जनप्रतिनिधि शासनाध्याक्ष वा प्रधानमन्त्री हुन सक्छन् । र तेस्रो चुनावी प्रणालीमा राष्ट्राध्याक्षसँगै राज्यका प्रतिनिधिको पनि चुनाव हुने गर्छ ।

२०१९ मा चुनाव हुने प्रमुख देश

मार्च : स्लोभाकिया, थाइल्यान्ड, युक्रेन, नाइजेरिया
अप्रिल : भारत, इजराइल, फिनल्यान्ड, इन्डोनेशिया, अल्जेरिया, स्पेन, उत्तर मेसेडोनिया, माली
मे : भारत, अष्ट्रेलिया, पनामा, दक्षिण अफ्रिका, लिथुआनिया, फिलिपिन्स, मलावी, बेल्जियम, नेदरल्यान्ड, चाड
जुन : लिबिया, ग्वाटेमाला, डेनमार्क, लात्भिया
जुलाई : गयाना, नाउरु, अफगानिस्तान
अक्टुबर : बोत्सवाना, क्यानडा, उरुग्वे, पोर्चुगल, मोजाम्बिक, ग्रीस, स्विट्जरल्यान्ड, अर्जेन्टिना, बोलिभिया
नोभेम्बर : मार्सल आइल्यान्ड, नामिबिया
डिसेम्बर : क्रोएसिया, डोमिनिका, रोमानिया, ट्युनिशिया

कुनकुन उमेरमा मतदान ?

विश्वका ९० प्रतिशत देशमा मतदान गर्न १८ वर्ष उमेर पुगेपछि पाइन्छ । तर सात देशहरु यस्ता छन्, जहाँ १६ वर्षको उमेरदेखि मतदान गर्न सकिन्छ । र पाँच देशमा २१ वर्षको उमेरपछि मताधिकार मिल्छ ।

अर्जेन्टिना, अष्ट्रिया, ब्राजिल, क्युबा, इक्वेडर, माल्टा, निकारागुआमा १६ वर्ष कटेपछि मतदान गर्न पाइन्छ ।

इथियोपिया, इन्डोनेशिया, दक्षिण सुडान, इस्ट टिमोरमा १७ वर्ष पुगेपछि मताधिकार प्रयोग गर्न सकिन्छ । दक्षिण कोरियाले १९ वर्ष उमेर पुगेका नागरिकलाई यो अधिकार दिएको छ । क्यामरुन र नाउरले २० वर्ष पुगेपछि भोट हाल्न दिने व्यवस्था गरेकाे छ। कुवेत, लेवनान, मलेसिया, ओमान, साेलाेमन आइसल्यान्डलगायतका देशमा २१ वर्ष उमेरपछि मतदान गर्न सक्ने व्यवस्था छ ।

न्युजिल्यान्डमा १२६ वर्षदेखि महिलाले मताधिकार पाएका छन् । १८९३ मा महिलालाई मताधिकार दिएपछि न्युजिल्यान्ड महिलालाई पहिलोपटक मताधिकार दिने विश्वको पहिलो देश बन्यो ।

१९५० मा विश्वको दुई तिहाइ देशका सबै नागरिकहरुलाई मताधिकार प्रदान गरिएकाे थियो । १९७१ मा स्विट्जरल्यान्ड अन्तिम युरोपियन देश बन्यो, जसले महिलालाई मताधिकार प्रदान गर्यो ।

१९९४ मा रंगभेदको अन्त्यपछि दक्षिण अफ्रिका सबै वयस्कलाई मताधिकार प्रदान गर्ने अफ्रिकी महाद्धीपको अन्तिम देश भयाे। अफगानिस्तानले महिलालाई मताधिकारबाट धेरै पटक बञ्चित गरेको छ । तर २००४ देखि भने महिलाले निरन्तर मताधिकार पाएका छन् ।

सबै देशमा चुनाव प्राय ४ वा ५ वर्षको अन्तरालमा हुन्छ । तर ३३ हजार जनसंख्या भएको सान मारिनोमा भने ६ महिनाको अन्तरालमा चुनाव हुन्छ । अष्ट्रेलिया, फिजी, नाउरु, न्युजिल्यान्डमा तीन वर्षमा आम निर्वाचन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्