Tuesday 26th of March 2019

वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या दोब्बर

एजेन्सी । वायु प्रदुषणका कारण असामयिक मृत्यु हुनेको दर अघिल्लो वर्ष भन्दा दोब्बरले वृद्धि भएको नयाँ रिपोर्टमा दाबी गरिएको छ। यस्तोमा विश्वभर ८८ लाखभन्दा बढी मानिसहरुले वायु प्रदुषणसँग सम्बन्धित कारणले नै ज्यान गुमाउने गरेको पाइएको हो।

विकसित युरोपेली राष्ट्रहरुमा समेत करिब आठ लाख मानिसको प्रदुषणकै कारण असामयिक मृत्यु भएको चिनियाँ राष्ट्रिय सञ्चार संस्था सिजिटिएनले जनाएको छ। वैज्ञानिकहरुले मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने ४०-८० प्रतिशत मानिसको आर्टरी धुलोधुँवाका कारण अवरुद्ध हुने गरेको पत्ता लगाएका हुन्।

यसको अर्थ धुम्रपानबाटभन्दा मानिसहरु प्रदुषणका कारण असामयिक मृत्युको शिकार भइरहेका छन्। यसअघि विश्व स्वास्थ्य संगठनले पनि २०१५ को रिपोर्टपछि प्रदुषण नै अतिरिक्त ७२ लाख मानिसको मृत्युका लागि जिम्मेवार रहेको उल्लेख गरेको थियो।

युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार दुषित हावाका कारण मुटु सम्बन्धी रोग लाग्ने क्रम धेरै वृद्धि भइसकेको छ। यसैले पनि धुम्रपानबाट बरु बच्न सकिने तर वायुप्रदुषणबाट टाढा रहन नसकिने अनुसन्धानका प्रमुख, प्रोफेसर थोमस बताउँछन्।

यसअघि अत्यन्तै सुक्ष्म धुलोका कणहरुमा हुने नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र जमिनको सतहको ओ-जोन का कारण अन्न उत्पादनमा समेत समस्या देखापरिरहेको बताइएको थियो। युरोपमा मात्र वार्षिक ८ लाख मानिसको धुलोधुँवाका कारण मृत्यु हुने गरेको छ भने यसले सबैको औसत आयुलाई दुई वर्षले घटाइरहेको बताइएको छ।

विशेषगरी पूर्वी युरोपेली राष्ट्रसहित बुल्गेरिया, क्रोएसिया, रोमानिया र युक्रेनमा प्रति एक लाख जनसंख्यामा २०० जनाको मृत्यु हुने गरेको पाइएको छ। त्यस्तै यता जर्मनीमा एक सय ५४ पोल्यान्डमा एक सय ५० र बेलायतमा पनि वायु प्रदुषणले प्रति ९८ को ज्यान लिइसकेको छ। घना जनसंख्या र कम गुणस्तरको वायुका कारण नै युरोपमा धेरै मानिसले दूषित हावा लिइरहेको हुँदा अतिरिक्त मृत्युको संख्या बढ्न पुगेको बताइएको छ।

नेपालमा पनि प्रदुषणका कारण बिहान र बेलुका हिड्दा सावधानी अपनाउनुपर्ने सुझाव चिकित्सकहरुले दिइसकेका छन्। विश्वमा सबभन्दा धेरै प्रदुषण हुनेमा भारतको नयाँ दिल्ली पर्छ भने नेपाल एक सयौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्