Monday 20th of May 2019

डिजिटलाइजेशनमा एन्फा: गणेश पक्षलाई टेन्सन

[mashshare]

काठमाडौं । नेपालको कुनै खेलकुद संघ सबैभन्दा चर्चामा आउँछ भने त्यो हो अखिल नेपाल फुटबल संघ एन्फा । एन्फाका गतिविधि दिनहुँ हुने गर्छन् । तिनै गतिविधिले कोही शिखरमा चढ्छन् भने कोही विवादमा पर्छन् । मोफसलमा पहिलो पटक साफ च्याम्पियनसीप फुटबल विराटनगरमा हुँदै गर्दा यसको चर्चाले नेतृत्वलाई फाइदा पुग्छ भने पूर्व अध्यक्ष गणेश थापाको पक्षलाई घाटा भइरहेको हुन्छ । केन्द्र केन्द्रित फुटबलका गतिविधि गर्ने थापाका लागि यो ठूलो बेफाइदा नै हो ।

थापाले कर्मा छिरिङ शेर्पा नेतृत्वको वर्तमान कार्यसमितिलाई विश्वास गर्दैनन् । उनीसहित उनका आफन्तहरू अहिले एन्फाको रिङ बाहिर छन् । तर अहिलेको कार्यसमितिमा पनि उनका केही मान्छे भने छन् । कोही अहिलेको नेतृत्वका असन्तुष्ट छन् भने कोही सन्तुष्ट भएर दोहोरो चरित्रमा खेल्नेहरू पनि छन् ।

शेर्पासहित सीमित पदाधिकारीमात्र गणेश थापाको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई प्रयोग गर्न सके एन्फामा फेरि कब्जा जमाउन पाउनेमा थापा आशावादी छन् । जसरी गणेश थापाले भ्रष्टाचारको आरोप खेपेका थिए त्यसरी नै आरोप खेपाउन केही एन्फा कार्यसमितिका पदाधिकारीहरू नेतृत्वलाई फसाउन चाहिरहेको चर्चा पनि सुनिन्छ ।

त्यसैले होला नेतृत्व बढीभन्दा बढी सचेत भइरहेको छ । त्यसकै परिणाम पहिलो पटक नेपाली फुटबलका सम्पूर्ण कागजी प्रक्रिया अब डिजिटल प्रविधिमा हुने भएका छन् । नेपाली फुटबलका सम्पूर्ण क्लब, खेलाडी, प्रशिक्षक र रेफ्री दर्ता लगायत अन्य कागजी प्रक्रिया डिजिटलमा लैजान एन्फाले इम्प्रुभमेन्ट कम्पनी नेपाल (आइसीएन) र मर्सी क्रप्ससँग सम्झौता गरेको छ ।

२०७५ फागुन २४ गते गरिएको सम्झौता पत्रमा एन्फाका अध्यक्ष शेर्पा, आइसीएनका प्रमुख कार्यकारी अधिकृत सीइओ रुपेश भक्त श्रेष्ठ र मर्सीका कन्ट्री निर्देशक सञ्जयध्वज कार्कीले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाली फुटबलका हरेक गतिविधिसँगै खेलाडी दर्ता र तथ्यांकका लागि सफ्टवेयरको प्रयोग गरिने छ । जसमा फुटबलसँग सम्बन्धित सबै पक्षको जानकारी सफ्टवेयरको माध्यमबाट उपलब्ध गराइनेछ । ग्रासरुट, खेलाडी दर्ता, खेलाडी ट्रान्सफर, रेफ्री तथा प्रशिक्षक विवरण, म्याच रिपोर्टलगायतका हरेक काम सफ्टवेयरबाट हुनेछ ।

आइसीएनले सफ्टवेयरको निर्माण गरिसकेको जनाएको छ । एन्फाले फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीको डिजाइनअनुसार सफ्टवेयर बनाएको हो । सफ्टवेयरको मोल १० लाख रुपैयाँ रहेको छ । यसको ५० प्रतिशत मोल मर्सीले बेहोर्नेछ ।

आइसीएनले सफ्टवेयर निर्माणपछि कार्यान्वयनका लागि पनि आवश्यक सहकार्य गर्ने सहमति भएको छ । लाग्ने खर्च सबै एन्फाले बेहोर्नेछ । एन्फाले आइसीएनसँग सहकार्य गरेर सीमित तथ्यांक भने सार्वजनिक रुपमा पनि उपलब्ध गराउने प्रावधान रहेको छ ।

एन्फा अध्यक्ष शेर्पाले डिजिटलाइजेशनले एन्फा उत्साही रहेको बताएका छन् । उनले विकासका सबै कामहरू डिजिटलाइजेशन गर्ने बताएका छन् । सम्झौता चार वर्षको हुनेछ ।

सवाल फेरि आशंकाकै
सबैभन्दा ठूलो सवाल हो भ्रष्टाचारको । भ्रष्टाचारका कुराहरू डिजिटलाइजेशन हुँदैनन् । चलखेलका कुराहरू दस्तावेज हुँदैनन् । त्यो सबै नेतृत्वको इमानदारीमा भर पर्छ । अब नेतृत्व इमानदार हुन्छ कि हुँदैन त्योमात्रै हो ।

अहिले डिजिटलाइजेशन हुने विषय केवल खुलेआम हुने विषय हुन् । यतिमात्र डिजिटलाइजेशन हुँदैमा एन्फा पारदर्शी भयो भन्ने विल्कुलै हैन । तर प्रयास भने राम्रो हो । अहिलेसम्म गणेश थापा कम्पनीले गर्न नसकेको र गर्न नचाहेको काम कर्मा छिरिङ शेर्पा टिमले गर्न खोजेको खेलाडीहरू बताउछन् ।

यो काम सराहनीय रहे पनि एन्फाकै एक सदस्यका अनुसार कतै भित्री कुराहरूलाई अन्तै मोड्ने प्रयासस्वरुप यो कदम चाल्न खोजिएको हो कि भन्ने आशंका पनि पैदा भएको छ ।
(साँघु)

प्रतिक्रिया दिनुहोस्