Monday 20th of May 2019

भागबण्डा नमिल्दा कांग्रेसमा किचलो

[mashshare]

काठमाडौं । महासमिति बैठकमा देखिएको विवाद पुन केन्द्रीय कार्यसमितिमा पनि देखिएपछि नेपाली कांग्रेसमा विवाद चुलिएको छ । केन्द्रीय नेता निर्वाचनमा जानुनपर्ने निर्णय बहुमतका आधारमा पारित भएपछि विवाद चुलिएको हो ।

कांग्रेसले आगामी सोमबारका लागि केन्द्रीय कार्य समितिको बैठक पुनः डाकेको छ । तर उक्त बैठक असन्तुष्ट नेताहरूले बहिष्कार गर्ने चेतावनी दिएका छन् । अनुशासन आयोग र निर्वाचन समिति गठन गर्न बोलाइएको सो बैठक बहिष्कार गर्ने चेतावनी सो समुहले दिएका छन् । महासमितिको बैठकमा जिल्ला सभापतिहरूसग गरिएको सहमति विपरित सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गरेपछि संस्थापन इतरका नेताहरूमा असन्तुष्टि चुलिएको छ । साथै, अनुशासन समिति र निर्वाचन समिति गठन गर्ने प्रस्तावपूर्व छलफल हुनुपर्ने उनीहरूको भनाइ छ ।

यसअघि फागुन १४ को लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिस्कार गरेपछि बस्न सकेको थिएन । ५३ जिल्लाका जिल्ला सभापतिहरूले सो निर्णय सच्याउन माग गर्दै नसच्याए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर शुरु गर्ने चेतावनी दिएका थिए । मुख्य रुपमा सो माग राखेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले समितिमा भागबण्डा खोजेको संस्थापन नेताहरूले बताउदै आएका छन् । पाँच सदस्यीय समितिमा पौडेलले २ र सिटौलाले एक जना आफु पक्षिय राख्नुपर्ने बताउदै आएका छन् ।

अनुशासन र निर्वाचन समिति गठनको एजेन्डालाई बैठकमा प्रवेश गराउन खोजेका पार्टी सभापति देउवाले पूर्वतयारी नगरेको भन्दै संस्थापन इतर समूह असन्तुष्ट छ । गत साता दुई दिन बसेको इतर समूहका नेताहरूले एकलौटी तरिकाले संस्थापन पक्ष चलिरहेको जनाउँदै चैत ४ को केन्द्रीय समितिको बैठक पनि बहिस्कार गर्ने जनाउ दिएका हुन् । नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बसेको बैठकले अनुशासन र निर्वाचन समितिमा थप छलफल आवश्यक रहेको जनाएको थियो । इतर समूहले केन्द्रीय समितिको बैठकअघि नै सहमति गरी बैठक बोलाउन माग गरेको छ । अर्कोतर्फ संस्थापन पक्षले अनुशासन समितिमा रहने पाँचमध्ये दुई जना इतर समूहलाई भागबण्डा गरिएको जनाएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकअघि शीर्ष तहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सभापति देउवाले असन्तुष्ट पक्षलाई मिलाउन छलफल शुरु गरेको नेताहरूले बताएका छन् । यद्यपी नेताहरू उपत्यकाबाहिर रहेकाले बैठक सम्भव नभएको बताइएको छ । सभापति देउवा एक साताको जिल्ला भ्रमणपछि बुधबार मात्रै काठमाडौं फर्केका छन् । वरिष्ठ नेता पौडेल जिल्लाका कार्यक्रम सकेर शुक्रबार साँझ काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्