Tuesday 31st of March 2020

स्थानीय तहमा कर्मचारी अभाव

नुवाकोट । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा मात्रै पुग्यो तर कर्मचारी नपुग्दा नुवाकोटका स्थानीय तहको दैनिक कामकाज प्रभावित भएको छ ।

 

जिल्लाको किस्पाङ, तादी, दुप्चेश्वर, तार्केश्वर, शिवपुरी र लिखु गाउँपालिकामा आवश्यकताअनुरुप निकै कम मात्र कर्मचारी रहेका छन् ।

 

कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानुन निर्माणमा कठिनाइ भइरहेको बताइएको छ । केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो पनि जनप्रतिनिधिको रहेको छ ।

 

कर्मचारी समायोजनबाट संघका कर्मचारी स्थानीय तहमा आउने त परै जाओस् झन् वडामा कार्यरत कर्मचारीहरु नै संघमा जाने गरेका छन् । कर्मचारी अभावले किस्पाङ गाउँपालिकाका पाँचवटा वडा एक जना सचिवले सम्हाल्दै आएका छन् । ती कर्मचारी पनि अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएर गएका छन् ।

 

कर्मचारीको अभावले स्थानीय तहको दैनिक कामकाजसमेत गर्न समस्या रहेको किस्पाङ गाउँपालिकाका प्रमुख छत्रबहादुर लामाले नेपाल समाचारपत्रलाई बताए । प्रशासनको काम गर्न प्रमुख प्रशासकीय अधिकृत र एक जना खरिदार महिला मात्र रहेका छन् ।

 

‘प्रशासकीय अधिकृतको श्रीमती भएकाले मात्र गाउँपालिका टिकेका हुन्, नभए केन्द्रमै गइसक्थे होला, प्रशासनिक काम गर्न कठिनाइ भएको छ’ – गाउँपालिकाका प्रमुख लामाले भने ।

प्रतिक्रिया दिनुहोस्